लघुकथाकार डा. रवीन्द्र समीरका ५ मुक्तक
पुरस्कार
पछाडि मुड्की ताक्छन्
अगाडि भजन गाउँछन्
चिन्तन–लेखन थन्क्याएर
चाकडीमा धाउँछन्
साहित्यमा यस्तैयस्तै हुन्छ
कापल फुलेका / लौरो टेकेकाले
युवा पुरस्कार पाउँछन् ।
महानगर
हरियाली सकिएर राजधानी
पानीबिनाको बगर भएछ
मान्छेको भीडले प्रत्येक घर
निसासिँदो शहर भएछ
आकासिँदो महँगीले जनजीवन
धान्नै नसक्ने कहर भएछ
धुवाँ र फोहोरले वातावरण
मन्दमन्द जहर भएछ…
यति पुर्वाधार भएपछि
मरुभूमि होला भनेको काठमाण्डौं त
झन् महानगर पो भएछ ।
जागिर
दस सिटको जागिरमा
दस हजारले भार्दो रहेछ
योग्यताले भन्दा पैसा र
सोर्सफोर्सले काम गर्दो रहेछ
पढाई सकेर जागिर खाउँ भनेको
यहाँ त अनुभवको प्रमाणपत्र पनि
जन्मनासाथ ल्याउनु पार्दो रहेछ ।
बिडम्बना
स्कुलमा फेल भएकाले बोर्डिङमा पढाउँछन्
जनताका प्रतिनिधिले बजारभाउ बढाउँछन्
अपराधी नै मन्दिरमा फुल–प्रसाद चढाउँदछन्
खै ! देश कसरी उँभो लाग्ला ?
सिर्जनशील पाखुराहरु नै
भट्टीमा बसेर राजनीति लडाउँन् ।
रहस्य
पचास हजारको सुटबुट लाइएको छ
चिल्लो कारमा फाइभ स्टार धाइएको छ
लौन दलाल ज्यू !
एउटा गतिलो बंगला चाहिएको छ
पत्याउनुहोस/ नपत्याउनुहोस्
तीस हजारको जागिर खाइएको छ ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)