‘मायाको फोटो मै खिची लान्छु, पूर्णेको जूनजस्तो’

नियात्रा

राजेन्द्रमान डंगोल

घामको किरण गत्लाङको पाटामा छरिँदा उठिसकेका थियौँ हामी ।

गाउँको सबैभन्दा पुछारमा थियो, हामी बसेको कम्युनिटी हाउस । अघिल्लो दिन अँध्यारो भैसकेपछि आइपुगेकोले गत्लाङ गाउँ कस्तो छ भन्ने महसुस गर्न पाएका थिएनौँ ।

भिरालो जमिन भएकोले कम्युनिटी हाउसको आँगनबाट हेर्दा गाउँको सिरानसम्मका घरहरू देख्न सकिन्थ्यो । लाइनै ठडिएका, पाङ्लेव (काठका छानो) भएका, पूर्व दिशातर्फ फर्केका एकैनासका घरहरू अति नै सुन्दर देखिन्थे ।

कान्तिपुर टीभीका घुमघाम टोली छायाङ्कनका लागि गाउँ छिरिसकेका थिए । हामी पनि त्यतै लाग्यौँ ।

स्थानीय वास्तुकलाले सजाइएका ढुङ्गा र काठले बनेका घरहरू अवलोकनगर्दै गाउँको सिरानसम्म पुग्यौँ । वास्तवमा सम्पदा गाउँको एउटा ज्वलन्त नमुना नै थियो, विशिष्ट धार्मिक एवम् एतिहाँसिक महत्व बोकेको गत्लाङ ।

तिब्बतीयन मूलका तामाङ जातिको बसोबास छ, गत्लाङमा । बोन धर्मावलम्बीहरूले मौलिक पराम्परा, संस्कृति, रहनसहन र भेषभूषालाई अक्षुण्ण राखेका छन् ।

म जान्न चाहन्थेँ के होला त गत्लाङको अर्थ ! गत्लाङकै एक युवासित जिज्ञासा राखेँ, मैले ।

‘खास नाम ‘गत्तेल्हाङ’ हो । अपभ्रंस भएर गत्लाङ भएको रे । गत्तेको अर्थ खुसी हुनु हो र सञ्चो हुनु पनि हो । अनि ल्हाङको अर्थ चाहिँ अनुभूति गर्नु हो’, उनले भने ।

यससम्बन्धी उनले एउटा किंवदन्ति सुनाए, ‘राक्षस नियन्त्रण गर्ने क्रममा एक समय पद्मसम्भव यस क्षेत्रमा आउँदा हालको हाकु गाउँमा उनलाई कसैले बिष हालेर खाना खुवाएछ । अर्को गाउँ पुग्दा बिरामी भएछन् । बोङ्जो भन्ज्याङ हुदै हालको गत्लाङसम्मको यात्रा गर्ने क्रममा घले राजाको दरबार भएको डाँडाबाट सुन्दर ठाउँ देखेकाले त्यहीँ बसेछन् । केही दिनमा स्वास्थ्यलाभ पनि गरेछन् । त्यसपछि उनी खुसी भएका रहेछन् । खुसी हुनुलार्र्ई गत्तेल्हाङ वा गलाङ भन्ने गरिन्छ । यसरी नै गत्तेल्हाङ भन्दाभन्दै अपभ्रम्श भएर गत्लाङ रहन गयो ।’
उनी थिए– विपिन लामा । भविष्यमा पर्यटन व्यवसायी बन्न चाहन्थे उनी ।

गोसाईकुण्डपछि अनिवार्य दर्शन गर्नुपर्ने धर्मिक मान्यता रहेको खुर्पु डाँडोमा अवस्थित छोदिङ्मो अर्थात पार्वती कुण्ड गत्लाङ गाउँकै शिरमा अवस्थित छ । त्यहाँसम्म पुग्नका लागि सँढे दुई घन्टा लाग्ने भएकोले समयाभावको कारण हामी त्यहाँसम्म पुग्न सकेनौँ ।

