सिङ्गो आकास मेरो घरको दैलाबाट …
सन्दर्भःअम्बर गुरुङको ८३औँ जन्म जयन्ती
ज्ञानेन्द्र खतिवडा
त्यस दिनको उज्यालो आफ्नो आयुको अन्ततिर घर्कंदैथ्यो । साँझले आउनै लागेको कालो रातबाटै पैंचो लिएको कालो स्याहीसहितको कलमले आनो चाकरीको हाजिरीबहीमा आनै उपस्थिति दर्ता गर्न पनि नभ्याएको हुँदो हो । घर बाहिरको गेटमा फलामको छिट्कनी बज्यो । कोही आएको बुझेर म बाहिर निस्किएँ । साथी पुरणप्रकाश सिंह स्कुटरबाट ओर्लिएर साथमा लिएर आएका मानिसतिर औंलाउँदै भन्नथाले, ‘‘काकालाई लिएर आएँ । कालेबुङबाट आउनु भएको ।’’
मैले साथीका काकालाई नमस्ते गरें । र, घरभित्रै पस्ने अनुरोध गरें । मेरो सानो घरको सानो कोठाभित्र सोफा बनिन ढङ्ग नपुगेर वेढङ्गको रूप देखाइरहेको चियरमा बस्ने अनुरोध गरें ।
आमा बित्नुभएको दुई–चार वर्ष भएको साह्रै रित्तो घर । शुन्यता र रिक्तताले गिज्याइरहने हुँदा धेरै भएको थियो झ्यालहरू नखोलिएका । घरको उज्यालो आमासँगै पछ्याएर गएदेखि झ्यालहरू खोलिइनु र नखोलिइनुका बिचमा केही भिन्नता देख्दिनथें म । जतिखेर पनि अँध्यारै । बाबा ड्युटीबाट घर आइपुग्नुभएकै थिएन । बाबु छोरा मात्र भएको घर । म स्कुलबाट आएर घरभित्रै अँध्यारो र शुन्यताहरू बीच सुस्ताइरहेको थिएँ ।
पुरण आइपुग्यो काका लिएर । केही क्षण शुन्यताहरू कोठा–कोठाबाट भाग्नेभए । मैले पुरणका काकालाई केले स्वागत् गर्नपर्ने हो, त्यो नजानेर र नसुझेर एक तमासको छटपटीले सतायो मलाई । चुल्हा पसेर चिया बनाएर ल्याउने कलामा आफू चिल्लै। यसो सोचें, बरु घरै छेउ बिहारी भाइ बासुदेवको दोकानबाट चिया र बिस्कुट मगाएर काकालाई सत्कार गर्ने विचार गरें । पुरणले भन्यो, ‘‘तिमीले मेरो काकालाई चिनेनौ ?’’
मैले पुरणका काकालाई आजै त देख्दैछु । अन्त चिन्नु कसरी ! पुरण मलाई हेर्दै हाँसिरह्यो । र, फेरि भन्यो, ‘‘तिमीले नचिनेकै हो मेरो काका अम्बर गुरुङ….।’’
पुरणका काकाको नाम अम्बर गुरुङ रहेछ । कालेबुङबाट आउनुभएको । सायद बिरामी भएर कुनै नर्सिङहोममा डाक्टर देखाउनुु आउनु भएको होला, यस्तै सोच्दै थिएँ मैले । हुन पनि मैले आजै पहिलोचोटि देख्दैछु । यसभन्दा अघि पुरणले कहिले परिचय गराएको होइन । अन्त म कसरी चिन्नु ?
