तिम्रो बाबा जीवित छन् भनौँ भने यतिका वर्ष भयो थाहापत्तो केही छैन
कल्पना कथा श्रृंखला-४
कल्पना खरेल
देशामा द्वन्द्वकालको कालो बादल मडारिँदै थियो । २०५९ सालतिरको कुरा हो । दिनभरिको कामले थाकेर हामी सपरिवार मस्त निन्द्रामा थियौँ । रातिको १ बजेको थियो ।
एक्कासी ढोका ढक्ढक्याएको आवाजले हामी झसङ्ग बिउझ्यौँ । ढोका खोलेर हेर्दा देश परिवर्तन गर्न भनी लागेका गोलीगठ्ठासहित माओवादीका एक हुल देखेर त्रसित भयौँ । निक्कै करकाप र जबर्जस्ती गरेर मेरो श्रीमानलाई पनि तिनै माओवादीको हुलले साथै लिएर गयो । कसैले थाहा नपाउने गरी म निक्कै रोएँ कराएँ आत्तिएँ तर केही सिप लागेन । त्यसबखत पहिलो छोरो दुई वर्षको थियो । म फेरि ६ महिनाकी गर्भवती अवस्थामा थिएँ ।
लामो समयसम्म उहाँ घरमा फर्किनुभएन । मलाई गर्भवती अवस्थामा घर व्यवहार चलाउन मुस्किल पर्यो । दुई जिउको अवस्थामा भारी ज्यानसहित सकी नसकी अरुको ज्याला मजदुरी गर्न जान्थेँ । अति कष्टकर समयसँगै ४ महिना बित्यो । एक दिन राती मालाई सुत्केरी हुने बेथाले चाप्यो । घरमा २ वर्षको छोराबाहेक अरु कोही थिएन । दुखाइको छट्पटीमा आत्तिरहेकी थिएँ ।
५ घन्टाको अति नै पीडापछि बिहानपख छोरीको जन्म भयो । फेरि सालनाल छुट्टिन धेरै गारो भयो । त्यो पहाडको विकट गाउँमा स्वास्थ्यचौकीको अभाव । मेरो मर्ने जस्तो स्थिति भैसकेको थियो । दुई दिनसम्म नालसालसहित चिसोमा डुबेर बसेँ । बच्चालाई पनि चिसो लागिसकेर निमोनिया भैसकेको थियो । अन्तिम अवस्थामा एक जना गाउँकै स्वयंसेविका दिदीले आएर सहयोग गर्नुभयो । मुस्किलले बाँच्न सफल भएँ ।
त्यो कमजोर अवस्थामा पकाएर खान दिने कोही पनि थिएन र घरमा खाने कुरो पनि केही थिएन । भर्खर जन्मिएकी छोरी पनि बिमारी थिई । जडीबुटी र गाउँघरको घरेलु दबाई गरेर छोरीलाई बिस्तारै सन्चो हुँदै गयो । छोरी जन्मिएको ११ दिनको दिन न्वारनको दिन बाबुको अत्तोपत्तो थिएन । नजिकका पण्डित बाजे आएर चोख्याइदिनुभयो । छोरीको नाम आस्मा राखिदिनुभयो ।
दुई बच्चाको जिम्मेवारी ममाथि आइलागेको हुँदा सकिनसकी सानु बच्चालाई पछाडि पिठ्युँमा बोकी छोरालाई हातमा डोर्याएर सुत्केरी अवस्थामा अरुको मेलापात मजदुरी गर्न जान्थेँ । मेलापात नगरे मुखमा माड लाग्ने थिएन । त्यस बखत मेरो २२ वर्षको उमेर थियो । त्यो अवस्थामा ममाथि आइलागेको जिम्मेवारी श्रीमानबिना एक्लिएको मेरो कलिलो जवानी निकै कष्टकर थियो । बालबच्चालाई एक्लै लालनपालन गर्न मलाई निक्कै धौधौ पर्यो । जसोतसो मुस्किलले दिनहरु बित्दै गए । लामो समय बित्यो । मैले मेरो श्रीमानको धेरै खोजी गरेँ । उहाँ युद्धमा दोहोरो भिडन्तमा पर्नुभएको खबर थाहा पाएँ । तर उहाँको सास पनि पाइनँ र लास पनि अहिलेसम्म पाउन सकेको छैनँ । काजक्रिया पनि गर्न सकेको छैन । एक गरिबको घरमा ठुलै वज्रपात भयो । मेरो जिन्दगी रित्तियो । बालबच्चा आफ्नु बाबुबिना टुहुरा भए । बाबुको मायाबाट वञ्चित भए । मेरो जिन्दगी अति नै सङ्घर्षमय भयो । त्यो कालो समयसँग सम्झौता गर्नु सिवाय विकल्प थिएन ।
समयले मेरो जिन्दगीलाई कहाँ मिल्काइदियो, कहाँ पुर्यायो । के गर्नु जति नै पीडामा पनि एक मुठ्ठी सास छउन्जेल बाँच्नु नै पर्ने । अरुको मेलापात मजदुरी गर्दै दिनहरु बिताउँदै आएँ । त्यो मेरो २२ वर्षको कलिलो जवानीमा श्रीमानको न्यानु अँगालोमा रहने रहर अधुरै रह्यो । ती मेरा चाहनाहरु मनभित्रै कुण्ठित भएर मरे । एक्लिएका दिनरातहरुसँग कहाली लाग्यो । जिन्दगी त एक रथका दुई पाङ्ग्राले चल्छ भन्छन् तर म एकै पाङ्ग्राले घिसार्दै चलाउन विवश भएँ मेरा जीवनको रथ ।
