छोरी भएकैले धर्तीमा आउन पाइनन्
कल्पना कथा श्रृंखला ७
कल्पना खरेल
धेरै वर्षपश्चात साथी शीलासँग भेट भयो । शीलामा आएको परिवर्तनमा म अचम्भित भएँ । झलक्क हेर्दा चिन्नै मुस्किल पर्यो ।
शीलाको कलेज पढ्दाको त्यो सुन्दरता खुइलिसकेको थियो । अनुहारभरि पोतो बसेको, दुब्ली शीलाको अनुहारमा पीडा र दुःख झल्केको स्पष्ट हुन्थ्यो । उमेरभन्दा निक्कै बुढी जस्ती देखिएकी । आफूसँगै पढेकी साथीमा एक्कासी निक्कै परिवर्तन देख्दा दुःख लाग्यो ।
‘के छ हालखबर ?’, सोधेँ ।
‘ठिकै छ कसरी भनुँ ?’, निन्यौरो अनुहार बनाएर अलि हिच्किचाएर भनिन् ।
संयोगले एक्कासी बाटाको भेट ।
‘कतै बसौँ न’, शीलाले भनिन् ।
नजिकको चिया पसलमा गयौँ । चिया मगायौँ । पसल्नी दिदीले तुरुन्तै चिया लिएर आइन् । चिया पिउँदै गफियौँ । वैवाहिक जीवन पश्चातका दुःख सुखका कुराहरू पोखियो । पोख्न नपाएर मनमा गुम्सिएका शीलाका कथा व्यथा छरपस्ट भए । जति वेदनाका उल्झनहरू उल्झिँदै थिए, हामी दुवैको आँखाबाट बलिन्द्र धारा बग्दै थिए । शीलाको दर्दनाक व्यथाहरूले मेरो संवेदनशील मन मस्तिष्क तरंगियो । जति शीलाले सुनाउँदै गइन्, उति मैले कापीको खेस्रामा लेख्दै गएँ । शीलाको वेदना जस्ताको तस्तै ।
जसरी भए पनि छोरो जान्माउनै पर्ने बाध्यता । श्रीमानलाई छोरो चाहियो । सासूलाई, ससुरालाई वंश बचाउने छोरो चाहियो । समाजलाई छोरो चाहियो । दुई छोरीमुनि फेरि गर्भवती भएँ । गर्भ रहेको महिना दिन काट्ने बित्तिकै औसन लाग्न सुरु भयो । उल्टी हुन सुरु भयो । अन्न पेटमा रहेन । उल्टी गर्दा गर्दा शरीर कमजोरीले गलायो । बारम्बार पिँडुला फर्कियो । फेरि तेस्रो पटकको कष्टकर समय । पहिले दुई छोरीका पालिभन्दा पनि अझै पीडादायी । हुन त पहिलो बच्चा जन्मँदा पनि मरेरै बाँचेकी थिएँ । जति कष्टदायी भए तापनि घरधन्दा सासुससुरा रिझाउनै पर्ने । सासूको अति कडा बुहार्तन खेप्नै पर्ने । स–साना लालाबाला सिहार्नै पर्ने ।
श्रीमानलाई पनि यौन सन्तुष्ट राख्नै पर्ने । बिरामीको समय असजिलो अवस्थामा पनि यौनसुख नपाएको खण्डमा श्रीमानको रूप नै बदलिने । अनुहार अँधेरो हुने । बोलीचाली नै बन्द हुने । बिरामी अशक्त अवस्थामा पनि श्रीमानको इच्छामा सहमत हुनै पर्ने बाध्यता । अनेक बाध्यताहरूको बाबजुद पनि पेटको गर्भ बाह्रौँ हप्ता भयो । लिङ्ग पहिचान गरेर गर्भ राख्ने घर सल्लाह सासूको आदेश थियो । स्त्री रोग विशेषयज्ञ लेडिज डाक्टरकोमा श्रीमानले मलाई लिएर गए । डाक्टरले पेटको बच्चा चेक जाँच गरिन् । तर १२ हप्तामा लिङ्ग पहिचान हुन सकेन । फेरि अर्को एक महिना पश्चात डाक्टरले बोलाइन् । चार महिना लाग्दै गर्दा पेटको बच्चा सल्बलाउन