हलेसी-काठमाडौ यात्रा, राफ्टिङ अविस्मरणीय
गौरी देवकोटा
कोभिड-१९ को सकसबाट निस्किएर हल्का चहलपहल शुरू हुँदै थियो । २०७७ फागुनको पहिलो शनिवार सामुदायिक महिला जागरण मञ्चका केही साथीहरू घुम्न जाने योजनाविना मिटिङबाट उठ्दैनम् भन्न थाल्नु भयो । कोरोनाकै बीचमा अघिल्लो महिना पिकनिक गएथ्यौँ । कतिपय साथीहरू कोरोनाकै डरले जाने आँट गर्नु भएन तर यस पटक सबैमा उत्तिकै चाह थियो कोरोनाले कुँजिएको मन मस्तिष्क र शरीरलाई नौलो ठाममा बिचरण गराउने ।
योजना बन्यो फागुनको अन्तिम शनिवार ताज रिसोर्ट मुल्कोटमा राफ्टिङ सहितको ओभर नाइट रमाइलो गर्ने तर सल्लाह गर्दै गर्दा सुनकोसीमा राफ्टिङ गरेर रात बस्न हलेसी जाने कुरा भयो । सोही अनुसार २०७७/११/२९ गते हलेसीसम्मको यात्रामा २९ जना सहभागी भयौँ । बिहान ६:३० मा वनस्थलीबाट हिडेको बसले ९:३० मा ताज रिसोर्ट मुल्कोट पुर्याएपछि पूर्व योजना अनुरुप ताजमा चियाखाजा खाइयो । सुनकोशीको स्वच्छतामा ताजको रमणीय गार्डेन ! फोटो सेसन चल्ने नै भयो । साथीहरू भन्दै हुनुहुन्थ्यो यही मात्रै एक दिन बस्ने प्लान गर्नु पर्ने रै’छ … ! तर हामीसँग समय धेरै थिएन सोही अनुसार राफ्टिङ गराइदिन र खानाको व्यवस्था गरिदिन रिसोर्टमा भनियो । हाम्रो प्लान अनुसार रिसोर्टले राफ्टिङ गर्ने हामीहरू र सामाग्री सहित गाडी नेपालथोक पट्टि पठायो ।
शुरूमा हामी सबै उत्साहित थियौँ तर जब गाइडले राफ्टिङ गर्दाको खतराबारे जानकारी र सचेत गराउन थाले कताकता डरले घेराबन्दीमा पारेको भान भयो । पानी छिटाउन थाल्यो । सोचे जस्तो हुन्न कि के हो ? आकाशमा जस्तै धमिलो बादल लाग्यो केही क्षण मनमा पनि । तर गाइड भाइहरूले कोही नडराउनुस् । केही हुन्न । हामीले त भन्नु पर्ने रुल्स मात्र भनेका हौँ । ल आउनुस् बोटमा भन्दै हौस्याए र तयार पारेको चार वटा बोटमा विभाजित भएर बस्न सिकाए । जब बोट चल्न थाल्यो शुरू भयो नसोचेको रमाइलो ! सबै दङ्ग ! तालिएको पानीले भन्दा हान्निएको पानीले रोमाञ्चित बनाउँदो रहेछ । हामी राफ्टिङ गर्ने एक्काईस जना सबैको नया अनुभव थियो । सबैले सबै थोक भुलेर मात्र सुनकोसीमा रमाइरहेथ्यौँ । मलाइ कताकता डर थियो आफूले बनाएको योजना । सोचे जस्तो होला नहोला तर राफ्टिङ सकिँदा सबै जना अत्यन्तै खुशी हुनुहुन्थ्यो । छोराछोरीले राफ्टिङ जाने कुरा गर्दा पनि नगए हुन्थ्यो भन्ने आमा हजुरआमाहरू आफैले गरे पछि रिसोर्ट फर्किँदै गर्दा भन्दै हुनुहुन्थ्यो- “यस्तो मजा हुँदो रै’छ अनि छोराछोरी किन रोकिन्थे !?”
“यस्तो मजा हुँदो रै’छ झण्डै नगरेको !”
