सुनिता खनालको ‘पातमा प्रेम’
कविता
एउटा पात सलल
बगिरहेको छ नदीमा
त्यही पातमा छ
दुई थोपा आँसु
जो खसेको हो गुलाफको फूलबाट !
देउरालीमा तितेपाती चढाइराखेर
उकालै उकालो गएर
हिमालको फेदमा बसेर
घाम पर्खिरहेकी
प्रेमकविताकी सुन्दर प्रेमिका
अचानक यसरी रोइन्
कि बर्खाअघि पर्यो पानी
ब्युँझनुअघि भिज्यो धरती
र त्यहीँ उम्रियो गुलाफ !
त्यहीँबाट खसेको आँशु
पुछ्यो रुखको पातले
हावाले बोकेर गयो दूर कतै
र झारिदियो शान्त नदीमा !
टाढा मरुभूमिमा पुगेको उसको प्रेमी
कुन दिन आइपुग्छ होला नदी किनारमा
र, भेट्टाउँछ होला त्यो पात ?
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)