गत्लाङको सदियौँ पुरानो पालुङ टासी छोङ छोली गुम्बाको अवलोकन ग¥यौँ ।

‘२,८०० मिटरको उचाइमा रहेकोले पार्वती कुण्ड र पालुङ टासी छोङ छोली गुम्बाले स्वदेशी-विदेशी पर्यटकहरूलाई आकर्षण गर्न सक्छ । र, यिनै आकर्षणहरूले गत्लाङ सबैका लागि एउटा नयाँ सपनाको गाउँ बन्न सक्छ । नेपालको पर्यटनको विशिष्ट पहिचानको सामथ्र्य राख्न सक्ने गत्लाङ जनस्तरसम्मको प्रचार–प्रसार र निजी क्षेत्रमा क्रियाशील व्यवसायीहरूको जानाकारीबाट ओझेलमा परेकोे छ’, मनोलाप गरेँ मैले ।

बिहानको खाजापछि स्थानीयहरूले सांस्कृतिक कार्यक्रम पनि राखेका रहेछन् । आठ बजे साँस्कृतिक कार्यक्रम सुरु भयो, बोन धर्मसंग सम्बन्धित माने नाचबाट ।

प्रस्तुतिको क्रममा जरायो नाच र त्यसपछि नेपाल र तिब्बेती राजा बीचको लडाईँ झल्कने नाच पनि प्रस्तुत गरे । दुवै पक्ष घोडामा चढेर धनुकाँड हानी लडाईँ गर्ने र पछि खावाहरू (बीचको मान्छे) ले दुवै पक्षलाई सम्झाई बुझाई गरेर सन्धि गराउने यो लडाईँ नाचलाई राजा नाच पनि भनिँदो रहेछ । निकै रोमान्चक लाग्यो, मलाई त्यो नाच ।

त्यसपछिको प्रस्तुति थियो, तामाङसेलोको । महिलाहरू एकापट्टी र पुरुषहरू अर्को पट्टी एकआपसमा अँगालो हाली घेरा बनेर गाउँदै नाचिने यो नाचले हामीलाई भरपुर मनोरन्जन दियो । हामीलाई पनि सँगै नाच्न आग्रह गरे उनीहरूले । उनीहरूसँगै नाच्यौँ, उनीहरूसितै रम्यौँ, हामी पनि । यद्यपी मैले तामाङसेलोमा खुट्टाको चाल भने उनीहरूलेजस्तै चाल्न सकिनँ ।

अचम्मको कुरा के थियो भने उनीहरूले बोल्ने भाषा तमाङ भाषा भए पनि उनीहरूका भेषभुषा र उनीहरूले गाएको गीतका शब्दहरू चाँहि तिब्बतीयन । नेवार जातीका महिलाहरूका जस्तै यहाँका महिलाहरूले पनि नाक छेडेको मैले देखिनँ ।

हामीले उनीहरूलाई कार्यक्रमको बिट मार्न आग्रह ग-यौँ ।

हामी अब अर्को गन्तब्य तातोपानीतर्फ लाग्नका लागि तयार भयौँ । गत्लाङबासी हाम्रा विदाइका लागि उभिइसकेका थिए । अघिल्लो दिन हामी त्यहाँ पुग्दा रात परिसकेकोले औपचारिक रूपमा स्वागत गर्न पाएका थिएनन् । उनीहरूले त्यही क्षणमा एकैचोटी स्वागत र विदाइकोे औपचारिकता पूरा गरे ।

हामी तातोपनीतर्फ लाग्यौँ । पाइलैपिच्छे माने÷स्तुप आकारका छोर्तेनहरू अगाडि आउँथे ।

धार्मिक ग्रन्थका मन्त्रहरू लेखिएका ती मानेहरूलाई ढड्डी घाँस र काँडाघारीले ढपक्कै ढाकेको थियो । त्यहाँका दिवंगतहरू यही छोर्तेनमा सम्झना बनेर बाँचिरहेका छन् ।

त्यहाँ भएका १०८ मानेहरू गत्लाङको अर्को अमूल्य सम्पदा नै हुन् । सही ढङ्गले संरक्षण हुन नसकेका ती प्रत्येक मानेमा ठड्याएका चाक्ला ढुङ्गाहरूमा बौद्घ धर्म झल्कने गरी बुद्घ लगायत विभिन्न देवताका चित्रहरू कुँदिएका र तिब्बती वर्णमा लेखिएका अक्षरहरू छन् । सायद ती अक्षरहरूले चित्त शुद्घ पार्ने सन्देश प्रवाहित गर्न खोजेको हुन सक्छ । यो देख्दा यस्तो प्रतीत हुन्थ्यो कि मानव सभ्यताका परिचायक ती सदियौँ पुराना मानेहरूले नै आज गत्लाङसितै मानवता र सभ्यता खोजिरहेकोे छ । विदेशीहरूका लागि यो कुरा खोजको विषय हुन सक्छ ।

