अम्बर गुरुङको आकाश र धरती

दुतेन्द्र चाम्लिङ

कुनै सर्जक र कलाकारले आफूलाई ‘एनाक्रोनिस्ट’ घोषणा गरिेसकेको सन्दर्भमा उसलाई सामयिक सोचिदिनुमा समाजले भविष्यमा के भुक्तान गर्नुपर्ला ?

‘अम्बर गुरुङ’ भन्ने वित्तिकै हाम्रो अगाडि ‘नौलाख तारा उदाए’ र ‘म अम्बर हुँ, तिमी धरती’ आउछ । झन्डै आधा शताब्दी इतिहास भएका यी दुई गीत अम्बर गुरुङको पर्यायको रुपमा स्थापित छन् । नेपाली सङ्गीतमा अम्बर गुरुङको पहिचान स्थापित हुनुमा यी दुई गीतको विशेष भूमिका छ । गीत लेख्ने, सङ्गीत गर्ने र गाउने वाग्यकार भए पनि अम्बर गुरुङको व्यक्तित्व विशेष रुपमा सङ्गीतकारको रुपमा स्थापित भयो । यसो हुनुमा उनका समकालीन गायक र गीतकारहरुको प्रभावशाली उपस्थिति एक कारक हो भने मुख्य कारण चाहिं सङ्गीतप्रतिको उनको चिन्तन नै हो ।
गायकलाई एउटा अभिनेताको रुपमा र सङ्गीतकारलाई निर्देशकको रुपमा हेर्ने उनको दृष्टिकोणले अझ बढी त्यसमा भूमिका खेलेको छ । तर पनि उनको स्बरमा आफ्नो छुट्टै किसिमको विशिष्टता छ । कतै टाढाबाट आएजस्तो तर नजिक, कतै टाढा गएजस्तो तर नजिक, विहानको कट्मेरो ताराजस्तो मिर्मिरे उज्यालोस“ग पनि नहारेको, नीलो हुँदै गरेको आकाशमा पनि चहकिलो । गीतको संरचनाप्रतिको आग्रहको बिलोमले भावसम्मको फरकपन पनि दिनसक्छ । यद्यपि गीतको विशिष्टता भावको फरकपन हुनुमा मात्र सिमित छैन । अम्बर गुरुङको केही गीतहरु गीतको परम्परागत संरचनाको बिलोमलाई लिएर एक हदसम्मको त्यो प्यारामिटरसम्म पुगेका छन् जसले सङ्गीतको विशिष्ट शैली सिर्जनामा योगदान दिएका छन् ।

‘नौलाख तारा उदाए’ र ‘म अम्बर हुँ“, तिमी धरती’
सङ्गीतमा लय, ताल, ध्वनिको सङ्घटना र सङ्घर्षणको उपस्थिति हुन्छ । सङ्गीतमा निहित ती लय, ताल, ध्वनिको सङ्घटना र सङ्घर्षणको कारण हाम्रो चेतनाले पत्तो पाएमा हामी सङ्गीतसम्म पुग्छौं । सङ्गीत हाम्रो चेतनादेखिको चेतनासम्मको यात्रा हो । सङ्गीतलाई ध्वनिमात्र बुझिदिनु साधन सम्झेर साध्य बिर्सिदिनु जस्तै हो । यस अर्थमा अम्बर गुरुङको ‘नौलाख तारा उदाए’ गीत सुरु हुनु अघि वाद्ययन्त्रको जुन आवेग छ, त्यसपछिको मौनता र त्यसपछि फेरि वाद्ययन्त्रको आवेग र आलापको उपस्थितिको कारणहरुको विश्लेषणपछि मात्रै हामी ‘नौलाख तारा उदाए’ मा पुग्नेछौं । कुनै पनि सर्जकको एउटा निश्चित समयमा रचिएका रचनाहरुको विचार बिल्कुल अलग रुपले एक अर्काको ‘अम्बर’ र ‘धरती’ को हदसम्म पुग्दैनन् । कुुनै पनि सर्जक आफ्नो समकालीन सिर्जनाहरुमा निरन्तर रुपमा चिन्तनको सापेक्षमा गुज्रिरहेको हुन्छ र उक्त सर्जक यसबारेमा पूर्णरुपले सचेत हुन्छ । लगभग एउटै समयमा आएको ‘नौलाख तारा उदाए’ र ‘म अम्बर हु“, तिमी धरती’ गीतको समयको चेतनाको