एक सर्कोका लागि ठुटो चुरोट टिपेजस्तो लेख्न चाहन्नँ
प्रश्नहरु निर्मम । उत्तर फूलजस्ता । उनी मानिस फूलजस्ता । अक्षर-अक्षर जोख्छन्, भाव अझ बढी जोख्छन् । तोलातोलामा निकालिदिन्छन्, साहित्यको हिसाबकिताब । साहित्यका यी ‘अडिटर’लाई बडेबडे लेखक महान भनिदिन्छन्, डरले हो वा प्रेमले ! तर, उनकै शब्दमा उनी ‘लेखनदाश, साहित्यको गोठालो र उनलाई यही ठीक छ ।’ अशोक सिलवालले नेगेटिभ ट्युनका प्रश्नहरुले झटारे उनलाई । तर, उनी सधैं झैं मुसुमुसु । विशेष स्तम्भ ‘लेखक बोल्छमा नेपालनाम्चा प्रस्तुत गर्छ, राजकुमार बानियाँ ।
आफू किताब नलेख्ने, अरुको किताबलाई देखिनसहने एउटा प्रिय कलमकर्मीको अप्रिय परिचय भन्नु राजकुमार बानियाँ हो । साहित्यकै गाली-बेइज्जती कहिलेसम्म मित्र ?
नवीन विश्लेषणका लागि साधुवाद मित्र । जीवन्त साहित्य परम्परामा आलोचना हुनु स्वाभाविकै हो । खासमा त मैले समीक्षाभन्दा पनि पाठकीय मत व्यक्त गर्दै आएको हुँ । म समालोचनाको सर्जाम पुर्याउन सक्दिनँ । मेरो बौद्धिक झिटीझाम्टीले भ्याउँदैन पनि । म न प्राध्यापक–डाक्टर हुँ, न समालोचक–प्राज्ञ हुँ । केवल मामुली पाठक हुँ । मलाई थाहा छ- सामान्य पाठक प्रतिक्रिया गर्दा अब्बल साहित्य लेख्नेहरू तिलमिलाउँदैनन् । क्षेप्यास्त्रको जमानामा धनुकाँडसित किन डराउने ?
हो, मसँग अनन्त पाठकीय तिर्खा छ । तर कसैले दुई-चारवटा किताब छाप्दैमा, कसैले दुई-चारवटा पुरस्कार पाउँदैमा वा कसैको किताब दुई-चार हजार बिक्दैमा, कसैले सय-पचास प्रशंसक पाए भन्दैमा नेपाली साहित्यको जयजयकार त कसरी गर्नु मैले ? एक समय भारतीय नेपाली मित्र सुधीर क्षेत्रीले व्यंग्य कविता लेखेका थिए– ‘सम्माननीय अतिविशिष्ट कविलाई तिमी छुनै पाउँदैनौँ, मात्र कविता सुन्नु, कति मीठो भन्दै ताली मार्नू ।’ यही हो त तपाईंले खोजेको ? पक्कै होइन ।
मेरो लेखनलाई एकै ठाउँमा ल्याएर हेर्ने भने मैले गाली-बेइज्जती मात्र गरेको छैन, नयाँ, ओझेल परेका या राम्रा लेखकको परख पनि गरेको छु । हो, मैले पत्रिकामा छापेका कुरालाई किताबाकारमा ल्याएको छैन । म त्यसलाई आंशिक रुपमा स्वीकार गर्छु । गाली-बेइज्जती राजनीतिमा होला, साहित्यमा हुन्न । यसमा कलाबाजी हुन्छ, बौद्धिक प्रदर्शन हुन्छ । मलाई अहिलेसम्म कसैले गाली-बेइज्जती मुद्दा हालेको छैन । हालेमा पनि अन्यथा मान्दिनँ ।
तपाईं पत्रकार हो । र, तपाईं लेखक हो । तर, यी दुईभित्र भएर पनि दुवैतिर हराएको हो ? र, तपाईं निरन्तर लेखेर पनि फुटकर रचियता मात्र भइरहनुभएको छ । के त्यसैको कुन्ठा तपाईंका अक्षरमा अभिव्यक्त भएका हुन् ?
मैले लेख्न थालेको तीन दशक छुन लागिसक्यो । म किन लेखिरहेको छु भने पत्रकारिता पेसामा छु । यहाँ लेख्दै नलेख्ने पनि पत्रकार छन् तर म लेख्ने पत्रकारभित्रै पर्छु । कहिले सम्पादकको अह्रोटमा त कहिले खाली पाना भरका रुपमा । केही न केही लेखिरहेकै हुन्छु । लेखिरहने मान्छेलाई लेखक भने पनि हुन्छ । नेपालमा लेखक र पाठक थर मात्र विशेष सुविधामा छन् । तिनले लेख्नु पर्दैन, पढ्नु पर्दैन ।
मैले आफ्नै रहरमा लेखेका कुरा ज्यादै थोरै छन् । त्यसैले म आफूलाई लेखक नभएर लेखन्दास भन्न रुचाउँछु । सर्जकभन्दा जागिरे भन्न रुचाउँछु । तपाईंले भनेजस्तो मेरो परिचय दुवैतिर सग्लो छैन । न म अरु पत्रकारजस्तो छु, न त लेखकै जस्तो । मलाई फुटकर रचयिता मात्र बनाउने पत्रकार जीवन नै हो । पत्रकारलाई फोसामा फुटकर लेखक हुने ‘लक्जरी’ मिल्दो रहेछ । मलाई धेरै परिचय चाहिएको छैन । सबैले किताबै निकाल्नुपर्ने दरकार पनि छैन ।
तपाईं जेसुकै भन्नुस्, कुनै कृति या किताबमाथिको पाठकीय टिप्पणी कुण्ठा बिलकुलै होइन । हो, लेखक सेलिब्रिटी, ओहदावाल, पहुँचवाल, पुरस्कारवाल, विदेशबासी हो, त्यसकारण उसले लेखेको सबथोक राम्रो हो भनेर म ल्याप्चे ठोक्दिनँ । त्यस्तो ढिपी अरुले नै गरुन् । मेरो कसैसित लिनुदिनु हुन्न । र, म लेखक–कविको एक्लो अर्थमा विश्वास पनि गर्दिनँ । लेखकले नै पाठकलाई बुझाउन थाल्ने भने, कथावाचन र अर्थदोहन गर्ने हो भने त्यस्तो तानाशाही पाठकलाई स्वीकार्य छैन । तानाशाहीको विरोध राजनीतिमा मात्र हुन्छ र ! पुलिसले जस्तो डन्ठा लगाउने या कार्यकर्ताले जस्तो थपडी मार्ने काम सचेत पाठकबाट हुन्न । त्यस्ता लेखकको वरीयताक्रम भञ्जन भयो भने मलाई खुसी नै लाग्छ । न संसारको ग्यारेन्टी छ, न त व्यक्तिकै । तर साहित्यको अमरत्वको मात्र कसरी ग्यारेन्टी गर्ने ?
