पुस्तक अंश: कुमाउको सम्पूर्ण वैभव, दासहरु, भूमि, श्रीसम्पत्ति सबैसबै तिमीलाई
सम्राट्, के हामी तरबारबाट नभई प्रेम र सद्भावबाट नयाँ सभ्यताको रचना गर्न सक्दैनौँ ? जसका लागि हाम्रो सन्तानले गर्व गर्न सकोस्, जसका लागि हामीले भगवानसँग माफ माग्न नपरोस् !
केशव दाहाल ।
बिक्रम संवत् १२८० को कुरा हो ।
केहि दिन अगाडिमात्र सम्राट् क्राचल्लदेवले कुमाउमाथि विजय हाँसिल गरी खस साम्राज्यको झण्डा पवनवंशीहरुको अकंटक राज्य कुमाउमा गाडेका थिए । त्योसँगै, खस साम्राज्य र कुमाउबीच एघार दिनसम्म चलेको भिषण युद्ध सकिएको थियो ।
निश्चय नै युद्धहरु रक्तरञ्जित हुन्छन् तर कुमाउको युद्ध बिभत्स र बर्बर थियो ।
त्यो युद्धमा दुवैतर्फका गरी दस हजारभन्दा धेरै मान्छे मारिए । तीन हजार बन्दी बनाइए । सयौ अंगभंग भए । सयौ महिलाहरु यौनदासी बनाइए । अन्ततः पवनवंशी राजा सोमचन्दका उत्तराधिकारीहरुले सम्राट् क्राचल्लदेवसग हार खाए । हार र अपमान सहन कुमाउका राजा र युवराजहरुलाई गाह्रो भयो । अतः आफ्नो वंश परम्परा, प्रतिष्ठा र राज्यलुटको पीडा सहन नसकी उनीहरु सबैले सपत्नी आत्महत्या गरे । कुमाउको सेनापति भाग्यो । र, सरयु किनारतिर शरणागत भयो । महाअमात्यले आफ्नै घरमा आगो लगाई आत्मदाह ग-यो ।
समस्त शत्रुचक्रलाई परास्त गरी सम्राट् क्राचल्लदेवले कुमाउ अधीनस्थ गरे ।
कुमाउ दरबारमा खस साम्राज्यको झन्डा फहराइयो ।
सम्राट् क्राचल्ल्देवकालागी यो युद्ध एक उत्सव जस्तै थियो । उनि आफ्नी सर्वप्रिय कान्छी रानी अप्सरालाई त्यो युद्ध, त्यो विजय, युद्धबाट आर्जन भएको राज्य, दास दासी र सम्म्पुर्ण जायजेथा उपहार दिन चाहान्थे । आफ्नी कान्छीरानी अप्सरालाई प्रेम र यौवनले सन्तुष्ट गर्ने उनको त्यो आफ्नै तरिका थियो ।
…
विजय उत्सवपछिको पहिलो रात ।
तर प्रेम महलमा रानी अप्सरा र सम्राट् क्राचल्लदेवको मिलन अपेक्षित रहेन । सम्राट्को चरम प्रेम–कामनालाई तिरस्कार गर्दै रानीले आफू शारीरिक संसर्गबाट टाढै बस्न चाहेको कुरा जाहेर गरिन् ।
‘के भयो मेरी प्रियालाई ?’ सम्राट्ले किञ्चित् विनम्र भावमा सोधे ।
महाराज म हजुरको सन्तानको आमा बन्दै छु ।
प्रिय, अप्सरा ! मेरी अप्सरा । यो मेरा लागि संसारकै सबैभन्दा सुखद समाचार हो ।
महाराज, आमा बन्नु अनुपम अनुभव रहेछ । म भर्खरै मात्र यो अनुभवले धन्य भएकी छु । बस्, म यो अनुभवलाई जोगाउन चाहन्छु । यसलाई अनिष्टबाट बचाउन चाहन्छु ।
निश्चय नै प्रिय ! म सम्राट् हुँ । तिमी मेरी सबैभन्दा प्रिय रानी हौ । म वाचा गर्छु कुनै पनि अनिष्टले तिमीलाई छुने छैन । हाम्रो सन्तान यो धरतीकै सबैभन्दा भाग्यमानी सन्तान हुनेछ । तिमी संसारकै सबैभन्दा सुखी आमा हुनेछौ । तिम्रो आमा बन्ने सुखद कामनासँगै मलाई अर्को एक सन्तानको बाबु बन्ने अवसर प्राप्त भएको छ ।
महाराज, म भगवानसँग यस अनुकम्पाका लागि अनुगृहीत छु ।