आवाज ‘नौलाख तारामा उदाए’मा उदाएर ‘म अम्बर हु“, तिमी धरती’ मा अस्ताएको विश्लेषण गर्नु उचित हँुदैन । राज्यको अस्तित्व जुन हदसम्म वर्तमान समयमा संसारमा व्याप्त छ र जुन हदसम्मको राज्यप्रति वर्तमान समयको आम मानिसको धारणा छ, त्यो रहेसम्म त्यसले अन्ततः ‘म अम्बर हु“, तिमी धरती’ गीतलाई एउटा विशुद्ध प्रेम गीतको रुपमा मात्रै विश्लेषण गर्ने सुविधा प्रदान दिइरहनेछ । यो गीतमा जुन अन्त छ, अद्भूत छ र त्यो मौनता होइन खासमा एउटा सन्नाटा हो ।

गीतिनाटक, क्वायर, क्यान्टाटा र सिम्फोनी
‘नयाँ लहर’ क्वायरमा डाँडामा घामको प्रकाश बिस्तारै हिंडे जस्तो एउटा एक पाइला, अर्को दुई पाइला, अर्को तिन पाइला गर्दै हिंड्ने शैलीको सङ्गीत छ । सुरुमा ब्यूँझाएको एउटा प्रक्रिया, त्यसपछि हिंडाइको प्रक्रिया, त्यसपछि एउटा तिब्र हिंडाइको प्रक्रिया, त्यसपछि विश्रामको प्रक्रिया, फेरि सुस्त र तिब्र हिंडाइको प्रक्रिया र एउटा निश्चित लक्ष्यमा पुगेर त्यसको समीक्षा गर्दै अर्को लक्ष्यको यात्राको लागि आह्वान गरिएको यो क्वायर सङ्गीतको आधारमा नेपाली सङ्गीतको एउटा उपलब्धि हो । चाका बनाइरहेको मौरीहरुमा हावाको सानो लहरले पैदा गरेको तरङ्ग, किनारतिर फैलिंदै गरेको समुद्रको छालजस्तो लहरको तरङ्ग, भएको ‘नयाँ लहर’ क्वायर अम्बर गुरुङको क्वायरहरुमध्येको एक उत्कृष्ट क्वायर हो । खोलाको कलकल, छा“गाहरुको छङछङ, बतासको सरसर, मौरीहरुको भुनभुन, फूलहरुको मगमग, चराहरुको चिर्बिर चिर्बिर, बालाहरुको लहलह, शीतको टलपल टलपल, जूनको टहटह आदि जस्ता अन्र्तवस्तु निहित यो क्वायर सङ्गीतको क्षेत्रमा पश्चिमी सङ्गीतको लागि पनि एउटा नयाँ भाषा हो । अम्बर गुरुङमा पूर्वीय शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत, नेपाली लोकगीत र पाश्चात्य सङ्गीतको विषद् अध्ययन रहेको हामी उनको क्वायर र क्यान्टाटाको सङ्गीत सुन्दा विशेष गरी अनुभूत गर्न पाउँछौं । ‘वीर गोर्खा’ र ‘स्मृति’ जस्ता क्यान्टाटामा अम्बर गुरुङले जुन सङ्गीतको गुम्बज निर्माण गरेका छन्, त्यहाँ हामी उनको सङ्गीतमाथिको कल्पना र चिन्तनको बृहत आयतनलाई अनुभूत गर्ने अवसर पाउँछौं । विशेषगरी ‘स्मृति’ क्यान्टाटाको कुनै अंश सुन्यौं भने त्यसले स्रोतामाथि स्मृतिको प्रतिक्रियालाई यसरी क्रियाशील बनाइदिन्छ कि स्रोताले विभिन्न स्मृतिहरुको अन्तरसम्बन्धलाई एउटा शान्त तलाउको पानीको सम्बन्धित सापेक्षमा बोध गरिदिन्छ । तलाउको पानी धेरै बुदहरुको समष्टिगत रुप पनि हो र त्यो कुरा स्वीकार गरेपछि नै तिनीहरुले एउटा तलाउको रुप प्राप्त गर्दछन् । शान्त तलाउमा एउटा सानो बु“द खस्दा त्यसको रेलीहरु सम्पूर्ण तलाउभरिमा फैलिए जस्तो, त्यसको प्रभाव परेजस्तो