त्यसपछि भने पुरणले ‘साथी खतिवडा साँच्चै लठुवा नै रहेछ’ भन्ने ठानेर, अलिक ठूलो स्वरमा भन्यो, ‘‘सङ्गीतकार अम्बर गुरुङ, मेरा काका । साँच्चै तिमीले नचिनेकै हो त…’’ भनेर अनुहार पनि कच्याक्कुचुक पार्दै भन्दा पो म झसङ्ग भएर सोझै खुट्टा ढोग्न पुगेको थिएँ ।
महान् सङ्गीत वर्षने आकास मेरा घरभित्र…। पत्याइनसक्नु । त्यसमाथि पनि मेरो साथीको स्कुटरको पछि बसेर आउनु… झनै पत्याइनसक्नु ।
मेरो विचारमा नेपाली सङ्गीतको त्यो विशाल समुद्र कहीं मेरा घरभित्र अट्न सक्छ । मेरो विचारमा नेपाली सङ्गीतको त्यो सिङ्गो आकास कहीं मेरो मित्रको स्कुटरको पछिल्लो सिटमा अट्न सक्छ ।
तर, पुरणले यो असम्भवलाई सम्भव बनाएरै देखाइदियो । पुरणले यो असम्भवलाई मेरो घरभित्रै हुलेर देखाइदियो ।
म ब्युँझेजस्तो भो । मलाई यसबेला सालबारीभरि माइक लगाएर चिच्याउन मन परेको थियो, कि मेरो घरमा महान् सङ्गीतकार अम्बर गुरुङ आउनुभएको छ । मेरो घरमा नौलाखे तारा उदाएको छ । मलाई हल्लाखल्ला गर्न मन लाग्यो । छेउछाउमा कहीं कतै पूजाआजा वा बिहेबटुल हुँदो हो, म बज्दै गरेको माइक खोसेर भए पनि यो असम्भव कुरो सम्भव भएको खबर गाउँभरि दिने थिएँ–भइरह्यो मनमा ।
तर यो सालबारी हो । मेरो बाल्यकाल बितेको ठाउँ । यसको इतिहासमा चोर–डाकु, हत्या–हिँसा र ठग्नु–लुट्नु शब्दहरूभन्दा बाहिर यसले कुनै अर्को शब्द सुनेन, सोचेन । यसैले यो ठाउँ, जाति, भाषा–साहित्य र संस्कृतिभन्दा पहिले लुटको पैसा चिन्ने संस्कारबाट हुर्कियो । यहाँ अन्यत्रबाट अघिल्लो शताब्दीको अस्सी नब्बेका दशकतिर आएर बस्नेहरू पनि स्वभावले नै यतै हुर्किएका हुन् कि जस्ता देखिँदा भने म आफैं जिल्ल परें ।
यसैले त वर्षैपिच्छे साहित्यको शिखर पुरुष श्रद्धेय इन्द्रबहादुर राई पहाडबाट ठण्डा महिनाको घाम ताप्न सालबारीको आँगनमा आइपुग्नु हुँदा पनि सालबारीलाई लुतो न कन्याइँ । प्रतिभाहरूको पूजा गर्ने बङ्गाली जाति आँखाकै अगाडि छँदाछँदै पनि कहिले सिकेन यो सालबारीले । बरु सालबारीले ठण्डा महिनैपछि सालबारी घाम ताप्न झर्नुहुने आदरणीय इन्द्रबहादुर राईलाई पनि, “के तपाइँ जमिन खोज्दै हिँड्नुभएको हो… मसित सम्पर्क गर्नुहोस्’’ भन्दै फोन नम्बर दिनु बेर छैन ।
यसबेला आदरणीय अम्बर गुरुङलाई पनि जमिन खोज्दै खतिवडाको घरमा नौला मानिस पसे । र, कतिबेला गेटबाट निस्कन्छ र समाऊँ– भएर, बाटो ढुकिरहेको नहोला भन्नु छैन ।
जीवनमा पहिलोचोटि म यति महान् सङ्गीतकारलाई आनै घरभित्र पाइरहेको थिएँ । साथी पुरणको अनुहार हेरें । पुरणले कुनै पूर्व सूचनावेगरै मेरो घरभित्र अटाउनै नसक्ने प्रतिभालाई लिएर आयो । म पोखियौं कि बगौं भइरहें । म केहीक्षण बोल्नै सकिनँ । के गरौं र कसो गरौं भइरह्यो ।
मेरो अवस्था बुझेर पुरणले मलाई इशाराले बाहिर निकाल्यो र भन्यो, “काकाले बियर खानुहुन्छ ।’’
मेरा घरभित्र बियर । यो झन् हुनै नसक्ने प्रस्ताव राख्यो पुरणले । पुरणलाई थाहै छ मेरो घरमा बियर त के सिगरेटसम्म चल्दैन । म धर्मसङ्कटमा परें । पुरणका काकाभन्दा पनि यति महान् सङ्गीतकारलाई मैले आदर गर्नैपर्छ । त्यसपछि साथीका काकालाई पनि मैले आदर गर्नैपर्छ ।
एक मनले त सोचें, बाटाको छेउछावको कुनै दोकानमा बियर र सितनमा जे पाइन्छ त्यसैले सत्कार गर्छु । तर फेरि अर्को मनले भन्यो, होइन यस्ता कला–साहित्य–सङ्गीतका सर्जक स्रष्टाहरूलाई बाटो–घाटो र सहर बजारतिर बनिएको मञ्चमा बजारू फूलको गुच्छाले स्वागत् गर्नुभन्दा आनै घरको बारीमा फुलेको एक थुँगो फूल साँच्चै श्रद्धामिश्रित बन्नपुग्छ । त्यस्तै सहरका ठूलाठूला होटेल र रेस्तुराँतिरको स्वादिष्ट भोजनभन्दा आनै घरको छानोमुनि रुखोसुखो खुवाउनमा जुन तृप्ति हुन्छ त्यो साँच्चै सन्तुष्टिको पराकाष्टा हुन्छ । यही बुझेर मैले पुरणको प्रस्तावलाई सहर्ष स्वीकारें । अब अन्त कतै नलगी आनै घरको कोठाभित्र बियर र सितनद्वारा विशाल सङ्गीत सिताराको सत्कार गर्ने निर्णयमा पुगें । पुरणलाई एउटा झोला र पैसा हातमा थमाइदिँदै केही पर बियर पाइने दोकानबाट दुइवटा बियर र केही चनाभुजादि ल्याउने अनुरोध गरें ।
