
फर्क अब आफ्नै देश
विक्रम पवन परियार
हिमालजस्तो स्वाभिमान भएकाे
बुद्धकाेजस्ताे विचार भएकाे
म एक वीर गाेर्खाली हुँ ।
अदम्य साहस बाेकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्ताे फराकिलाे छातीमा
आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा ।
छाेडेर पर्देशमै हरियाे पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग ।
गाउँमा चर्किएका घरका भित्ताहरू
माटाेले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलाे बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो याे निश्चल आँखामा हिमाल हाँस्छ
डाँफे चरिका रङ्गिन प्वाँखजस्तै
रङ्ग्याउन बाँकी छ मेरो देशको सपना
र देशकाे खम्बा भएर बाँच्नु छ मलाई ।
लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेकाे गुँरासजस्तो
सगरमाथा चढ्ने आराेहीका पैतालाजस्ताे
हामीले यो युगकाे गीत लेखाैँ ।
अब खनौँ आफ्नै बाटो – कोदाली भएर
अब जोडौँ हजार सपनाहरू – पुल भएर
फर्क युवा हाे फर्क
याे देशकाे ईतिहास हामी आफैँले लेख्नु पर्छ ।
युग बदल्ने जोसिला पाईलाहरू
उर्जाशिल मुठ्ठीहरू
गाेलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा युगान्तकारी नक्सा कोरौँ
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हाे देश फर्क
हामी हाम्रो पिढीको लागि देश भएर बाँचाैँ ।
(७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा आज फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’मा प्रथम स्थान प्राप्त कविता)
।