राजकुमार बानियाँलाई भूमिका र दीपक सापकोटालाई ब्लर्ब लेख्न दिएर एकदमै राम्रो गरेछु

हरि अधिकारीका ३ कृति आउँदै छन् । १. जासूसी उपन्यास सुवर्णक्रीडा २। वीपी कोइरालाको जीवन-चरित्र र ३. भुटानी नेपालीहरूको विस्थापन र संघर्ष । उनकै शब्दमा यी किताब २०७८ भित्र तयार हुनेछन् । तर, यहाँ यी ३ किताबबारे कुनै कुराकानी हुने छैन । कुरा हुनेछ, निकटमै प्रकाशन हुँदै गरेको किताब ‘संकलित गद्यरचना’बारे ।
‘यो पुस्तक मेरो आठौँ प्रकाशन हुनेछ तर अन्तिम होइन’, उनले भने, ‘केही नयाँसहित विभिन्न पत्रपत्रिकामा छापिएका निबन्ध/प्रबन्धहरूलाई जम्मा पारेर संकलन निकाल्नु भनेको मेरो लेखनको युग सकिनु हुन सक्दैन ।’
प्रस्तुत छ, नेपालनाम्चाका लागि अशोक सिलवालले स्रस्टा हरि अधिकारीसँग गरेको कुराकानी ।

आठौं किताब आउँदैछ तपाईंको, संकलित गद्यरचना । के तपाईंको लेखनको युग सकिएकोे हो ? र, संकलनतिर सुरु हुनुभएको ?
हो यो पुस्तक मेरो आठौँ प्रकाशन हुनेछ तर अन्तिम होइन । मेरा अरू ३ कृति: १. जासूसी उपन्यास ‘सुवर्णक्रीडा’ २. वीपी कोइरालाको जीवन-चरित्र र ३. भुटानी नेपालीहरूको विस्थापन र संघर्ष २०७८ भित्र तयार हुनेछन् । केही नयाँसहित विभिन्न पत्र-पत्रिकामा छापिएका निबन्ध/प्रबन्धहरूलाई जम्मा पारेर संकलन निकाल्नु भनेको मेरो लेखनको युग सकिनु हुन सक्दैन ।

अमेरिकामा तपाईं, किताब यता नेपालबाट । खल्लोखल्लो लाग्दै होला । होइन ?
त्यस्तो खल्लो केही छैन । सञ्चार प्रविधिको स्मार्टनेसले गर्दा अमेरिका बसेर यो पुस्तक निकाल्दै गरेको जस्तो नै लागेको छैन ।

संकलित गद्यरचना । नामले त खासै अपिल गरे जस्तो लाग्दैन । तर, किताबको नाम कसरी र किन यो रहन गयो ?
छरिएर रहेका गद्यरचनाको संग्रह भएकोले यसको नाम उपयुक्त छ भन्ने कुरामा म विश्वस्त छु ।

किताबको प्रकाशन, वितरण र विक्रीमा पनि लेखक नै सक्रिय हुने सुनिएको थियो ? कुरो के हो ?
हो यो पुस्तकको लागि रचना संकलन, टाइपिङ र शुद्धाशुद्धि हेर्ने कामदेखि प्रकाशन र बिक्री-वितरणसम्म मेरै तर्फबाट भएको छ र हुनेछ ।

तपाईंको यो आठौं किताबलाई तपाईं किताब भन्नु हुन्छ कि कृति ? किताबमात्रै हो भने कारण खुलाउन परेन । तर, कृति हो भने कारण पाउँ न हजुर ।
तपाइँले किताब र कृतिलाई के आधारमा फरक देख्नु भएको हो, त्यो प्रष्ट नहुञ्जेल यस प्रश्नको उत्तर दिन गार्‍हो पर्छ मलाई ।

‘संकलित गद्यरचना’ मैले किन पढ्ने ?
तपाइँ लालित्यपूर्ण नेपाली भाषामा लेखिएका मार्मिक निबन्ध/प्रबन्ध पढ्दाको आनन्द लिन चाहनु हुन्छ भने यी रचनाहरूले तपाइँलाई निराश बनाउने छैनन् । बितेका ४/५ दशकमा नेपाली समाजले गरेको रूपान्तरणको अनुभूति गर्न पनि संग्रहका रचनाहरूले तपाइँलाई सघाउने छन् ।

तपाईं एक छिनलाई सम्झनुस्, यो किताबको तपाई लेखक होइन, पाठक हो । अब तपाईं किताबमाथि कस्तो तरबार चलाउनु हुन्छ ? कस्तो फूल टक्र्याउनु हुन्छ ?
एक सामान्य पाठक मात्र भएर पढ्दा पनि यी निबन्ध/प्रबन्धहरूले मलाई निराश बनाउँदैनन् ।