छोर्तेनहरूलाई पार गरेर अगाडि बढ्यौँ र बढी नै रह्यौँ । बाटोमा नाम्लो र हँसियासित जीवन साट्दै गरेका दिदी बहिनीहरू घाँसका भारी बोकेर गत्लाङतर्फ फर्किरहेका देखिन्थे । उनीहरूलाई देख्दा मेरो स्मृतिमा अतीतका पानाहरू पल्टन थाले ।

बाटो ओरालो भएकोले हिँड्न सजिलो थियो । सबैभन्दा अगाडि थिए जेरोन र निर्मला । हिँड्दाहिँड्दै कपडाभरि कूरो टाँसिएको पनि कसैलाई पत्तै भएनछ । यात्रातालिका अनुसार चिलिमे गाउँसँगैको खम्बोचेत गाउँ भएर जानुपर्ने थियो । त्यहीँ थियो, हाम्रालागि लन्चको व्यवस्था । लगभग दुई घण्टा लाग्यो, त्यहाँ पुग्न ।

होटलमा खाना तयार नभइसकेकोले हामी सबै घाममा बसेर कपडामा लागेको कुरो टिप्न थाल्यौँ । सबैले टिपी सक्दा पनि नम्रता स्वीटरबाट टिप्दै थिइन् । कुरोले उनलाई अलिक बढी नै पच्छ्याएको थियो ।

खाना आइपुग्यो । निकै भोकाएको थिएँ म ।

मैले खाना खाएको देखेर निमाले ठट्टा गर्दै भने, ‘राजेन्द्रजी बाटोमा भोक लाग्ला ! अलिकति भात झोलामा पनि हालेर लाने हो कि !’

हाँसोको फोहरा छुट्यो । विजय प्रधान पनि खित्का छाडेर हाँसे । उनी त्यसरी हाँसेको पहिलो पटक देख्दै थिएँ, म ।
यतिखेरसम्म म सबै सहयात्रीहरूसित अन्तरङ्ग भैसकेको हुन्छु । सबैले सजिलो महसुस गर्थे, मसित ।

निमा अलि ठट्यौलो पाराका थिए, मजस्तै । यात्रा अवधिभर उनको र मेरो बीचमा जुहारी चलिरह्यो ।

हामीले बोलेका कतिपय शब्दहरू अरूले अर्थ लगाउन सक्थेनन् ।

योगीजी, जेरोन, राजिव र छेवाङ शान्त एवम् भद्र स्वभावका थिए । दीपेन्द्र निकै सरल स्वभावका थिए । उनी नै सबैभन्दा बढी अन्तरङ्ग भए, मसित । आस्था, नम्रता, निर्मला, श्रद्घा र एलिना सबै फरासिला थिए । सबैलाई निकै आदर र सम्मान गर्ने सुसंस्कृत नेपाली चेली थिए, उनीहरू । विजय प्रधानसित भने अरूजस्तै म पनि अलि खुल्न सकिरहेको थिइनँ । सायद उनीप्रतिको सम्मानले पनि होला ।

खानापछि लठ्ठिएँ म । एकक्षण सुस्ताउन पाए हुन्थ्यो भनेझैँ पनि लागेको थियो तर तातोपानी पुग्नु थियो । बाँकि बाटो सबै उकालैउकालो ।

योगी भन्छन्, ‘अब अझै तिन घण्टा लाग्छ ।’

खम्बोचेतबाट स्याङ्जेन खोलाको किनारमा अवस्थित मोक्तेन गाउँ पारगरेर स्याङ्जेन खोलाको झोलुङ्गे पुल तर्ने बित्तिकै सुरु भयो, उकालो ।

सबैभन्दा अगाडि थिएँ म त्यो उकालोको नागबेली गोरेटो पछ्याउँदै । मेरा पाइला पछ्याउँदै पछाडि थिए सहयात्रीहरू । चर्को घाममा उकालो लागिरहेका थियौँ । यतिखेर म मात्र होइन, सकल सहयात्रीहरू घामले आलस तालस भइसकेका थिए । तैपनि पाइलाहरू रोकिएनन् ।