एक अर्कामा भनिरहेथ्यौँ । तीन घण्टाको राफ्टिङ समयको कारण छोट्याएर डेढ घण्टा मात्र गर्यौँ । रहर कसैको पुगेको जस्तो लागेको थिएन मलाई ।
बेलुका हलेसी पुग्नुपर्ने थियो । ताजको लञ्च पछि पुन: कुद्यो गाडि आफ्नै रफ्तारमा ।
गाडीभित्रको उल्लास बयान गर्न लायक थियो । कहिले मादलसहितको गीत त कहिले स्पिकरको घन्काइसँगैको नाच ! रमाइलोले ड्राइभर पटक पटक स्टेरिङबाट दुबै हात हटाएर नचाइरहेका हुन्थे । कराउँथ्यौँ पछाडिबाट । अहिल्यै नसिध्याइदेऊ है, छोराछोरीले बाटो हेरिबस्छन् हाम्रो ! फेरी गफ चल्थ्यो, अब खुबै खोजे २/४ वर्ष त हो त्यस पछि हामी चाइन्नम् ! हुन त हो, फेरि सही थपिन्थ्यो दुई चार वटा । पाँच घण्टाको मुलकोट हलेसीको बाटो पहरै पहराबाट गएको रहेछ । बाहिर हेर्दा डरलाग्दो भए पनि मध्य पहाडी लोकमार्ग त्यति डराउनु पर्ने रहेनछ । कतै नया कतै पुरानो उप्किएको पीच बाटोमा घुम्ती भने कति हो कति ! तर बाहिर हेर्ने फुर्सद र चाह कसैलाई भए पो, सबै नाच गान र ख्याल टठ्टामै मोहित ! बाटो काटेको पत्तै नाईं ! साथीहरूलाई बेलुकीको आरतीमा पुग्न मन थियो तर भ्याइन्न कि भन्ने शङ्काकै बीचमा सात बजे आरती स्थल पुगियो । यता राफ्टिङको रमाइलो नि भ्याइयो उता आरती पनि भेट्टाइयो साथीहरूसबै प्रफुल्ल भए पछि मलाई पनि निद्रा राम्रै लाग्यो ।
बिहान ब्रेकफास्ट नगरी मन्दिर जाने कुरा भएथ्यो । मलाई त खाएर गए पनि फरक पर्थेन तर सबै नखाइ जाने म किन अर्घेलो बन्नु ! टिममा हिँडे पछि आफू खुसी गर्न पनि त ठिक हैन नि, त्यसैले लागियो हलेसी गुफातिर । साथीहरू सबै पुजा सामाग्री जुटाउन तिर लाग्नुभयो, मलाई त्यो टन्टा गर्नु थिएन । लागेँ फोटो खिच्न । प्राकृतिक रूपमा निर्माण भएको स्थानले राम्रो व्यवस्थापन पाएको रहेछ । जाने-फर्किने भरेङ् मिलाएर व्यवस्थित बनाएको गुफा भित्र विभिन्न आकृतिहरूले सजिएको हेर्दा अद्भुत नै रहेछ गुफा ! गुफा भित्र यौटा मोटो प्राकृतिक किला र भित्ता बीचमा पातलो ज्यानको मान्छे छिर्ने प्वाल रहेछ जसलाई धर्म द्वार भनिदो रहेछ । प्वाल र आफ्नो ज्यानको अट्कल नपाउनेहरूको पनि लामै लाम देखिन्थ्यो त्यहाँ । सबै साथीहरू गुफा बाहिर निस्कँदा करिब १ घण्टा बित्यो । पुजाआजामा टाइम लगाउने साथीहरूलाई फुर्सदले आउन छाड्दै छिटो गर्ने साथीहरू फर्कियौँ बाँस बसेको होटल जाम्बाला । प्राङ्गणमा स्पीकर सहित नाचगान शुरू भयो । होटल सञ्चालक बस्नेत श्रीमान् श्रीमती लगायत होटलमा रहेका अन्य पाहुनाहरूले पनि उत्सुकताकासाथ हेरे हाम्रो रमाइलो !