यो खुसीमा म तिमीलाई के दिऊँ प्रिय ? मैले कुमाउ जितेको छु । मैले बाचा गरेअनुसार कुमाउको सम्पूर्ण वैभव, दासहरु, भूमि, श्रीसम्पत्ति सबैसबै तिमीलाई । तर त्यति मात्र दिएर मेरो खुसी तृप्त हुँदैन । अरु थप माग । म मेरो तन, मन, धन, बल, वीर्य, राजकाज र सपना सबैसबै तिमीमा अर्पण गर्न चाहन्छु ।
प्रिय, सम्राट् ! रिसानी माफ होस् । म केही अनुरोध गर्न चाहन्छु ।
भन, प्रिय ! यसमा रिसाउने के कुरा छ ? म त अझ हर्षित पो छु ।
महाराज, म आमा बन्दै छु । जब मैले वैद्यराजबाट यो कुरा थाहा पाएँ, मभित्र नयाँ अनुभूति जागृत भयो । मलाई लाग्यो, आमा बन्नु नारीका लागि प्रेमिका बन्नुभन्दा महान् कुरा हो ।
अवश्य प्रिय ! आमा–बाबु बन्नु संसारकै सबैभन्दा सुखद अनुभूति हो ।
महाराज, जब मैले आफू आमा बन्दै छु भन्ने अनुभव गरेँ, मलाई सर्वप्रथम राष्ट्रदेव एकरुद्रबालेश्वर महादेवको दर्शन गर्न मन भयो । त्यही प्रयोजनका लागि केही दिनअघि म मन्दिर जाँदै थिएँ, बाटोमा युद्धमा मारिएका सैनिकका प्रियजनहरुसँग मेरो भेट भयो ।
हाम्रा सैनिकहरुको वीरताको गाथा निश्चय नै अजरअमर छ, प्रिय ।
तर युद्धले हाम्रा हजारौं प्रजाजनको मन मुटु छियाछिया पारेको छ, सम्राट् ।
अवश्य नै । युद्ध कठिन कुरा हो, प्यारी । म तिम्रो अनुभूतिको कदर गर्छु ।
सबै घरमा रूवावासी थियो, महाराज । वृद्ध आमा, बा र जवान पत्नी कुमाउ युद्धमा मारिएका पति, पिता र पुत्रका लागि विलौना गरिरहेका थिए । आमाहरु विह्वल थिए । पत्नीहरुको होस थिएन । बालबच्चाहरु रोइरहेका थिए । पिताको मन फुटेको थियो । मैले जे देखेँ, त्यो असह्य थियो, महाराज !
युद्ध भनेकै जीवन र मृत्युको खेल हो, प्रिय !
त्यो खेल किन र कसका लागि थियो, सम्राट् ?
प्रिय, अप्सरा ! संसारको सभ्यता नै तरबारको धारले कोरिएको हो ।
तर ती वृद्ध माता, पिता र जवान पत्नी तपाईंको सभ्यतालाई धिक्कारिरहेका थिए ।
इतिहास निर्मम हुन्छ, प्रिय ! इतिहासमा यस्ता घटनाहरु स्वाभाविक हुन्छन् ।
तर जो मरे, के त्यो स्वाभाविक थियो, राजन ? यसकारण मलाई सबैभन्दा पीडा महसुस भयो कि त्यो युद्ध मेरो नाममा आयोजना गरिएको थियो । म आफू ती वृद्ध माता, पिता र असहाय विधवाको दुःखको कारण हुँ भन्ने अनुभूतिले भित्रैबाट छियाछिया भएँ ।
मेरी अप्सरा ! धेरै नसोच । दुःखी नबन । हामी उनीहरुका लागि राज्यका तर्फबाट केही गरौँला ।
जीवनको बदला हामी के दिन सक्छौँ, सम्राट् ? मलाई माफ गर्नुहोला, मैले यति ठूलो पीडा र सन्नाटा अनुभव गरेकै थिइनँ ।
निश्चय नै प्रिय ! यसमा तिमीले माफी माग्नुपर्ने कुरै के छ र ?
त्यसैले महाराज, म प्रायश्चित्त गर्न चाहन्छु । म आमाको कर्तव्यले ओतप्रोत हुन चाहन्छु । म चाहन्छु, मेरो आउने सन्तानलाई कतैबाट पनि युद्धको छाया नपरोस् । म आफ्नो सन्तानको सम्पूर्ण पवित्रताका लागि चिन्तित छु ।
त्यो मेरो पनि सन्तान हो, प्रिय !