पुरण काकाका अघि नखाने । म झन् खाँदै नखाने ।
पुरणप्रकाशसिंहको घर प्रधान नगर सिलगढीमा । मेरै स्कुलको नजिक । घरबाट निस्कँदा नै पुरणले काकालाई मेराबारेमा केही भनेको हुँदो हो । भन्यो होला नै, ‘‘काका जाऔं आजको साँझ सालबारीमा बिताऔं । त्यहाँ मेरो एउटा साथी खतिवडाको घर छ । यहाँबाट झण्डै ६ किलोमिटर टाढामा पर्छ । सुकुनाकै छेउ । त्यो खतिवडाले अलि अलि कविता पनि लेखिटोपल्छ ।’’ यस्तै केही त भनेकै हुनुपर्छ पुरणले ।
यसैले त सङ्गीतबारे केही कुरा भन्नु हुँदाहुँदै काकाले भन्नुभो, “तपाइँ कवि हुनुहुँदोरहेछ । तपाइँका केही कविता सुनौं । म पनि एक दुइवटा गीत गुनगुनाउँछु । हामोनियम भए उत्तम हुन्थ्यो ।’’ मैले वरिपरि कतै हार्मोनियम पाउन नसकिइने कुरो राखें । कारण मेरो उमेरको यो कालखण्डसम्म मैले सालबारीमा कुनै दिन कसैका घराँ हार्माेनियम बजेको सुनेकै छैन । स्थितिलाई सकार्दै काकाले गिरीका दुइवटा गीत गुन्गुनाउनु भयो । आनै पनि गुन्गुनाउनु भयो । मलाई पुरणले हेरिरह्यो । मैले पुरणलाई । प्रतिभाबाट छहरा छुटे हृदय नछोला– भएर म त मख्खै परें । कोठाका चारै भित्तालाई मनमनै भनें, भित्ताका पनि कान हुन्छन् भन्ने भनाइ छ, जिन्दगीभर तिमीहरू अर्काकै कन्सुत्ली लागेर उभिरहेका छौ । छिमेकमा शत्रुता बढाउनबाहेक तिम्रा कानहरूले अरु केही गरेनन् भन्ने भनाइलाई तोड्दै आज हामीसित यी महान् सङ्गीतकारको गीत सुन । साँच्चै मैले यतिबेला भित्तालाई आदेशै दिएँ ।
“ल ल खतिवडाजी तपाइँका केही कविता सुनौं त अब…’’ गाउँदा गाउँदै बीचैमा काकाले भन्नुभयो । मैले काकालाई “तपाइँ मेरा साथीका काका । यसैले मेरा पनि काका । अब तपाइँ होइन मलाई तिमी भन्नुहोस् ’’ अनुरोध गरें ।
“ल ल काकाको वचन राख्नलाई तिमीले कविता सुनाऊ’’ पुरणले भन्यो । र पनि, मैले अलिक अप्ठेरो मान्दै आनाकानी गरेको बुझेपछि पुरणले मेरो अर्को कोठाबाट कविताको डायरी निकालेर ल्यायो । दुई बोतल बियरले काकालाई कता कता माई डियरजस्तै बनाइसकेको बुझेपछि मलाई पनि केही आँट आयो र, ‘ज्ञानेन तँ फक्ल्याण्डमा पनि मरिस्’ अनि ‘नफर्कनेहरू’ शीर्षकका दुइवटा कविता सुनाएँ ।
काकाले भन्नुभयो, “गीत लेख्नुभएको छ भने त्यो पनि हेरौं न । राम्रो रहेछ भने म सङ्गीत भर्छु ।’’
तर म कुनै गीत नलेखेको मान्छे परें ।
अहिले सम्झँदा साथी पुरणले मलाई गुण लगाएकै हो । त्यत्रा महान् सङ्गीतकारले मेरा घरमा दुई घण्टा बढी नै समय बिताउनुभयो । घरको दैलाबाट निस्किएर जानलाग्दा काकाले भन्नुभयो, “काठमाडौं आउनुहुँदा मेरा घरमा बस्ने गरी आउनुहोला । यहाँ तपाइँका मित्र पुरणसितै आउनुभए पनि हुन्छ ।’’
मैले यतिबेला “हुन्छ काका’’ भनें।
सिङ्गो आकास मेरो घरको दैलाबाट निस्किएर जानलाग्दा साँझ पनि बाक्लँदै जाँदैथ्यो । साँझको आकासबाट धेरै ताराहरू घुम्टो उघार्दै महान् सङ्गीत स्रष्टा धरतीको आकास स्कुटरको पछि बसेर घर फर्किरहेका हेर्दै थिएँ म सँगसँगै । पुरणले मलाई काका शब्द र काका नाता दिइराखेर काकाचाहिँ आफुसितै लिएर गयो ।
…
(लेख उपलब्ध गराइदिन संयोजन गर्ने नेपालनाम्चा मित्र शशी लुमुम्बु र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद । सं)