ती सबै एकादेशका कथा भएछन्
कविता
कमल कार्की
शब्दका खडेरीमा
भावका कुन्युँ कहाँ पाउनु र !
स्मृतिका फाँटमा
मायाका तरेली झुल्ने मौसममा
व्यस्तता र बेवास्ताका तुषारापात भएपछि
प्रेमिल सम्बन्धका पाँजाहरू कहाँ देखिन्छ र !
सम्पर्कको कुलोमा कुलुलु पानीध्वनि नसुनिएपछि
मायाका कलिला र सुकुमार कोपिला ओइलाउन के बेर !
धानचरी र गौथलीको चिर्बिर अब कहाँ ?
घृणाको टिन ठटाएपछि
साँझ र बिहानको `हजुर´मात्रै पनि
सम्बन्धको बिरुवाको मलजल बनेको बेला
कस्तो मिठो सुगन्ध बसाउँथ्यो मायाको आलीमा,
अब फुल्नु अनि झर्नु मात्र जिन्दगीको अर्थ भएपछि ,
ती सबै एकादेशका कथा भएछन्
मौसमजस्तै तिमी फेरिएपछि !!!
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)