
मास्कबिनाको सौराह साहित्य उत्सव
रिर्पोताज
मणि लोहनी
चितवनमा ओर्लिएपछि मैले मास्क फुकालेँ ।
भरतपुरबाट टेम्पु चढेँ र सौराहा हान्निएँ ।
जंगल सफारी लजको लवीमा थिए– एलबी क्षेत्री, सुरेन्द्र अस्तफल, गणेश श्रमण र कविडाँडा साहित्य समाजका अन्य पदाधिकारीहरु । साँझको रंगीन सौराहामा उनीहरुको स्वागतले म रोमाञ्चित भएँ र मसँगै सौराहा अझ जगमगायो ।
कविडाँडा साहित्य समाजको १८ औं वार्षिकउत्सवका अवसरमा आयोजित विशेष र भव्य कार्यक्रमका लागि म चितवन पुगेको । तुलसी दिवस, भुवन ढुंगाना, कुन्ता शर्मा, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, मोमिलालगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सौराहा गुल्जार !
कोरोनापछि जुरमुराएको सौराहामा साँझ रंगीन । त्यसमा पनि साहित्यउत्सवका लागि मुलुकभरका लेखक–कविको जमघटले आत्मियता थपियो । मेरो लागि कोरोनापछिको यो पहिलो साहित्यिक उत्सव थियो । पछिल्लो ११ महिना म उपत्यकाबाहिर कतै साहित्यिक गतिविधिमा संलग्न रहिन । गत वर्ष मेरो छैटौं कृति ‘मृत्युको अघिल्तिर’ को विमोचनपछि म कतै साहित्यिक गतिविधिमा सरिक भइन । यसपाली कोरोना कहरको लामो सन्नाटापछि १४ फेब्रोबरीमा आफैले संयोजन गरेको प्रेम कविता उत्सवमा सक्रिय भएसँगै मेरो साहित्यिक गतिविधि सुरु भएको हो । प्रिय एलबी दाईको पछिल्लो तीन वर्षदेखिको आग्रह र अनुरोधलाई यसपाली बल्लबल्ल पुरा गर्ने अवसर मिलेको थियो ।
भोलिपल्ट विशेष समारोहमा तीन व्यक्ति निकै ‘हिट’ रहे । कविवर तुलसी दिवस, लेखक तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र युवा समालोचक महेश पौडेल । दिवसले मुलुकमा बेथिति र विसंगतिविरुद्ध कवि, लेखकहरूले मात्र निर्धक्क बोल्न सक्ने दावी गरे भने महेशले नेपाली कवितामा भइरहेका प्रयोग र उपलब्धिको व्याख्या गरे ।
‘लेखकले जहिले पनि आफूलाई लेख्नुपर्छ, आफ्नो ढंगले लेख्नुपर्छ । अर्काको सिको गरेर आफूलाई अर्काको अधिनमा राख्नुहुन्न, लेखकले स्वतन्त्र भएर लेख्नुपर्छ’, आफ्नो चिरपरिचित आवाजमा दिवसले भने । महेशले ‘कविताको गुणवत्ता र त्यसले पार्ने प्रभावका बारेमा ‘किनोट स्पीकर’ को रुपमा खुलेर बोले । उनले कवितामा प्रयोग एउटा निरन्तर प्रक्रिया रहेको बताए । ‘सार्थक प्रयोजन भएका प्रयोग स्थापित पनि हुन्छन् र अनुयायी पनि भेट्याउँछन् । तर फगत प्रयोगका लागि गरिने प्रयोगहरु बिलाएर जान्छन्’, उनको यही कुराले सहभागी धेरैको समर्थन पायो ।
कार्यक्रम अवधिभर चर्चामा रहेका अर्का व्यक्ति थिए– एलबी क्षेत्री । कार्यक्रमको सफलताको लागि उनको सक्रियता र विशिष्ट व्यक्तिहरुलाई सहभागी गराउन उनले गरेका प्रयासहरुको निकै प्रशंशा भयो नै । त्यो भन्दा पनि बढी जब उनले आफ्ना बारेमा बोल्न थाले त्यो निकै भव्य थियो । इमान्दार भएर हाकाहाकी जसरी उनले आफुलाई व्यक्त गरे त्यो निकै आकर्षक थियो । साहित्यको सेवा र सत्कर्ममा उनले गरिरहेका काम र त्यहि कामलाई बुझाउन उनले व्यक्त गरेका शब्दहरु सबै प्रिय थिए । सुनिरहँ जस्ता प्यारा थिए– ‘मैले आफ्नो उमेर कति भयो भन्ने बिर्सेको छु र युवाहरुसँगको संगतले झन झन जवान भएको छु ।’ उनले प्रष्टसँग भने, ‘र मैले आफ्नो यो समय साहित्यको उन्नयनमा लगाएको छु ।’ हल तालीले गुन्जियो । उनले त्यही मौका छोपेर आगामी दुई कामको उद्घोष पनि गरे– ‘अर्को वर्ष कविडाँडा साहित्य समाजले निबन्ध प्रतियोगीतासहित वार्षिकउत्सव मनाउने छ । र, हामीले चालीस वर्षभन्दा कम उमेरका सर्जकका लागि कविडाँडा युवा साहित्य पुरस्कार स्थापना गर्दैछौं ।’
वार्षिकउत्सवका अवसरमा आयोजित सबै सत्र विशिष्ट र उपलब्धिपूर्ण रहे । कार्यक्रमको सुरुमा संस्थाका उपाध्यक्ष उदय अधिकारीको स्वागत मन्तव्यले कविडाँडा साहित्य समाजका गतिविधि मात्र प्रष्ट पारेन । यसको संरचना र ध्येय पनि जगजाहेर भयो । कविडाँडाको विगत, वर्तमान र भविष्यको जानकारी भयो ।