कुनै स्मृति आउदा अरु स्मृतिमा फैलावटको सम्बन्ध भएजस्तो ‘स्मृति’ क्यान्टाटाको सङ्गीतमा यस्ता तरङ्गहरु छन्, जसलाई सुन्दा तरङ्गको माध्यमद्वारा हामी अरु स्मृतिमा पुग्छौं । त्यसको प्रशारण रबरमा प्रशारण हुने भाइब्रेसनको जस्तो कम छ, गुरुत्वाकर्षण जस्तो बढी छ । सङ्गीतको प्रतिक्रियाको सूक्ष्म प्रक्रियाबाट गुज्रिएको यो क्यान्टाटा नया“ प्रयोगको आधारमा उत्कृष्ट छ । ‘कुन्जिनी’, ‘मुना मदन’ र ‘मालती मङ्गले’ गीतिनाटक मध्येमा ‘मालती मङ्गले’ मा उनको सङ्गीतको उत्कृष्टता हामी पाउँछौं । लोकलय र लोकसङ्गीत माथिको अम्बर गुरुङको अध्ययन र चिन्तनको कारणले ‘मालती मङ्गले’ गीतिनाटकको जस्तो विशिष्ट सङ्गीत सिर्जना सम्भव भयो । ‘मुना मदन’ गीतिनाटकको अम्बर गुरुङको सङ्गीतले विशेष गरी चाहिं अरुणा लामाको स्वरमा विशेष पूर्णता पाएको छ र त्यो खास गरी ‘मुनामदन’ गीतिनाटकको अरुणा लामाले गाएको केही विशेष गीतहरुमा लागु हुन्छन् र ती गीतहरु र तिनको सङ्गीत संयोजन नारायणगोपालको सङ्गीत र स्वर रहेको र गीतिनाटकको इतिहासमा एउटा इतिहास रचेको ‘मुनामदन’को सङ्गीतको समानान्तर छ । अम्बर गुरुङको ‘सयपत्री’ सिम्फोनीमा सङ्गीतको आरोह अवरोहहरुको यस्तो साङ्ग्रिलाहरुको निर्माण गरिएको छ कि त्यसमा नेपालको सामाजिक र सांस्कृतिक अन्र्तवस्तुहरु छर्लङ्ग प्रतिविम्वित भएको हामी पाउँछौं । सङ्गीत विशुद्ध भाव र संवेग मात्रको प्रतिक्रिया स्वरुप निर्माण हुने नभई सामाजिक र सांस्कृतिक चेतनाको आधारमा निर्माण हुने भएकोले सङ्गीतको सापेक्षित विशिष्टता हुन्छ । त्यस अर्थमा नै सङ्गीत मौलिक हुन्छ । नेपालीले नेपाली मौलिक सङ्गीत भनेर अनुभूत गरेको सङ्गीतलाई नै अरु सामाजिक, सा“स्कृतिक र राजनीतिक पृष्ठभुमि भएका स्रोताहरुले नेपाली मौलिक सङ्गीतको रुपमा स्वीकार गर्नुले कुनै पनि कला, साहित्य र सङ्गीतको सीमारेखा हुँदैन भन्ने कुरालाई अस्वीकार गरेको प्रष्ट हुन्छ । सङ्गीतको अन्तर्वस्तु मानिस र तिनीहरुको समाज र संस्कृतिबाट नै प्राप्त हुन्छन् भन्ने कुरा सधैं नया“ हुनु असामान्य कुरा हो । मानिसहरु गोरु लिएर खेततिर जा“दै गरेको, खेतालालाई खाजा लिएर मेलोतिर जा“दै गरेको, नीलो डा“डामा बादलको साना साना टुक्राजस्तो भेडाहरु र भेडा गोठालाहरुको सुसेलीहरुले गुन्जित वातावरण, हाटबजारको सिमित र शान्त कोलाहल, साइकल, गाडी र रेलको आवाज, स्कुल गइरहेको साना साना स्कुले केटाकेटीहरु, युवाहरुको आवेगहरु, चौतारीमा शीतल तापिरहेका वृद्धवृद्धाहरु, कतै घाम, कतै छायाँ, कतै पानी परिरहेको, कतै समथर फा“ट, कतै बारीमा मल घोप्टाएको जस्तो चुरे पहाड, कतै उपत्यका, कतै नीला पहाड र कतै दहीजस्ता सघन हिमाल, ढिलो र चा“डो कुदिरहेको बादल आदि ‘सयपत्री’ सिम्फोनीको अन्र्तवस्तुमा प्रतिविम्वित भएका छन् । ध्वनिको निर्माणमा भूगोलको महत्वपूर्ण भूमिका हुन्छ र ती ध्वनिहरुले आफु उत्पत्ति भएको समाज र परिवेशले निर्माण गरेको चरित्रहरु ब।