बेलाबेलामा आफैँ धेरैपटक बिमारी भएँ । मलाई पानी दिने पनि कोही भएन । श्रीमानसँग ४ वर्ष सँगै बिताएका क्षण स्मरण गर्दै रुन्छु । उनले दिएका मायाममता झल् झली मेरो आँखासामु आइरहन्छन् । हामी दुवैले भविष्यका अनगिन्ती सपनाहरु देखेका थियौँ । ती सबै सपना चकनाचुर भए । समाजका स्यालगिद्धहरुको फोहोरी नजर मेरो एक्लो जिन्दगीमा अर्थात् जवानीमा पर्न थाल्यो । सबैले बलेको आगो ताप्ने हुन् । निभेको आगो कसले ताप्छ र रु दुःखको घडीमा सहयोगभन्दा प्रयोग गर्नेको भिड ठूलो हुँदो रहेछ । हरेक पहाड बनिआएका ती समस्याहरुसँग झेलिनु अर्थात् भोग्नु सिबाय विकल्प रहेन । अहिले छोराछोरी अलि बुझ्ने भए । मेरो बाबा खै भनी प्रश्न गर्छन् । म के उतर दिऊँ ? तिम्रो बाबा बितिसक्नु भयो भनौँ भने लास अहिलेसम्म पाएको छैन । तिम्रो बाबा यो संसारमा जीवित छन् भनौँ भने यतिका वर्ष भयो थाहापत्तो खबर केही छैन । म छोराछोरीका प्रश्नको उत्तर दिन पनि असमर्थ हुन्छु ।
सरकारले सत्यनिस्पण तथा मेलमिलाप आयोग गठन गर्ने भनेको पनि धेरै समय भयो । राजनेताहरु सधैँ नै आआफ्नै स्वार्थमा लाग्दै आएका छन् र देशका ती सबै कामहरु अलपत्र छन् । कुनै कामको टुङ्गो लाग्न सकेको छैन । द्वन्द्वकालको दर्दनाक यथार्थसँग म र मेरा बच्चाहरु जस्तै बेखबर अरु पनि धेरै परिवार छन् । बुढेसकालमा साहाराविहीन बाबुआमाहरु एक मुठ्ठी सास लिएर पलपल तड्पिँदै छोराछोरीको बाटो हेर्दै छन् । कैयौँ मजस्तै नारीहरु जवानी अवस्थामा एक्लो, रित्तो, निराश जिन्दगी लिएर आफ्नु श्रीमानको बाटो हेर्दै छन् । कैयौँ ससाना नानीबाबुहरु आफ्नु आमाको न्यानो मायाममतादेखि वञ्चित भै कष्टकर बाल्यअवस्था बिताउँदै बेपत्ता बाबुआमाको बाटो हेर्दै छन् ।
द्वन्द्वपीडित बालबालिकाहरुको सहाराविहीन दर्दनाक यथार्थसँग सरकार बेखबर भएझैँ बुझ पचाएर बसेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय मौन छ । लामो समयदेखि द्वन्द्वपीडित तथा अन्य बेसहारा धेरै नानीबाबुहरु सडकमा पुसमाघको जाडोमा भोकैनाङ्गै कठ्याङ्ग्रिँदै बसेका छन् ।
लोकतन्त्रको भाषण गरेर कहिल्यै नथाक्ने हाम्रा राजनेताहरु बालअधिकारका निकै चर्का कुरा गर्छन्, तर ती द्वन्द्वपीडित बालबालिकाहरुलगायत अन्य बेसहारा बालबालिकाहरुको बिजोक तथा बालअधिकार हनन भएको सायद उनीहरुका आँखाले देख्दैनन् । ती अबोध बेसहारा दबिएका आवाजहरुले गाँस, बास, कपास, शिक्षा कहाँ छ भनी राज्यसँग प्रश्न गर्ने साहस गर्न सक्दैन तर उनका भावनाहरुले त्यो प्रश्न उठाइरहेका छन् । द्वन्द्वपीडितको नाम भजाएर डलरको खेती गर्नेहरुको पनि कुनै कमी छैन । जसले डलरको खेती गर्यो उसकोमा त डलर लटरम्मै फल्यो तर मजस्ता धेरै द्वन्द्वपीडितहरुलाई कुनै राहत मिलेको छैन ।
शान्ति मन्त्रालय तथा सरकारको तर्फबाट द्वन्द्वपीडितलाई छुट्याएको बजेट पनि बोल्नेको पिठो बिक्छ भनेको जस्तो टाठाबाठाहरुले मात्र पाए । म जस्तो सिधासदाहरुले कुनै पनि राहत पाउन सकेका छैनन् । १० वर्षे द्वन्द्वले मेरो जस्तै धेरैको खुसी लुटेको छ । ती कहालीलाग्दा द्वन्द्वका घाउ अझै आलै छन् ।
देश गणतन्त्रमा गएको पनि लामो समय भैसक्यो । विकास र निकास अलपत्र भएर बेबारिसे अवस्थामै छ । दुर्भाग्य म जस्ता हजारौ पीडितको पीडामा मलम लगाउने कुनै साहसी जन्मन सकेको छैन । नेपाल आमाको मुटुभरि पीडा बल्झिरहेको छ ।