कवितामा ‘केही कमिलाका कुरा’

दुर्गाप्रसाद पोख्रेल

यो जोसुकैले देखेको कुरा हो
इतिहासमा लेखेको कुरा हो
ती चराहरूले कमिला खाएको कुरा
विचराहरूले हण्डर पाएको कुरा ।

रुखमा
कमिलाहरू ताँती लागेका छन्
लाग्छ ती भर्खर जागेका छन्
परिश्रमका शाश्वत जीवनमूर्तिहरू
ती उद्यमशीलताको माला लगाउँछन्
आलस्यलाई वैरी झै भगाउँछन् ।

रुखका टोड्कामा चराहरू छन्
अल्छीका राजाहरू
बेमौसमका बाजाहरू
ती आकाशलाई मान्छन्
तर धर्तीको खान्छन्
कमिलाको यात्रा बिथोल्छन्
यहाँ चराहरू केवल चराहरू मात्र होइनन्
कमिलामा ती दुःखका गराहरू हुन्
असम्वद्ध तर घातकी विषका जराहरू हुन् ।

चराको अप्रासङ्गिक उपस्थितिले
कमिलाको ताँती छरपष्ट बन्छ
तर तिनको लक्ष्य अझ स्पष्ट हुन्छ
तब त कमिलालाई पनि थाहा छ-
‘अल्छीहरू कमिला मार्छन्
अल्छीहरू आकाशका तारा झार्छन् ‘

स्थितिको परिस्थिति बदलिन्छ
कमिलाहरू नाजुक बनिरहन्नन्
लोकले तिनलाई कमजोर भनिरहन्नन्
कमिलाहरू चराको जीउमा भरिन्छन्
तीखा दाँतहरूले
चराको भुत्ला उखेल्छन्
खुइलिएको चराको दाया बायाँ
ती अनवरत यात्रा चलाउँछन्
रुखका हरेक टोड्काहरूमा
कमिलाको वस्ती बस्छ
चराहरू शायद फेरि टोड्कामा छिर्दैनन्
तिनले कमिलालाई फेरि पिर्दैनन् ।

यो क्रमबाट जीवन मजबुत बन्दैजान्छ
कमिलाहरू सजिलै लोप हुँदैनन्
तिनमा उत्कट जिजीविषा छ
तिनमा सबल जिगीमिषा छ
म पनि त्यसरी नै
परिस्थितिका चराहरूसँग भिड्न चाहन्छु
तिनको ताँतीमा
एउटा सानो कमिला भएर हिड्न चाहन्छु ॥

लण्डन


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button