ेक्दछन् । भौगोलिक विविधतामा उत्पादन हुने विविध ध्वनिहरु, त्यसको विविध प्रकृति र विविध विशेषताहरुको संयोजन मार्फत् ‘सयपत्री’ सिम्फोनीले सङ्गीतमा नेपालको भौगोलिक विविधतालाई विशिष्ट ढङ्गले प्रतिविम्वित गरेको छ । ‘सयपत्री’ सिम्फोनी यीनै अन्तर्वस्तुले एउटा विशिष्ट नेपाली सङ्गीत बनेको छ । पञ्चायत कालको अन्त्यतिर रचना गरिएको ‘मिर्मिरे’ सिम्फोनीमा सुरुमा ढिकी कुटेको, जा“तो पिंधेको आवाज, घट्टा चलाएको, त्यसपछि मिलको फित्ताको आवाज, अस्ताउ“दै गरेको जून र ताराहरु, झन् झन् चम्किदै गइरहेको पश्चिमको केही ताराहरु अन्तर्वस्तुहरुको विम्बको रुपमा आएका छन् । सङ्गीतको गुम्बजमा स्वयं आकाश रिमरिम उज्यालो भएर प्रकाशको स्रोतमा सङ्क्रमित भएर अँध्यारोबाट आकाश नीलो हु“दै गएको छ । सिम्फोनीको बीचमा घण्टाघरको घडीले गरेको चार बजेको सङ्केत, ठुलो भाले बासेको आवाज, त्यसपछि सानो भाले बासेको आवाज (सामाजिक र सांस्कृतिक रुपमा यसलाई अर्थ दिनुमा लैङ्गिक विभेदको सामान्यीकरणको मनोविज्ञानको अंश छ) र त्यसपछिको मानिसहरुको उठ्ने तरखर र तिनीहरुले उत्पादन गरेको विभिन्न ध्वनिहरु, झ्याल ढोकाबाट निस्किएको बत्तीको उज्यालोहरु थपिंदै गरेको यति थपिँदै गरेको कि बत्तीले नै संसारमा विहान हुन्छ जस्तो । सङ्गीत संयोजनको आधार, विम्बको बेजोड सिर्जना, सङ्गीतको प्रतिक्रियाहरुको प्रक्रिया र तिनीहरुमा स्थापित सम्बन्ध र निश्चित परिवर्तनको आग्रहहरुसहित विहान तर्फको प्रयाणको कारणले यो सिम्फोनी विशिष्ट छ ।

अर्केस्टाको अधुरो आख्यान
नेपालको सङ्गीतलाई चिनाउने अर्केस्ट्रा बनाउने अम्बर गुरुङको सपना नेपालको मौलिक बाजाहरुलाई लिएर हो । सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक रुपमा चरम विभेद रहेको समयमा नेपालमा उनले नेपाललाई चिनाउने अर्केष्ट्रा बनाउने सपना देखेका थिए । मानिस मानिसको समान स्तरमा संवाद हुने सम्भावना नरहेको अवस्थामा उनले विभिन्न वाजाहरुको संवाद गर्ने अर्केष्ट्रा बनाउने सपना देखेका थिए । अर्केष्ट्रा त्यो समूह हो जहा“ प्रत्येक अर्केष्ट्रल वाद्यवादकले कुनै निश्चित वाद्ययन्त्रमा आफुलाई समाहित गरी बढी भन्दा बढी अरु वाद्ययन्त्रस“ग संवाद गरी निर्दिष्ट सङ्गीत सिर्जनामा योगदान गर्दछन्, त्यसको अम्बर गुरुङले सपना देखेका थिए । नेपालको मौलिक वाजाहरुमा प्रखर वाद्यवादकहरुको एउटा अर्केष्टा बनाएर नेपालको मौलिक सङ्गीत अन्तर्राष्ट्रिय रुपमा चिनाउने सपना देख्ने र ‘हार्मोनियम ः प्रसिद्ध अभागी बाजा’ जस्तो निवन्ध लेख्ने अम्बर गुरुङले धेरै नेपाली बाजाहरु अभागी (भाग्यवादी अर्थमा होइन) भएको देखे । अहिलेको राष्ट्रगानमा धेरै बाजाहरु भयो भनेर आधाभन्दा बढी बाजाहरु सरकारले हटाउन लगाएको देशमा अम्बर गुरुङको अर्केष्ट्रा बनाउने सपना कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ जस्तो भयो ।