सम्राट्, के हामी तरबारबाट नभई प्रेम र सद्भावबाट नयाँ सभ्यताको रचना गर्न सक्दैनौँ ? जसका लागि हाम्रो सन्तानले गर्व गर्न सकोस्, जसका लागि हामीले भगवानसँग माफ माग्न नपरोस् !
प्रिय रानी, म त्यसका लागि प्रयत्न गर्नेछु ।
त्यसैले सम्राट् म हजुरबाट प्राप्त हुने युद्धोपहार लिन असमर्थ छु । जब मैले आफ्नो गर्भमा कुनै मान्छेको सिर्जना हुँदै छ भन्ने अनुभव गरेँ, जब मैले युद्धमा आफ्नो प्रिय मान्छे गुमाउनेहरुको पीडा अनुभव गरेँ, तब मलाई हरेक मान्छेहरुमा आफ्नो सन्तानको आभास हुन थाल्यो । र, यो निर्णयमा पुगेँ । आखिर म रानी हुँ । रानी हुनु सम्पूर्ण प्रजाकी आमा हुनु हैन र ? त्यसैले आफ्ना सन्तानको मृत्यले आर्जन गरेको प्रेमोपहार म कसरी लिऊँ रु कृपया म र मेरो सन्तानलाई युद्ध, पाप र दुष्कर्मबाट बचाइदिनुहोस्, सम्राट् !
अप्सरा ! यति धेरै पराई नबन । तिमीलाई थाहा छ, तिमी के भन्दै छौ ? तिमी महान सम्राट् क्राचल्लदेवसँग स्वयं उसले गरेका सबै बहादुरीपूर्ण युद्धहरुको अपमान गर्दै छौ । कृपया, यसो नगर प्यारी ! यो त म, मेरो प्रेम, मेरो बहादुरी र समस्त खस साम्राज्यप्रति अन्याय हुन्छ ।
सम्राट् यति धेरै निरीह कहिल्यै भएका थिएनन् । उनीसँग रानीलाई सम्झाउने शब्दहरु थिएनन् ।
सम्राट्, खस साम्राज्यलाई म पवित्र बनाउन चाहन्छु । म युद्धमा भएका पापहरुबाट हाम्रो साम्राज्यलाई मुक्त गर्न चाहन्छु । म हाम्रो सन्तानलाई यस्तो पवित्रभूमिमा जन्म दिन चाहन्छु, जो निष्कलंक होस् । म प्रायश्चित्त गर्न चाहन्छु ।
प्रिय, अप्सरा ! मेरी अप्सरा !
सम्राट्ले रानीलाई अंगालो मार्न र सुस्तरी सबै कुरा सम्झाउन चाहे ।
महाराज, म मेरो संकल्पका लागि बाध्य छु । म मेरो सन्तानका लागि बाध्य छु । त्यसैले युद्धमा भएका पापहरुको प्रायश्चित्त नगरेसम्म म हजुरको स्पर्शबाट टाढै रहन चाहन्छु । हाम्रो सन्तान र आमाका कामनाहरुको सम्मानका लागि हजुरबाट मेरो भावनाको अपमान हुनेछैन । यही नै मेरा लागि हजुरले दिने सबैभन्दा बहुमूल्य उपहार हुनेछ ।
तर प्रिय, पत्नीको धर्म रु म तिमीसँग अनेक कामनाहरु लिएर आएको छु ।
सम्राट्को पछिल्लो वाक्यप्रति रानी अप्सराको कुनै प्रतिक्रिया थिएन ।
कान्छी रानीलाई के भयो ? त्यति धेरै चञ्चल र मायालु युवतीमा यो परिवर्तन कसरी आयो ? उनले कुनै छनक पाउन सकेनन् । सम्राट् आश्चर्यमा परे । रानीलाई फकाउन र आफ्ना प्रेम कामनाहरुप्रति सहमत बनाउन उनीसँग शब्दहरु थिएनन् । रानीको त्यो विरक्ति, त्यो आत्मा शुद्धिको चाहना, त्यो पवित्रताको कामना सबै कुरा उनका लागि अनपेक्षित थिए । यस्तो भयो कि सम्राट् आफ्नो पुरूषत्व, शक्ति र सामथ्र्यको जुन भ्रममा थिए, ती भ्रमहरु कान्छी रानीको यौन तिरस्कारले चकनाचुर भए ।
(राजनीति, सामाजिक अभियान र लेखनमा संलग्न दाहालको यसअघि ‘नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक प्रकाशित छ । मोक्षभूमिु दाहालको पहिलो उपन्यास हो ।)