उकालो चढ्दै जाँदा पारिपट्टि उभिएको विशाल प्यान्जी डाँडो देखियो । त्यही डाँडोबाट झरिरहेको थियो निर्मल झरना । चराचुरुङ्गीका आवाजले मन आनन्दित भइरह्यो । श्वास तान्दा पोथ्रापोथ्री र बुट्यानबाट अएको गन्ध नाकमा ठोक्किरहेको थियो । पछाडिबाट छिनछिनमा उठ्ने केटीहरूका हाँसोको फोहराले गोरेटाका मधुसुमनहरू पनि नारीकै रूप लिएर उभिइरहेझैँ लाग्थ्यो । हामीहरू रोमान्चित हुन्थ्यौँ । नारीत्वको प्रतिकस्वरूपका पुष्प अर्थात् प्रकृतिका पर्याय थिए, उनीहरू । वास्तवमा उनीहरू नहुँदो हो त यात्राको रौनकता सायदै हुने थिएन । चराचुरुङ्गीका कर्तल ध्वनी जस्तै लाग्थ्यो उनीहरूका आवाज ।

सबै आआफ्नै तालमा कुरा गर्दै थिए ।

मेरा पछाडि भएका दीपेन्द्रले लामोलामो सास तान्दै भने, ‘प्यान्जी डाँडो नहुँदो हो त गत्लाङदेखि तातोपानीसम्मको दूरी त्यति लामो हुने थिएन, न कि यति असहज नै ।’

मैले भने, ‘हो ! तर त्यो डाँडो नहुँदो हो त प्रकृति यति सुन्दर पनि त हुने थिएन नि । हामीले देखिरहेका झरना र हरियाली कहाँ देख्न पाइन्थ्यो र !’

मेरो भनाइलाई स्वीकारोक्ति जनाउँदै उनले भने, ‘सही भन्नु भयो राजेन्द्रजी तपाईंले ।’

माथिल्लो थुम्कामा पुग्यौँ ।

शरदको मन्द हावामा बुद्घिष्ट झन्डाहरू हल्लिरहेका थिए । हामी आफैले छाडेका पाइलाहरू हे¥र्यौं, पछाडि फर्केर । पारिपट्टीका बस्तीहरू सुनसान देखिन्छन् । प्यान्जी डाँडोबाट झरेको झरना स्याङ्जेन खोलामा बिलाइरहेछ । र, स्याङ्जेन निर्वाध बगिरहेछ । फरक यतिमात्र हो कि यतिखेर स्याङ्जेनले गाएको गीत सुनिएको छैन ।

प्रकृतिको हामीप्रतिको प्रेमको रोमाञ्चकारी स्पर्श, जसले हाम्रा शिथिल देहलाई सुम्सुम्याइरहेको थियो । हामी सबैको एउटै अनुभूति थियो त्यो । हामीले प्रकृतिलाई नियालिरहेका थियौँ र प्रकृतिले पनि हामीलाई ।

तातोपानी गाउँ अझै पर देखिन्छ ।

हामी थुम्कामा पुग्यौँ । योगीले एकैछिन थकाई साटासाट गर्न चाहे ।

कोही पिँडुला छाम्दै थिए । कोही तिघ्रा र कोही घुँडा मुसार्दै । कोही गनगन गर्दै थिए, आफैसित ।

योगीजीले दुखेको कुर्कुच्चा सुम्सुम्याउँदै भने, ‘पख् कुर्कुच्चा ! तँलाई भरे तातोपानीको पोखरीमा डुवाई दिउँला ।’

आराम गर्दैगर्दा मैले सबैले सुन्नेगरी भने, ‘तपाईंहरूलाई एउटा कुरा थाहा छ ! जाँदा पनि उकालो आउँदा पनि उकालो भनेको के हो ?’

मेरो कुरा सुनेर सबै अलमल्ल परे ।

नम्रताले भनिन्, ‘जाँदा उकालो भएपछि आउँदा त ओरालो भइहाल्छ नि !’