सिर्जना, समसामयिकता र त्यसको सामाजिक योगदान
एउटा निश्चित राजनीतिक व्यवस्थाको त्यही अनुरुपको भाषा, कला, साहित्य, सङ्गीत र संस्कृति हुन्छ । राजनीति विल्कुल यी संक्षेत्रहरुबाट अलग नभएर यिनिहरुको निरन्तर सम्बन्धहरुको प्रतिफलस“ग सम्बन्धित र निर्देशित हुन्छ । तर सर्जकको भूमिका राज्यको वातावरणकुलित व्यवस्थालाई टेवा दिने सिर्जना गर्नुमा छैन । नेपालको सय वर्षको लामो सङ्गीतको इतिहासमा अहिलेसम्म मानक स्थापना गरेको मानिएको सन्दर्भमा सबैभन्दा बढी रुचाइएका गायक, कवि—गीतकार र सङ्गीतकार त्यो समयबाट आउ“छन् जो तीस बर्षे निरङ्कुश पञ्चायतकालबाट प्रतिनिधित्व गर्दछन् र यो कुनै महान् संयोग पनि होइन । तत्कालीन राजा महेन्द्रको आग्रहमा अम्बर गुरुङ दार्जिलिङ (पुर्खौली घर गोरखा जिल्लाको रिसिङ) बाट नेपाल आए पनि जुन हदसम्म केही राष्ट्र सर्जकहरुले महेन्द्रको राष्ट्रवाद वा पञ्चायत पक्षधर सिर्जनामा ‘इतिहास’ रचेका छन् त्यो हदसम्म उनको कुनै पनि सिर्जनामा महेन्द्रको राष्ट्रवाद वा पञ्चायत पक्षधरता देखिदैन । अब आउने दिनमा अम्बर गुरुङलाई बिर्सिएन भने उनको उनले ‘आफुले प्रकाशन गरेको सिर्जना’मा महेन्द्रको राष्ट्रवाद वा पञ्चायत पक्षधरता देखिदैन भन्नु बढी वस्तुसङ्गत हुन्छ । उनको अप्रकाशित रचना र उनको बायोग्राफी आएमा त्यसले आफैं प्रश्न र जवाफ लिएर आउने छ । तर उनको सिर्जना महेन्द्रको राष्ट्रवाद वा पञ्चायतप्रति पक्षधरता नदेखिनुको हद मौनता मात्रमा पनि सिमित छैन बरु त्यो पञ्चायतकालको धेरै सर्जकको सिर्जनाहरुझैं काल्पनिक उदासीको मुड सिर्जन गरी समकालीन समस्याप्रति आखा चिम्लने अवस्थाको निर्माण गर्ने मनोविज्ञान र त्यसको स्थापना गर्ने ध्येय राख्ने सिर्जनास“ग सामेल छ । “म जान्दछु, यति धेरै भावुकता यो जीवनले हामीलाई मागेको स्पष्टीकरणको जवाफ होइन ।” भन्ने चिन्तन भएका अम्बर गुरुङ जस्ता सर्जकलाई पञ्चायतकालको निरङ्कुशतामा त्यस समयका अरु सर्जकको सिर्जनाझंै उनका सिर्जनामा भावुक गीतहरुको प्रमुख स्वर हुनु उनकै लागि ‘प्रश्नलाई पनि प्रश्न’ हो । उनको लोकशैली र अधिकांश आधुनिक गीतहरु बाहेक अरु गीतहरु नेपालको गीतको अन्तर्वस्तुको आम समस्या झैं सामाजिकताको सन्दर्भमा बढीमा अर्को एकजनासम्म मात्र पुगेका छन् र त्यो अर्को एकजना, प्रेमिका