‘समकालीन नेपाली कविता : कति आविष्कार, कति निरन्तरता ?’ माथिको प्यानल डिस्कसनमा कवि तीर्थ श्रेष्ठ, मोमिला, भूपिन, ठाकुर वेल्वासे र सुमन घिमिरेबाट महत्वपूर्ण र सारगर्भित विचार बाहिर ल्याउन सहजकर्ता राजकुमार बानिया सफल भए । नपत्याउँदो गरी प्यानल डिस्कसन निकै राम्रो र गम्भीर बन्न पुग्यो । कविहरुले पनि कुरा नचपाई प्रष्ट बोले भने सहजकर्ता बानियाले पनि निडर भएर प्रश्न गरेका थिए । सबैको निष्कर्ष थियो– आंशिक निरन्तरता स्वभाविक हो, तर सिर्जनामा नयाँपन भित्र्याउन लागि सर्जकहरु सदैव आविष्कारको पक्षमा उभिनु जरुरी छ ।
चितवनबाहिरका करिव दुई दर्जन श्रष्टा उपस्थित रहेको यो विशेष समारोहमा कविडाँडा साहित्य समाजले स्थापना गरेका विभिन्न पुरस्कारहरू पनि वितरण गरियो ।
कविडाँडा साहित्य सम्मान तथा देव खिना स्मृति पुरस्कार २०७७ बाट कवि एवम् निबन्धकार गायत्री श्रेष्ठलाई सम्मान गरियो । यो पुरस्कारको राशि ११ हजार १६० रुपैयाँ र सम्मानपत्र रहेको छ । कविडाँडा राष्ट्रिय साहित्य सम्मान तथा देव खिना स्मृति पुरस्कार २०७७ बाट कवि गोपाल पराजुली र कुन्ता शर्मा सम्मानित भएका छन् । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र रहेको छ । त्यसैगरी कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार रामबाबु घिमिरेको निबन्धसंग्रह ‘केन्द्र र परिधी’लाई दिइयो । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र छ । त्यस्तै कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’लाई दिइएको छ । यो पुरस्कारको राशि २५ हजार १६० रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस अवसरमा कविडाँडा साहित्य समाजले आयोजना गरेको कविता प्रतियोगितामा पुरस्कृतलाई सम्मान गरियो । प्रतियोगितामा तेह्रथुमका रोहित ढुंगाना प्रथम भए । ढुंगानाको सेतो तन्ना शीर्षकको कवितालाई निर्णायकले प्रथम भएको घोषणा गरे । उनले नगद १५ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी झापाका निरज दाहालले द्वितीय स्थान हासिल गरे । दाहालको भकारी शीर्षकको कवितालाई नगद १० हजार १६० रुपैयाँ सहित प्रमाणपत्रले पुरस्कृत गरियो । त्यसैगरी बाग्लुङकी अस्मिता पौडेलको प्रेमको इन्द्रेणी शीर्षकको कविताले तृतीय स्थान हासिल ग-यो । पौडेलले नगद ७ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीपको रक्तवीर र निशानीहरू, चितवनकी अमिता कँडेल आख्यानको संयोगले सुरक्षित म, मोरङका नगेन्द्र सुवेदीको मलाई बा जस्तै बन्नुछ, रौतहटकी रेणुका जिसीको प्रश्नसहित उभिएकी उहिलेकी एक अबला, अछामका लक्ष्मण संगमको झर्नु, अछामकै वीरेन्द्र जैसीको पहाड धानिरहेकी नारीको मनोदशा र कास्कीका संयोग वस्यालको न्याय उवाच शीर्षकका कविताहरू उत्कृष्ट १० भित्र परे । उत्कृष्ट १० भित्र परेका यी स्रस्टालाई नगद २ हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो । कार्यक्रममा उपस्थित पुरस्कृत स्रस्टाले आआफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमको अन्तिम सत्रमा कविता वाचन गरिएको थियो । तुलसी दिवस, भूवन ढुंगाना, गोविन्द बिनोदी, दिनेश अधिकारी, कुन्ता शर्मा, भूपिन, निमेष निखिल, सविता गौतम दाहाल, महेश कार्की क्षितिज, मनोज विश्वकर्मा, इश्वर कँडेल, टिका आत्रेय लगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रमको समापनपछि सौराहाको सँध्याकालीन भ्रमण, फोटो सेसन र रात्रिभोज पनि कम आकर्षक थिएन । खुशी र उल्लासले ठाँटिएका लेखक–कवि साँझको सौराहामा ज्वाजल्यमान देखिए । क्याम्पफायरको उज्यालोमा उज्यालिएको अनुहार, संगीतको जगजगी र कवि लेखकको नृत्यले सबैलाई उत्साहित बनायो ।
सौराहा पुगेको पर्सिपल्ट सबै आ–आफ्नो घरतिर फर्किए । हामी पनि बिहानको खाजा लिएर काठमाडौं फर्कियौँ । काठमाडौं पुगेर मोमिला दिदीको नयाँ गाडीबाट ओर्लिएपछि मैले अस्ती खोलेर गोजीमा राखेको मास्क झिकेँ र लगाएँ ।






