स्वागतले कवितामै भनिदिए, ‘तँ जा !’
© स्वागत नेपाल
म मान्छेहरुसँग गुनको हिसाब राख्दिनथेँ
तर जब तिमीले पनि आज सोध्यौ नि
आखिर मेरो लागि तैंले के नै गरिस् भनेर
अनि मैले पनि हरेक मान्छेसँग हिसाब राख्न थालेँ
बाँच्न त म पनि एक्लै बाँच्न सक्थेँ
तर सँगै बाँच्न खोजेको मात्र न हो
नत्र त मलाई पनि थाहा छ नि
मर्दा एक्लै मर्नुपर्छ भनेर
म आफैँ अचम्भित छु
कोमल हृदय भएको मान्छेलाई
तिमीले किन त्यति कठोर ठान्यौ भनेर
आज जवाफ मिलेको छ-
मनभरि पीर बोकेर पनि तिम्रोअघि
म चुपचाप चुपचाप हाँसिरहन्थेँ
र पो मलाई तिमीले ढुंगाको मूर्ति ठानेकी रहिछ्यौ
तिमी एउटा मतलबको नाता खोजिरहेकी थियौ
म त्यो नाताको मतलब खोजिरहेको थिएँ
अब भन्नु केही छैन
समय र शब्द साह्रै लोभ गरेर चलाउने बानी छ मेरो
त्यसैेले छोटोमा भनेँ-
तँ जा !
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)