‘तपाइँको प्रश्नै मिलेन’, श्रद्घा बोलिन् ।

मेले भनेँ, ‘मिलेको छ ।’

एलिनाले सोधिन्, ‘तर, कसरी ?’

मैले आफैसँगै उभिएका कालो वर्णको साथीलाई इंगित गर्दै भनेँ, ‘मैले उकालो कहाँ भनेको हो र ! ऊ कालो पो भनेको त ! ऊ जाँदा कालो भएपछि आउँदा चाहीँ सोतो हुन्छ र !’

एकछिन सबै गलल्ल हाँसे । हाँस्ने, हँसाउने र थकाइ साट्ने कायदामात्र थियो, त्यो ।

योगीजीले जानकारी दिए, ‘उकालो सकियो । आधाभन्दा बढी बाटो काटिसकेका छौँ । बाँकी बाटो सजिलो छ । तातोपानी गाउँ भेट्न अब पौनेघन्टा लाग्ला कि !’

उनले त्यसो भने पछि मनमा एक खालको उन्माद भरिन्छ । किनकि हामी सबै तातोपानी गाउँ पुग्ने बित्तिकै तातोपानीमा डुबुल्कि मार्न आतुर थियौँ ।

विश्राम पछि हाम्रो यात्राले फेरि गति लियो ।

कतै पहेँला तोरीबारी । कतै झुलिरहेका कोदो र जौका बालाहरू । सबै दृश्यहरूलाई क्यामरामा कैद गर्दै हिँड्यौँ ।

चिसो ठाउँ भएकोले कार्तिक महिना सकिनलाग्दा पनि मकैका बोटहरू हरिया नै थिए । बाहुनडाँडाले घाम छेक्दै थियो । गोल्जुङतिरबाट बहेको हावाले मकैका पातहरूले मधुर सङ्गीत भरिरहेका थिए, एकअर्कालाई स्पर्श गरेर । यो दिनकै सबैभन्दा आनन्दित क्षण थियो, त्यो ।

ठ्याक्कै पौनेघन्टा लाग्यो तातोपनी गाउँ भेट्न ।

योगीजीले औँलाले देखाउँदै भने, ‘उ,… त्यही हो आज हामी बस्ने कम्युनिटी हाउस ।’

तर उनले भनेको ‘उ… त्यो’ मा पुग्न अझै पन्ध्र मिनेट जति लाग्थ्यो । हामी गाउँको बीचभागबाट हिँडिरहेका थियौँ । तामाङ्नी दिदीबहिनीहरू आङ्दु (तिब्बेतीयन ड्रेस), कारा (पटुका), स्यामा बुनिरहेका देखिन्थे । तान चलाउनु उनीहरूको दैनिकि नै हो । हामीले नमस्ते भन्दा लज्जालु मुस्कानसहित अविभादन फर्काउँथे, उनीहरू ।

गाउँको शिरानमा रहेको कम्युनिटी हाउस पुगेर झोला बिसायौँ ।

मानिसहरू आ–आफ्नै काममा ब्यस्त देखिन्थे । महोत्सवको तामझाम देन्निथ्यो तातोपानीमा । गत्लाङको जस्तो सफा थिएन त्यहाँको कम्युनिटी हाउस ।

श्रद्धा र आस्थाले फोहर ट्वाइलेट देखाउँदै मलाई भने, ‘हेर्नुस् त दाइ ।’

त्यहाँ ट्वाइलेटको व्यवस्था राम्रो थिएन ।

मैले तीन बाल्टिन पानी खन्याएर सफा गर्ने प्रयास गरेँ, तर सकिनँ ।

मैले उनीहरूलाई भनेँ, ‘विकट ठाउँमा यस्तै हो । कहिले कहिँ यस्ता समस्याहरूसित सामना गर्नु हुन्छ ।’

मैले उनीहरूलाई जङ्गल देखाइदिएँ ।

पसिना ओभाएपछि हटस्प्रीङतर्फ लाग्यौँ ।

पहाडको छातीमा तातो पानीको मुल फुटेको छ । टीआरपीएपीले महिला र पुरुषका लागि छुट्टाछुट्टै पोखरी बनाइदिएको रहेछ ।

खनिजजन्य पानीमा डुबुल्की मार्दा प्राकृतिक रूपमा उत्पन्न गानोगोला, दम, चर्मरोग, बाथ, कमलपित्तजस्ता रोग निदान हुने विश्वासमा टाढादेखि आएका नेपालीहरू डुबुल्की मारिरहेका थिए ।

