कविता: तपाईं छोरीको बाउ होइन !
(‘के तपाईं पनि छोरीको बाउ हो ?’ शीर्षकको कविता 'नेपालनाम्चा'मा छापिएपछि आएको अपार संवेनात्मक प्रतिकृयापछि कवि ठाकुर बेलबासेले भर्खरैको एक दिन एक्कासी एकै निमेषमा ‘तपाईं छोरीको बाउ होइन !’ शीर्षकमा फेरि यो कविता लेखेका छन् । उनकै शब्दमा उनले यो कविता समाचार जसरी लेखे रे । खासमा उनले होइन, संवदेनाले उनलाई यो कविता लेखायो । संभवत उनले फेरि लेख्नेछन्, बाबु र छोरीमाथि अर्को कविता । छोरी संसारकै महान सृजना हो नि ! सं)
ठाकुर बेलवासे ।
पुर्नप्रयोग गर्न नसकिने
कामै नलाग्ने फोहोरजस्तै जलाउनु पर्ने
दुःखको बादल अनुहारमा पोतेर
हाँस्न खोजिरहनु भएको छ
झिँगा या लामखुट्टेको प्रकोपका डरले
पानी बगाई राख्नुपर्ने
सधैँ सफा बनाउनुपर्ने घरअगाडिको ढल
आँखामा भरेर
सूदुर क्षितिज हेर्र्न खोजिरहनु भएको छ
घनघोर वर्षाअघिको
मेघगर्जनसहितको चट्याङ मनमा बोकेर
शान्तिका कुरा गरिरहनु भएको छ
तपाईंको अनुहारको कम्पन
आँखामा भरिएको मैलो पानी
अनि मनमा अटेसमटेस बनेको अशान्तिले
भन्न सकिन्छ
तपाईं छोरीको बाउ होइन
छोरीको बाउ नहुनु कुनै अपराध पनि होइन
भनौं न
छोरीको बाउ नहुनु कुनै ठूलो अपराध पनि हो
छोरीको बाउका
अनुहारमा
खुशीको सिंगो आकाश हुन्छ
आँखामा
गन्नै नसकिने चम्किला ताराहरु
लुकामारी खेलिरहेका हुन्छन्
हातमै नाचिरहेको हुन्छ जून
अनि
भकुण्डोजस्तै पाइला अघिपछि
घाम गुन्टुङङ्टुङ गरिरहेको हुन्छ
तपाई यी सब कुरासँग अपरिचित हुनुहुन्छ
कसरी भन्न सक्नुहुन्छ ?
आफुलाई छोरीको बाउ !
छोरीले कहिल्यै क्रोध मन पराउँदिनन्
कहिल्यै अशान्ति रोज्दिनन्
छोरीले कहिल्यै अध्याँरोका पक्षमा बोल्दिनन् पनि
छोरी शान्तिको सिंगो ब्रम्हाण्ड हुन्
हाँसोको सम्पूर्ण क्षितिज हुन्
छोरी प्रकाशको सिंगो सूर्य
अनि सिंगो जून पनि हुन्
छोरीका यी शक्तिबारे
तपाईलाई केही थाहै छैन
कसरी भन्न सक्नुहुन्छ
आफुलाई छोरीको बाउ !
छोरीको मनमा मुटु झैँ बस्नुस्
छोरीका आँखामा नानीजस्तै अडिन सक्नुस्
छोरीका ओठमा हाँसोजस्तै फैलिन सक्नुस्
तपाई संसारको सुखी मानिस हुनुहुनेछ !
भोकले पेटलाई सारङ्गीजस्तो रेटेर
जाडोले नाङ्गो शरीरलाई
देउरालीको अग्लो सल्लाकोे रुख जस्तै हल्लाएर
कुनै गरिब वस्ती बगाएर
उर्लिएको धमिलो पानीजस्तो आँखामा
आँसुको बाढी उरालेर
सडक या कतै वस्तीतिर भौँतारिएकी सानी नानी
भनौ किशोरी
सम्झौँ
एउटी युवती
हुनसक्छ
एउटी आईमाईलाई आजै छोरी सम्झिएर
माया गर्नुहोस् त
तपाईसँग छोरीको बाउ नहुनुको पीडा
एकाएक हराउनेँछ
हठात्
ओठमा हाँसो उम्रन थाल्नेछ
आक्रोश भनौ क्रोध भन्ने शब्द विस्मृतिमा हराउने छ
अशान्ति अनि अभावको नाम
तपाईले कुनै कथामा पढ्नुपर्ने हुन्छ
अनि तपाई पनि छोरीको बाउ हुनुहुनेछ !
तपाईं छोरीहरुलाई पूजा गर्न सक्नुहुन्न
भने
तपाई छोरीको बाउ होइन !