माथि पनि कुरा गरियो । फेरि प्रकाशन प्रसंगतिर जाउँ । लेखक प्रकाशक सम्बन्धबारे तपाईंको अनुभव र धारणा के हो ?
नेपालमा साहित्यको लेखक शोषित वर्गमा पर्दछ । त्यसो त प्रकाशक पनि त्यति धेरै फाइदामा रहन्छ जस्तो लाग्दैन । पुस्तक प्रकाशनबाट बिना कुनै ठूलो लगानी फाइदा लिने भनेका पुस्तक पसलेहरू मात्र हुन् । एउटाले लेख्छ, अर्काले पैसा लगाएर छाप्छ अनि बेच्नेलाई दिनु पर्दछ पुस्तकको मूल्यको ५० प्रतिशतसम्म । त्यति कमिसन लिएर पनि पसलेहरूले बेलामा पैसा दिंदैनन् ।
मैले यो पुस्तकको प्रकाशन आफैँ गरेर लेखक-पाठक सिधा सम्पर्क सेतु बनाउने एउटस स्किम शुरू गर्न खोजेको छु । त्यसका लागि मैले पाठकहरूसँग पुस्तकको मूल्य अग्रीम लिएर पुस्तक छापिएपछि उनीहरूको घरठेगानामा पुर्‍याउने योजना बनाएको थिएँ । मसँग प्रेसलाई दिने पैसा नभएको र अग्रीम बुकिङ पर्याप्त मात्रामा नभएकोले यस पटक केही सहृदयी साथीहरूसँग सहयोग पनि लिएको छु । तर मेरो यस स्किम अनुसार लेखक पाठकको प्रकाशन क्लब बनाउने हो र सानो कोष खडा गर्ने हो भने अग्रीम पैसा पनि उठाइरहनु पर्दैन । कुनै पनि पुस्तक कम मूल्यमा क्लबका मेम्बरहरूलाई दिन सकिनेछ । प्रत्यक्ष आपूर्ति गरेर बिक्रेताहरूले खाने कमिसन बचाउन सकियो भने पुस्तकको हाल प्रचलित मूल्यभन्दा कम्तीमा पनि २५% कम गर्न सकिन्छ । त्यस्तो क्लबमा १ हजार जना मात्र सदस्य बने भने र क्लबले निकालेको पुस्तक सबैले किन्ने प्रावधानको पालना भयो भने यस क्षेत्रमा सुखद परिवर्तनको लहर आउन सक्छ ।

लेखकको साइडबाट भनिएको कुरालाई मात्र कसरी अन्तिम सत्य मान्न सकिन्छ ? प्रकाशकका कुरा सुन्ने हो भने लेखकप्रति अनेक प्रश्न तर्साउन सकिन्छ । होइन र ?
मैले लेखकका रूपमा केही भनेकै छैन । म आफू शोषणमा परेको पनि छैन तर नेपालमा लेखकहरूले आफ्नो परिश्रम र प्रतिभा अनुसारको फाइदा लिन पाइरहेका छैनन् भन्ने कुरा बारम्बार उठिरहेको छ ।

तपाईंको किताबतिरै आउँ । यो किताबले हरि अधिकारीको ‘लेखक’लाई थप परिचय गराउँछ ? वा त्यस्तो केही पनि होइन ?
यो पुस्तकले मलाई एउटा कुशल शब्द-शिल्पीका रूपमा पाठकहरूका बीच प्रिय बनाउनेछ भन्ने विश्वास गरेको छु ।

यो किताबको भ्रुण के हो ? यसको बीर्य तत्व र पाठेघर परिवेश के हो ?
यो पुस्तकमा संग्रहित गद्यरचनाहरूमा मैले बाँचेर आएको झण्डै ७ दशकलामो समयले रचेको छायाँ र छविको छाप देख्न सकिन्छ । यी रचनाहरूमा मेरा अनुभव र अनुभूतिहरू त प्रतिविम्बित छन् नै नेपाली सभ्यतामाथि समयले पारेका डोबहरू पनि उभारमा आएका छन् ।

यो किताबप्रति तपाईंमा निकै उर्जा र उत्साह देख्दैछु । यसको खास कारण के हो ?
यस पुस्तकलाई लिएर ममा तपाइँले भने जस्तै उर्जा र उत्साह छ भन्न त म सक्दिन । तर, मेरो सक्रिय लेखनको ५ दशकको अवधिमा लेखिएका गद्यरचनाहरूको यस संग्रहले मेरो प्रतिभा र लेखकीय क्षमतालाई सशक्त रूपमा उजागर गर्दछ भन्ने विश्वासका कारण म खुशी भने अवश्य पनि छु ।

किताबमा बानियाँ र सापकोटा पनि छन् भन्ने सुनेको छु । यी दुई लेखक-पत्रकार तपाईंका प्रिय कि तपाईं उनीहरुका प्रिय ?
मैले तुलनात्मक रूपमा युवा र स्थापना मान्यताका दृष्टिले पनि कम विख्यात २ जना लेखकहरूलाई यस पुस्तकको बारेमा लेख्न अनुरोध गरेर एउटा नयाँ प्रयोग गर्न खोजेकै हो । भूमिका वा ब्लर्ब जतिसुकै रद्दी लेखे पनि बूढा पुराना मास्टर डाक्टर आदिलाई नै लेखाउनु पर्दछ भन्ने थोत्रे सोचबाट मुक्त हुने प्रयत्नमा मैले प्रतिभाशाली युवा लेखकद्वय राजकुमार बानियाँलाई भूमिका र दीपक सापकोटालाई ब्लर्ब लेख्न दिएर एकदमै राम्रो गरेछु भन्ने कुरा त ती दुवैले लेखेका सामग्रीले नै प्रमाणित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button