कविताः अँध्यारोको पक्षमा …

क्रान्ति जोशी

मेरा हजारौं अपमानको बाबजुद
हरेक साँझ खसिहाल्छ अँध्यारो
मेरो फराकिलो आँगनमा
जति खोइरो खने पनि उसको कुरुपताको
ऊ जूनको शितल छर्दै धर्तीभरि
टुप्लुक्क खसिहाल्छ साँझमै
मेरो फराकिलो आँगनमा

आजकल मलाई
अँध्यारो मनपर्न थालेको छ

उज्यालोको जयगान गाउँदै अँध्यारोको धन्धा गर्नेहरु
कति कुरुप र घिनलाग्दा देखिएका
यो रातभन्दा कता हो कता
डरलाग्दा र षडयन्त्रकारी देखिएका
इमानको छनक पनि नभेटिएको
तिनीहरुको अपराधीजस्ता आँखाहरु
हरबिहान भजन गाउँदै
साँझ ढल्दा कुमारी फूल बलात्कार गर्न पुग्ने
ढोंगी छेपाराहरुले
नंग्रा गाडिरहेको देखें रातको शालिनतामाथि

भो, मलाई आजकल
झुठो उज्यालो मन पर्न छाडेको छ

उज्यालोमा छरिएका मानव विकृतिहरु पखाल्दै
उदारता पस्कन्छ रात
आफूलाई भय, आतंक र अपराधका
परिचय भिराइदिने
यो खुनी हातहरुलाई प्रेमले मुर्साछ रात
कसले भन्छ रात आफैं सत्यको घाँटी अठ्याउँछ भनेर
को भन्छ रात स्वयम्
षडयन्त्रको चर्खा चलाउँछ भनेर
आफ्नै बहिनी बेच्ने
ती बेइमानीहरुभन्दा
कता हो कता पवित्र यो रात
ओछ्याइदिन्छ आफ्नो निश्छल हृदय
मेरो फराकिलो आँगनमा हरेक साँझ
ताकि म निदाउन सकूँ
निर्धक्क एक प्रहर मिठो निद्रा
तर ऊ नियाल्दो हो
मेरा निदाइरहेका आँखामा
कतै नभेटियोस् मभित्र पनि
अपराधको नयाँ योजना

आजकल मलाई
उज्यालो मन पर्न छाडेको छ ।

म पाउन थालेको छु
अँध्यारोको धैर्यतामा
एउटा महान् हृदय
उसको काखमा
सम्पूर्ण शान्ति, सद्भावको प्रेमले
निदाउन सक्छु म
रातको शीतल काखमा
मलाई उज्यालो मन पर्न छाडेको छ
दिदै दिएन उज्यालोले
सान्त्वनाका शीतहरु दिनको पातहरुमा
म पीडामा मडारिएको बखत
बरु तम्सियो ऊ
मलाई अपराधकर्मको नयाँ शिकार बनाउन
भो म उज्यालोलाई गुरु थापेर
नयाँ अपराधी बन्न चाहन्न
र त,
मलाई उज्यालो पटक्कै मन पर्न छाडेको छ

जब सत्कर्मका ताराहरु
टिमटिमाउँदै छरिन्छन् अँध्यारो आकाशभरी
निरब शान्ति लिएर ऊ
खस्छ मेरो फराकिलो आँगनमा
कहिल्यै नबिराई
हरेक घुर्मैला साँझहरुमा
म अँध्यारोलाई सम्मान गर्छु ।

अस्तिसम्म,
उज्यालोको मशाल बालेर दौडिएका मेरा पाइला
अँध्यारोको सत्–गर्भतिर मोडिएका छन््
उज्यालो– छद्य्मभेषीहरुको कुकर्मलाई नाङ्गो उतार्न
म रातको गर्भमा प्रवेश गर्दैछु यो बेला
साँच्चै, मलाई उज्यालो मन पर्न छाडेको छ
अँध्यारोमै टुसाउँछ
हर विद्रोहको विउ
अँध्यारोमै उठे
इन्क्लाबका हातहरु

अध्यारोलाई मुर्दावाद भनिरहेछन्
र,
अँध्यारोकै काखमा बसेर
उज्यालो विरुद्ध षडयन्त्र गरिरहेछन्
ती धोकाले भरिएका अनुहारभन्दा
इमान्दार छ रात
आफ्नो रंग बदल्न नजान्ने
इमान्दार छ यो अँध्यारो
हो अचेल म
अँध्यारोलाई प्रेम गर्छु ।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button