बेलुकी दिक्तेल पुगेर ल्याएको तरकारी सकिएको भनेर ठिकै ठिकै खुवाए पनि बिहान खानाको व्यवस्था राम्रो थियो । खाइवरी दस बजे हिड्यौँ हलेसीबाट । काठमाडौदेखि पश्चिम लाग्दा रसिलो र हराभरा देखिन्छ तर पूर्वी पहाडी भाग अत्यन्तै रूखो पाखा । सितल बस्ने रूख समेत नभेटिने ! के उब्जेला ? कसरी जिन्दगी धानिएला ? झैँ लाग्ने ।चरिरहेका बाख्रा पाठा पनि टाक्सिएका तर बस्नेहरू बसिरहेकै छन् । एक दुई दिन घुम्न जानेको लागि पनि रमाइलै छ । बाटो, बत्ति, पानी र प्रयोग प्रसस्त भए बिकास आफै मौलाउँदो रहेछ भन्ने अनुभूत युरोप अमेरिका घुम्दा नै भएको हो तर हाम्रो डाडा पाखा अलि अप्ठेरा नै छन् । धन्न डा. बाबुराम भट्टाराइले शुरुवात गरिदिएको बाटो विस्तारले मूर्त रूप लिँदैछ र त ग्याँसका सिलिण्डर बोकेका टिपर र हाते ट्याक्टरहरू चढिरहेका भेटिन्छन् पहाडतिर ! अनिकालको सातो उडाउँदै चामलका बोरा खाँदेर गर्जिदै घुम्ति छिचोलिरहेछन् मिनिट्रकहरू ।
बस भित्र रमाइलोको विश्राममा मन कुडाउँथे साथीहरू र भन्थे यस्तो उब्जा नहुने ठाममा एअरपोर्ट, खेल मैदान बनाउनु कल कारखाना बसाउनु नि ! शहरतिरको अव्यवस्थित बस्ती र सानो तिनो विकासले उर्वरभूमि मासेकोमा चिन्तिन हुन पनि भ्याइन्थ्यो साथै सरकारप्रतिको असन्तोष पनि बाँकी रहन्थेनन् । अनवरत बजेको गाना बजानाले सबैलाई उत्तिकै मजा दिइरहेथ्यो/थिएन ? मलाइ भने टाउको रिनिनि बनाइरहेथ्यो । घुर्मीबाट तल लागे देखि नै बस रोकेर फ्रेस हुने, गाडी रोक्न मिल्ने ठामको खोजिमा झण्डै १ घण्टा गुडियो । गाइ,बाख्रा चरिरहेका सुनकोसीको रसिलो चौर देखिए पछि स्पीकर र आ आफ्ना खाजाका झोला सहित लाग्यौँ चउरतिरै । वरपर चरेका बाख्रा हाम्रा खाजा सुग्दै मिसिए हामीसँगै । आ आफ्ना सिपका परिकारहरू यो मीठो कि त्यो मीठो भन्दै बाँडेर खादाको स्वाद कम्ता मीठो थिएन ! खोलाबाट आइरहेको सिरसिर हावा, बजिरहेको स्पिकर, नाचिरहेका साथीहरू, चरिरहेका गाइबाख्रा झण्डै एक घण्टा अर्कै ग्रहमा पुगेको अनुभूत भयो । दुखिरहेको टाउको केहीबेरमै फूलको थुङा जस्तो भएको थियो । अब हिड्नु पर्ने, जाउँ कसलाई भन्नु कसरी भन्नु ! एकछिन सोचेँ र बजिरहेको स्पीकर टाउको माथी नचाउँदै लागेँ बसतिर । गीतसँगै पछि लागे साथीहरू । बजिरहेको स्पिकर निरन्तर बजिरह्यो । गाडीको गति एकनासको थियो । देख्दा अल्लारे पाराका तामाङ भाइ मिजासिला र राम्रो चालक रहेछन् । चालकप्रति सबै कृतज्ञ थियौँ । बाटो अप्ठेरो छ भन्ने सुनेकाले नफर्केसम्म के हो के हो भन्ने पनि लागेको थियो तर ड्राइभिङ राम्रो भएकोले सजिलै पुगेर फर्कियौँ ।
फर्किँदा पनि ओर्लियौँ ताजमा । जसरी मन लाग्छ सुस्तायौ चियासँगै चउरमा । विपी.राजमार्ग आवतजावत गर्दा खाना खाजा चिया नास्ता सबैको लागि पायक पर्ने रमणीय ठाउँमा रहेको ताज रिसोर्ट अत्यन्तै उपयुक्त लोकेशनमा रहेछ । लामो यात्राबाट एक छिन सुस्ताउन ताजले दिने अवसर पनि स्मरणीय नै रहला यात्रुहरूमा । हाम्रो टिममा भने ताजले व्यवस्थापन गरिदिएको राफ्टिङ अविस्मरणीय भयो । करिब एक घण्टाको बसाइपछि बसले थकाएको शरीरलाई ताजको शितलताले पुन: ताजगी बनाएर पाँच बज्दै गर्दा लाग्यौँ काठमाडौतिर ।
Its very nice to know that our sisters of Banasthali community enjoyed the travel and rafting. keep up this spirit in future too. all the best.