बाहेक अरु कोही पनि होइन । नेपालमा धेरै खराब गीत लेखिसकिएकोले अब उत्कृष्ट उपाय भनेको खराब गीत लेख्नुबाट आफुलाई रोक्नु हो भन्ने अम्बर गुरुङले थोरै राष्ट्रिय गीत लेखे, थोरै राष्ट्रिय गीतमा सङ्गीत गरे, थोरै राष्ट्रिय गीत गाए र ‘उत्कृष्ट उपाय’ व्यवहारतः लागु गरे । फेरि पनि अम्बर गुरुङले सङ्गीत गरेको ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ र ‘नेपाल आमा कहीं छौ घाम कहीं छौ छायाँ हे’ मा जुन सङ्गीत छ, त्यो राष्ट्रिय गीतको सङ्गीतमा हुनुपर्ने अन्तर्वस्तुको विपरीत स्तुति, उदासी र स्वप्नविहिनता जस्ता अन्र्तवस्तु निहित छन् । हाम्रो कतिपय राष्ट्रिय गीतहरु यस्ता छन्, जंगबहादुरको मुलुकी ऐन पढ्दा हामी एकसय पचास बर्ष पछाडि आज जसरी अद्भूत सङ्ग्रहालयको औचित्यलाई त्यस ऐनले पुष्टी गर्न योगदान दिएकोमा त्यसले सबैलाई उछिनेको वोध गर्दछौं, आउने पुस्ताले अहिलेको ‘राष्ट्रिय गीत’माथि राख्ने धारणा कस्तो हुनेछ भनेर अनुमान गर्न सायदै सक्षम छौं । बालकृष्ण शमको भौतिकवाद जस्तो राष्ट्रियता र भावुक मानवता समानान्तर धारणा होइनन्, यी धारणाहरु एकअर्कालाई कुनै विन्दुमा पुगेर चाडैं भेट्छन् र एकअर्कालाई भेट्ने वित्तिकै तत्काल काट्दछन् । पोलिस सङ्गीतकार फ्रेडरिक सोपेंझै अम्बर गुरुङ पनि यी दुई धारणाको पक्षधरतालाई लिएर आफ्नो विचारलाई आफैं काट्छन् । निकै अघि लोकगीत गाउँदिनँ भनेर पारिजातबाट कडा आलोचना खेपेका अम्बर गुरुङले आधुनिक गीत, गीतिनाटक, चलचित्रको गीत, क्यान्टाटा, क्वायर, सिम्फोनी, राष्ट्रिय गीत र राष्ट्र गानमा लोकगीतको अन्तर्वस्तुलाई चेतना सहित सम्मिलन गरेको कारणले नै ती विशिष्ट छन् ।

स्वर, शव्द, सङ्गीत र निबन्ध
शङ्कर लामिछानेको शब्द रचना ‘जसै साझ प-यो’ मा अध्यारोको सघनतालाई अम्बर गुरुङको सङ्गीत, स्वर र गायकीले एउटा छुट्टै क्षितिज देखाएका छन् जसले अभिव्यक्तिको सीमालाई अन्त्य होइन सुरुवात ठान्न अपिल गर्दछ । उनले ईश्वर बल्लभको गीत ‘यो जिन्दगीको के कुरा, सपना हो र के कुरा’मा क्षणभङ्गुरताको अस्तित्वले हरेकको सम्पूर्णतामा खेल्ने भूमिकालाई प्रस्तुत गर्न अद्भूत रिदमको संयोजन गरेका छन् । बैरागी काइँलाको ‘औंलाहरु चुमेर औंला भरि सलाम’ कवितामा जुन अनुराग र अपिल छ, त्यो उतिकै भावमा अम्बर गुरुङको सङ्गीत र स्वरमा आएको छ । अम्बर गुरुङको स्वरको विशिष्टता ‘उ पनि त कोही पराया होइन’, ‘म अम्बर हु“ तिमी धरती’, ‘नौलाख तारा उदाए’ ‘आसु र हासोको यो सङ्घर्ष जीवनमा’, ‘रातै भरि’ गीतमा हामी अनुभूत गर्न सक्छौं । ‘जसै केश तिमीले फुकायौ, हावा गजवस“ग लहलायो’ गीतले अनुरागलाई यति सरल ढङ्गले व्यक्त गर्न सकिन्छ भन्ने अम्बर गुरुङको गीत रचनाले