थाल्यो । आफ्नै गतिले पेटमा बच्चा चल्न सुरु गर्यो । बच्चाको आकार बन्दै गयो । फेरि सोह्रौँ हप्तामा डाक्टरकोमा गयौँ । भिडियो एक्सरे गरेर हेर्दा फेरि पनि छोरी नै रहेछ । श्रीमानको अनुहार निलो कालो भयो । छाँगाबाट खसे जस्तो भए । पटक पटक छोरी नै भएकाले उनले मलाई नै दोषी देखे । छोरी भएकाले गर्भपतन गरेर मात्र फर्किने भइयो । कता कता पापको भयले मलाई तनाव गरायो । जब गर्भपतन गर्न डाक्टरले सुरु गरिन् । इन्जेक्सन लागाएपछि कृत्रिम बेथाले निक्कै चाप्यो । असह्य भयो । प्राण फुस्केला जस्तो भयो । औजारहरू पाठेघरमा खात्राङ्खुत्रुङ गर्दै थिए । नर्मल बच्चा जन्माउँदा भन्दा पनि निक्कै कष्टकर भयो । लामो समय लगाएर गर्भपतन अर्थात् भ्रूणहत्या सकियो । बाहिर फालिएका बच्चाको स्वरूप मेरो नजरमा पर्यो । भर्खर बन्दै गरेको स्वरूप । त्यो देख्नासाथ आत्मग्लानी भयो । रिङ्गटा लाग्यो । छिया छिया भएँ । हीनताबोध भयो । मानसिक, शारीरिक दुवै अत्यधिक पीडा भयो ।
छोरी भएकै कारण उनले यस धर्तीमा आउन पाइनन् । गर्भमै समाप्त भइन् ।
छोरा नपाइदिएकोमा श्रीमानको रातोदिनको टोकसो । दिनहुँ छोरा नपाए सौता हाल्छु भन्ने धम्की । जतिखेर पनि झर्को फर्को गर्ने । श्रीमानको हेलत्व व्यवहार ममाथि बजारियो । त्यति मात्र नभएर सासुका मुटु नै छेड्ने वचनबाणहरू मैमाथि खनियो । छोरा पाउन नसक्नेले के श्रीमती भएर बस्नु भनेर सासुले मानसिक यातना दिइन् । भर्खर गर्भपतन गरेको कमजोर शरीर, भरपूर मानसिक यातना बिहानदेखि बेलुकासम्मको घरधन्दाले फेरि रगतको धारो बग्न थाल्यो । अत्यधिक रगत बगेपछि म बेहोस भएँ ।
अचेत अवस्थामा मलाई हस्पिटल लगिएछ । तीन दिनपछि मात्र मेरो होस खुल्यो । यसो हेर्दा त हस्पिटलमा रहेछु । रगत सकिएर पहेँली भएकी थिएँ । हातका नसामा सिरिन्ज गोपिएका थिए । मेरा सामु स्ट्यान्डमा कसैको रगतको पोको झुन्डाइएको थियो । मलाई रगत चढाइँदै रहेछ । मर्नु न बाँच्नु हस्पिटलको शैयामा पनि उपचारमा अत्यधिक खर्च गराइस् बरु मरेकी भए पनि हुन्थ्यो भन्दै श्रीमानले टोकसो गर्दै थिए । कालो अनुहार बनाएर मलाई आँखा तर्दै थिए । छोरो नपाएकोमा शारीरिक मानसिक यातना निक्कै खेप्नुपर्यो । बाँचेर पनि जिउँदै मर्नुपरेको छ । ‘जे बिउ छरेँ, त्यही उम्रियो’ भन्ने अज्ञानी श्रीमानले कहिल्यै महसुस गरेनन् । छोरो हुन नसक्नुमा यदि कमजोरी नै थियो भने हामी दुवैमा थियो होला ।
प्रकृतिको ईश्वरीय देनप्रति भरोसा नराखी शिक्षित भनाउँदा श्रीमानको कालो मन मस्तिष्कले मलाई नै दोषी ठाने । अरूको इच्छा ममाथि लादियो । म अस्तित्वविहीन भएँ ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)