मेरो जन्मदिन र मलाई कविको रुपमा जन्माउने कविता

सुनिता खनाल

६ वर्ष पहिले कान्तिपुर कोसेलीमा मेरो ओ नायक शीर्षकको कविता प्रकाशित भयो । त्यही कविताले नै मलाई धेरैको नजरमा पारिदियो र एक कविको रुपमा मेरो पहिचान दिलायो । त्यस अर्थमा मलाई कविको रुपमा जन्माउने कविता हो ‘ओ नायक’ ।

कविता

के छुट्यो तिम्रो मुहारबाट ?

आधा फक्रेको गुलावी ओठमा आगो छ
झीलजस्तो आँखामा छ सपना झरेको पैह्रो
सधैँ हिमाल भइरहने नाकमाथि छ अस्ताएको घाम

के छुट्यो तिम्रो जिन्दगीबाट ?

हॉंगाहरू मध्ये अल्झिएको एउटा पात
अनि तिम्रा आँखाबाट खस्न लागेको पानी
एउटै रङको छ
यदि झर्‍यो भने मेरो मरुभूमि जीवनमा त्यो पानी
के मेटिएला तिर्खा हाम्रो प्रेमको ?

भन के छुट्यो तिम्रो हातबाट ?

छातीको त्यो ताप केले खायो
जसले पगाल्थ्यो हज्जारौँ चट्टान
तिम्रो त्यो अदम्य साहस
जो माटो चिरेर निस्कने
एउटा बीऊको सम्पूर्ण शक्ति बन्थ्यो
हिमालजस्तो निधार
जो भोकानाङ्‌गाहरूको निम्ति
तुफानी यात्राको प्रेरणा थियो

के छुट्यो तिम्रो हरफबाट ?

ओ नायक !
तिम्रो आवाज हिँडेको बाटो
डीलैडील फूलेका फूलहरू
तिम्रो गीतको लयमा उड्‌ने पुतली
तिम्रो कविताको गोहो पछ्‌याउने हज्जारौ योद्धा
तिम्रो प्रेम कथामा छुटेकी प्रियतमा
तिम्रो सपना बोक्ने गर्भ
सब पर्खिरहेका छन्‌
सब पर्खिरहेका छन्‌

भन, के छुट्यो तिम्रो सपनाबाट ?


कविताको बारेमा
मेरो कविताको नायकले आफ्नो नायकत्व निर्बाह गर्न चुकेको छ । कुनै निश्चित नायकहरुले हामी सबैलाई न्याय गर्न सक्छ जस्तो मलाई लाग्दैन । गणतन्त्रमा हामी सबै नायक हौं, नायक बनौं । नायकको नाममा खलनायक होइन । मेरो कवितामा नायक बनेर खलनायक आएको छ, जो यो देश बनाउनेहरु हुन । तर उनीहरुको पहिचान कहिल्यै बनेन । एउटा जबर्जस्त पहिचानको खोजी गरेको छ कविताले । अर्को अर्थमा केही जिम्मेवारी निभाउन चुकेको प्रेमी पनि हो ‘ओ नायक’ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button