मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ

कविता

ठाकुर बेलवासे

प्रियतमा तिम्रा आवश्यकताहरु अरु सम्झ
मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ

बजारको सबैभन्दा महंगो साडी छान
पुरानो स्टाईलका स्यान्डिल होइन
दामी स्यान्डिल किन

पुरान सबै गरगहना थन्क्याउ
हिँड गहनागृह
नयाँ नयाँ गरगहना किन

कति खानु घरको खाना
यो शहरको सबैभन्दा राम्रो रेष्टुराको
खाना ख्वाउँछु आज

अँ बजारमा आएको राम्रो कार पनि रोज
पुराना व्याग
मनी पर्स
लिपिष्टिक
अनि नेलपोलिस सबै सबै फ्याँकिदेऊ

अहिले नै फ्याँकिदेऊ
पुराना सबै कपडाहरु

तिमी आफैलाई थाहा छ
विश्वबजारका महंगा कपडा पाइने दोकान
हिँड म तिम्रो पछिपछि आउँछु
तिमीलाई मनलागेको रोज

प्रियतमा
तिमीलाई मैले प्रेम गरेको प्रमाणित गर्नु छ
यो हप्ता
यो देशकै सबैभन्दा सुन्दर ठाँउ घुमाउनु छ

सधै जाने गरेको व्यूटीपार्लरप्रति
तिम्रो गुनासो रहेको छ
खोज तिमीलाई सुन्दरी बनाउन सक्ने
महंगो न महंगो पार्लर

अँ, आफ्नै कपालदेखि
तिमीलाई कस्तो एलर्जी छ !
कुनै चल्तीकी हिरोइनको कपालको स्टाइल रोज
तिमीलाई मैले असाध्यै प्रेम गरेको देखाउनु छ
भनन् प्रिया
अब तिम्रा चाहना के छन् ?

मलाई थाहा छ
अब, तिमी साथीसंगीसंग
मेरो बखान गाउनमा व्यस्त हुन्छ्यौ
तिमी मस्त हुन्छ्यौ

तिम्रा चाहना पुरा भएसँगै
मेरा मनभरिका ईच्छाहरु
जुलुस बनेर मलाई लखेट्न थालेका छन्

म प्रेमको त्यो रुप खोज्न हिँडे अब
जसको स्पर्शले
बग्दै गरेका आँखाहरु
अनुहारमै अडिन सकुन्
अनि देख्नसकुन् मायाको शालिन रुप

ओठमा बेवारिसे बनेको हाँसोलाई
प्रेमको चुम्बनले सम्हाल्न सकोस्
अनि आविष्कार गर्न सकोस्
मायाको विशाल संसार

प्रियतमा तिम्रा आवश्यकताहरु अरु सम्झ
मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ
अनि हिँड्नु छ, प्रेमको विराट रुप खोज्न ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button