
अचेल साह्रै धौधौ छ मलाई
कविता
पवन आचार्य
तिम्रो याद
मिथक झैं बनेर
जिन्दगीमा उपस्थित छ
र,
छायाँ सरह
अनेक बहानामा
बेला-कुबेला
प्रसङ्ग-बेप्रसङ्ग
आईरहन्छन्
तिम्रा धुमिल हुन नसकेका यादहरु
धड्कनमा
श्वासमा
विश्वासमा
अचम्मैसँग समाहित छ
देहमा एउटै यस्तो ठाउँ छैन
जुन तिम्रो यादले निथ्रुक्क नभएको होस्
त्यसैले
अचेल साह्रै धौधौ छ मलाई
तिम्रा अवशिष्ट यादहरुलाई लुकाउन
कथाजस्तै मेरो जिन्दगीमा
तिम्रो उपस्थिति पनि मिथक नै होला शायद
कुनै तर्क
तथ्य
र प्रमाणले
पुष्टि गर्न नसकिने
अनायाश अनि सहसा
आइरहने
बसिरहने
मेरो मनको कुनोमा ।