पुष्टि गर्छ । अनौपचारिक शैलीमा सम्बन्ध, भावना र जीवन दर्शनमाथि गीतमार्फत् गहिरो अभिव्यक्ति दिनु उनको विशिष्टता हो । उनको दुइवटा गीतसङ्ग्रह ‘सम्हालेर राख’ र ‘अक्षरका आवाजहरु’ मा सङ्ग्रहित गीतहरुले सौन्दर्यबोध, गहिरो मानवीय भावना, उन्मुक्त कल्पना र संवेदनशीलताप्रति गीतको लागि आग्रह राख्दछन् । ‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ न’ ‘डा“डापारि हिउँ परेछ, डाँडावारि पानी’, ‘यी आ“खाबाट बगाइसकें कोशी कणाली’ र ‘मालतीमङ्गले’ गीतिनाटक जस्ता लोकशैलीको सङ्गीतले अम्बर गुरुङको सङ्गीतको विविधतालाई आकास दिएका छन् । हरिभक्त कट्वालको ‘पोखिएर घामको झुल्का भरी सङ्घारमा’ गीतमा जुन अनुराग र अपिल छ, त्योस“ग संवाद गर्न सङ्गीतको प्रतिक्रियामा अम्बर गुरुङले प्रिल्युडमा जम्मा तेह्र ओटा प्रक्रियागत ढङ्गले संवेगको उच्छलनलाई प्रविष्टि दिएका छन् । त्यसमा पनि जम्मा पा“च किसिमका अलग अलग संवेगका उच्छलनहरु छन् । सुरुको चार ओटा उच्छलन दुई उच्छलनको क्रमिक संवाद हुन् तर ती चार चोटी एकपछि अर्को गरी आउँछन् र तिनीहरु फरक दिशातिर अग्रसर छन् । पाचौं र छैटौं समान उच्छलनमा समान सपनाको तरङ्ग छ र सातौं, आठौं र नवौं समान उच्छलनमा विश्वसनियताको तरङ्ग र दशौं, एघारौं, बाह्रौं र तेह्रौं समान उच्छलनमा ती अघिको फरक फरक उच्छलनले चार समान उच्छलन निमार्ण गरेका छन् । यी अन्तिम चार उच्छलनले अनुराग र अपिललाई अरु सौन्दर्य थपेका छन् । ‘मेरो यो गीतमा जुन मूच्र्छना छ, त्यो तिमी होइनौ को भन्न सक्छ’ गीतको सङ्गीतमा उमङ्गको भब्य तरङ्ग छ । पी एल श्रेष्ठले गाएको ‘तिम्रो माया मेरो लागि आकाश भन्दा ठुलो हुन्छ’ गीतमा अम्बर गुरुङले सङ्गीतको लयमाथिको अनौपचारिकतालाई प्रयोग गरेका छन् । उनको निबन्ध सङ्ग्रह ‘कहा“ गए ती दिनहरु’ मा गएका दिनहरुको सम्झना मात्र छैन उनको साहित्य, कला, सङ्गीत र जीवनप्रतिको चिन्तन र दृष्टिकोणसहित आउने दिनको सपना पनि छ ।

राष्ट्रगानको सङ्गीत र त्यसको अन्तर्वस्तु
“अरु कलाकारले जस्तै सङ्गीतकारले पनि सङ्गीतको माध्यमद्वारा सामाजिक आवश्यकतालाई पूर्ति गर्दछ ।” भन्ने जर्मनी सङ्गीतकार अन्स्र्ट फिशरको भनाइ कतिसम्म वस्तुगत छ भन्ने नेपालको राष्ट्रगानको सङ्गीत सुनेपछि हामी बोध गर्छौं । त्यो कुन अर्थमा भने राष्ट्रगानको संरचनाको जुन शैली छ, त्यसले हामीलाई प्रवृति परम्परा बनेर एउटा संस्कृतितिर विकास भइरहेको आभाष दिन्छ । राष्ट्रगानको सङ्गीतमा जुन प्रयाण छ, त्यो बैसठी त्रिसठीको जनआन्दोलन प्रयाण हो । जनआन्दोलनको प्रयाणप्रतिको ऐक्यबद्धता र प्रतिक्रिया नै राष्ट्रगानको सङ्गीतको अन्तर्वस्तु हुन् । जनआन्दोलनले स्थापित गरेको मान्यता नै