पोखरीबाट तातोपानीको बाफ छुटिरहेको थियो ।

आफैले फेरेको सास झैँ लाग्थ्यो पोखरीबाट उठिरहेका बाफ । मुहानबाट निस्कँदाको कन्चन पानी पोखरीमा खस्नेबित्तिकै खैरो रङमा परिणत हुँदो रहेछ । आँखा चिम्लेर तिनलाई सुँघ्छु म । तर वास्ना ठम्याउँन सक्दिनँ । आखिर पानीको स्वाद नै कहाँ हुन्छ र !

सोचेँ, ‘यति तातो पानीको मूल । तामाङ सम्पदा मार्गभित्रको अमूल्य सम्पदा । तातोपानी गाउँ बाह्य पर्यटकका लागि पनि एउटा गन्तव्य नहुनै त कुरै छैन ।’

सेढाईँजी भन्दै थिए, ‘सम्भवतः यो नेपालकै सबैभन्दा तातोपानीको मुहान हो यो । पहिले खुट्टा डुबाउनुस् अनि हातले पानी खेलाएर मात्र बिस्तारै पोखरीमा छिर्नु होला ।’

उनले भनेझैँ पहिले खुट्टा चोपलेँ । पानीलाई हातले बिस्तारै खेलाएँ र शरीर डुबाएँ ।

२,४०० मिटरको उचाईको चिसो । थाकेको शरीर । आहा ! तातो पानीमा डुब्दाको मज्जा !

हिँड्दा सास्ती पाएका मेरा पिँडुला र जोर्निहरूलाई अपूर्व आनन्द मिल्यो । बिस्तारै शरीरमा छुट्टै स्फुर्ति आएको महसुस भयो । निकैबेर डुबिरह्यौँ । लाग्थ्यो– ट्रेकिङ गर्नुको मस्ती भनेकै यही हो ।

डुबुल्की मार्दामादैँ समयले डाँडा काटिसकेको थियो । तातोपानीमा बस्दै गर्दा यस्तो लाग्थ्यो, ‘समय एकछिन रोकिदिए पनि हुने थियो ।’ पोखरीबाट निस्कन मन नलाग्दानलाग्दै पनि कम्युनिटी हाउस फर्कन बाध्य भयौँ ।

तातोपानीबाट निस्केपछिको फरि अर्को मज्जा थियो भव्य साँझको । मदिरामय साँझको । तातो पानीले सुकाएको आँतलाई कोदोको रक्सीले भिजाउँदै आनन्द लियौँ । तातोपानीबाट निस्कने बित्तिकै रक्सीको चुस्कि लगाउनु सही थियो वा गलत । तर, पिउनुको मज्जा आइरहेको थियो कम्युनिटी हाउसभित्र बसेर । नपिउनेहरूले तातोपानी पिएरै साथ दिइरहेका थिए । तातोपानीमा महोत्सवले प्रभाव नपरेको जस्तो देखिए पनि खानपिन भने राम्रो थियो ।

खानापछि कम्युनिटी हाउसको आगनमा सुरु भयो, नाचगान । गोल्जुङ र गत्लाङजस्तै तातोपानी घन्क्यो सेलो भाकाका गीतहरूले । नम्रता श्रद्धा, एलिना, निमा, छेवाङ र दीपेन्द्र उनीहरूसितै नाचे उनीहरूले जस्तै गरी । उनीहरूको नाचमा रम्नुसम्म रमेँ म पनि ।

गायक अमृत गुरुङले गाएको गीतको बोललाई उनीहरूले आफ्नै लवजमा गाए –

‘आकाशबाट के उडी आयो, भेडाको ऊनजस्तो
मायाको फोटो मै खिची लान्छु, पूर्णेको जूनजस्तो ।
हिउँको धर्सो पग्लेर आयो चौँरीको दूधजस्तो
आजको साइत मै बही आउँछ झुल्केको घामजस्तो ।’

नाच गान निकैबेर चल्यो । उनीहरूले गाएका गीतका अभिव्यञ्जनासँगै तातोपानीबासीसित भावनात्मक सम्बन्धको गहिराइमा पुगेका थियौँ हामी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button