प्रश्नसहित उभिएकी उहिलेकी एक अबला
कविता
रेणुका जि सी
‘छोरी मान्छेले बल खेल्नुहुन्न !
जा आमालाई सघा !’
कलिलो मुटुभित्र सियो भएर पसेका
एक झोक्का आवाजको आडमा
अहमले उज्यालिदैँ तिमी
कहिले दाजुभाइ बनेर
कहिले बाबु, कहिले प्रेमी र पति भएर आयौ
र खोस्यौ
मैले खेल्दा खेल्दैको बल,
बलसँगै तिमीबाटै
उहिल्यै खोसिएथ्यो आत्मबल पनि ।
मान्छेबाट छोरीमान्छे बनाउन
खोयाबाट मकै छोडाएझैँ
एक एक गरी छोडाएर पन्छायौ
मेरो अस्तित्वबाट मेरा रहरहरु, खुशीहरु ।
नाच्दै गर्दा बढ्दै गरेका छाती नाचे !
पैतालाले संगीतसँग प्यार जानेन
कोठानै उचाल्ने गरी नहाँस्
खुशी पनि ओठसम्म आउनै मानेन
—शिर झुकाएर हिँड्,
—पैताला बिस्तारै चाल्
—जवाफ नफर्का
—मुख नखुम्च्या
ओहो !
लक्ष्मणरेखाभित्र खुम्चिँदाखुम्चिँदै
सास फेरिरहेँ तर बाँच्न बिर्सिएँ,
कपाल लम्बियो चाहनाहरु गुजुल्टिँदै गए
कपडा लम्बिए यात्राहरु छोट्टिँदै गए
शरीर रङ्गीन मन रंगहीन भयो ।
—तँ त घरकी लक्ष्मी पो
गाई बनेँ,
—आमा , धरती पो
निर्बाध छातीमा कुल्चिन दिइरहेँ ।
म खेलौना चाहन्थेँ
बनेँ तिम्रा अनेक खेलका निरीह पात्र,
रङ्गिन चाहन्थेँ
असह्य भयो मेरो ब्यक्तित्वको रङ्ग
र त गायब गरिदियौ मेरो अस्तित्वको क्यानभास ।
सहँदासहँदै सहनै भुलेकी छु
रुँदारुँदै रुनै भुलेकी छु
अब आँशुमा मिसिएको छ तेजाब
सहनशीलताभित्र पसेको छ प्रश्न ।
सिक्नुछैन मलाई
धीरताको पाठ
म अझै भीडमा अवश्य छु
तर प्रश्नका लागि उठाएकी छु हात
पर्खिरहेछु तिमीसित जवाफ ।
अब त बुझ,
म तिम्रो परम्पराको कारखानामा तयार भएको डमी हैन,
डमीले हात उचालेर प्रश्न सोध्दैन ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)