राष्ट्रगानको भाव हो । जनआन्दोलनको सम्पूर्ण उल्लास, दृढता, सङ्कल्प, विश्वास, पहिचान—एकता र सपना राष्ट्रगानको सङ्गीतको अन्तर्वस्तु हुन् । राष्ट्रगानको सङ्गीतको प्रयाणमा जुन आवेग छ त्यो नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवश्यम्भावीतिर लक्षित छ । राष्ट्रगानको सङ्गीतमा जुन प्रयाण छ, त्यो अग्रगामीतिर दृढतासहित अग्रसर छ, सुनौलो भविष्यको प्राप्तितिर केन्द्रित छ । यो राष्ट्रगानको सङ्गीतमा पारम्परिक राष्ट्रगानको सङ्गीतमा हुने स्तुित, अतिरञ्जित वीरता, भावुकता, इतिहासप्रतिको अतिशयीमोह र स्मृतिकेन्द्रित भाव जस्ता अन्तर्वस्तु नभएर इतिहासको सम्यक विश्लेषण, वर्तमान समयको आवाज, भविष्यको अग्रगामी परिवर्तनप्रतिको कार्यभार, सपना आदि जस्ता अन्तर्वस्तुहरु सन्निहित छन् । राष्ट्रगानमा अन्र्तनिहित ती अन्र्तवस्तुहरुले अग्रगामी परिवर्तनको लागि उद्दीपन गर्ने ऐतिहासिक जिम्मेवारीलाई बहन गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपाललाई चिनाउने अर्केष्ट्रा बनाउने सपना देख्ने, नेपालमा सङ्गीतमा प्रविधीकरणको आवश्यकता देख्ने, नेपाली क्यान्टाटा, क्वायर, सिम्फोनीको सिर्जना गर्ने अम्बर गुरुङको नेपाली सङ्गीतमा विशिष्ट योगदान छ । नेपालमा सङ्गीतको समालोचना गर्ने संस्कृति नभएको बोध गर्ने अम्बर गुरुङको सङ्गीत र सम्पूर्ण नेपाली सङ्गीतमाथि बहस हुनु जरुरी छ । स्रोताले आफ्नो सिर्जनालाई जुन मात्रामा लिनुपर्ने हो त्यो हदमा नलिएको प्रतिको गुनासो या इतिहास र भविष्यलाई समसामयिक चेतनाबाट अलग्याएर जड रुपमा हेर्ने दृष्टिकोणको उपज अथवा स्वैरकाल्पनिक सिर्जनाप्रतिको मोहमध्ये कुनबाट साहित्य, सङ्गीत र कलामा एनाक्रोनिस्टिक सोचको जन्म हुन्छ भन्नेमा संसारमा ठुलो मतमतान्तर भए पनि एनाक्रोनिस्टिक सोचले अन्ततः सर्जकलाई वर्तमान समयप्रति गैरजिम्मेवार बन्न र उत्तरदायी नबन्न सबैभन्दा ठुलो भूमिका खेल्छ भन्नेमा धेरै सहमत छन् । एकसय बर्षपछि कि एकसय वर्षअघि जन्मनुपथ्र्यो भनी आफैंप्रति एनाक्रोनिस्टिक धारणा राख्ने शङ्कर लामिछाने र अम्बर गुरुङ र अरु सर्जकहरु (जो आफैं आफुलाई एनाक्रोनिस्ट हु“ भन्दैनन्, यद्यपि ती सा“च्चिकै एनाक्रोनिस्ट हुन्) को सिर्जनामाथिको सम्यक समालोचना नै एउटा समयमा उनीहरुको सिर्जनामार्फत् समयले हामीलाई सोधेको प्रश्नको लागि हाम्रो जवाफ हुनेछ । त्यो नै उनीहरुको सिर्जनाको समसामयिकताप्रतिको हाम्रो स्वीकार्यताकोे उचित भुक्तानी हुनेछ ।


(लेख उपलब्ध गराइदिन संयोजन गर्ने नेपालनाम्चा मित्र शशी लुमुम्बु र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद । सं)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button