भाषामा कला मिसाएर चोटिलो लेख्ने तपाईं तर यताका यति धेरै वर्षमा एउटै किताब नलेख्नु, लेख्न नसक्नु वा लेख्न नचाहनुमा तपाईंको हिम्मत पक्ष कत्तिको कारक छ ?
दुई-चारवटा किताब बनाउनु नै लेखक हुनु हो भने चाहिँ म हिम्मतिलो ठहरिन्नँ । झन्डै तीन दशकको लेखनमा मैले किताब बनाउने रहर गरेको भए तीन दर्जन किताब बन्थे होलान् । मैले फुटकर रचनाको सिर्फ संकलन गर्न नचाहेको हो, हिम्मत नगरेको होइन । तर मैले बिलकुल नयाँ विषयमा नलेखेको चाहिँ सत्य हो । मिडियामा छाप्ने अनि १२-१५ लेख वटा पुगेपछि किताब बनाउने मार्का लेखक बन्न चाहिनँ । मैले लेख्दैमा त्यो साहित्य नै हुन्छ जस्तो पनि लाग्दैन । पत्रकारले लेखेका सबै समाचार अनि साहित्यकारले लेखेका सबथोक साहित्य हुन्छ भन्ने छैन । मलाई काम चलाउ लेखक हुनुभन्दा पाठक बन्नु नै प्रीतिकर लाग्छ ।
वर्षौंको जागिरे पत्रकारिता । तर, अहिले त त्यो पनि छैन । र, पनि किन तपाईंकै असंख्य पाठककै अपेक्षा तपाईंको पुस्तक किन आएन वा किताबै नलेखेर पनि नाम चलेकै छ भनेर एउटा किताब नभएको खास लेखकको ब्रान्ड निर्माणको मनोविज्ञानले काम गरिरहेको छ तपाईंमा ?
मीठो प्रश्न मित्र । मैले लेख्दै नलेखेको पनि होइन । पचासको दशकमा मैले दुई-चारवटा किताब हुने कथा, उपन्यास, कविता सबै विधामा मैले लेखेको पनि हुँ । तर तिनीहरूलाई समयमै प्रकाशित गर्न सकिएन । पुरानाको गोडमेल गरिरहने धैर्य मसँग छैन । कतिपय त मेरो संग्रहमा छैनन् पनि । पुरानो नछाप्ने, नयाँ नलेखेको हुँदा मात्र किताब नआएको हो । किताब नलेखे पनि नाम चलेकै छ या किताबबिनाको लेखक भएको छु भन्ने भ्रामक स्थितिमा म रमाउन सक्दिनँ । भविष्यमा लेखिने चाहिँ किताबमात्र नभएर कृति होस् भन्ने आकांक्षा छ ।
अरुको लेखनमाथि निर्मम टिप्पणी गर्ने तपाईं, आफ्नै लेखनलाई चाहिं कसरी हेर्नुहुन्छ ?
म त्यस्तो चामत्कारिक लेखक होइन । मेरो लेखन औसत नै छ । मेरो अभिप्रायः के हो भने औसत स्तरमा लेख्नेहरू पाठक बनेको राम्रो । उम्दा लेखनशैली भएकाहरू चाहिँ लेखकै बनून् । ‘यसो चिट्ठा परिहाल्छ’ कि या ‘ट्राई मारिहालौँ’ भन्ने मलाई लाग्दैन । मभित्र त्यस्तो अद्भुत र भविष्यसूचक प्रतिभा छैन पनि । म श्रेष्ठ कलाकृतिलाई मात्र साहित्य मान्छु । साहित्यका निम्ति लालायित हुने या पटके पठनमा लाने भनेको त्यसको भाषिक र शैलीगत मिठास या लालित्यले नै हो ।
मलाई के थाहा छ भने मसँग प्रतिभा, अध्ययन, अनुभव र साधना सीमित छ । एक सर्को धुँवाका लागि ठुटो चुरोट टिपेजस्तो साहित्य म लेख्न चाहन्नँ । भूपी र रिमालको कविता ‘रिराइट’ मात्र गरिएका साहित्यका जडौरीहरूमा आत्मरति गर्न पनि चाहन्नँ ।
टुक्राटाक्री मात्र लेखेर अरुको लेखनमाथिचाहिँ सिंगै प्रहार गर्ने के तपाईं एउटा बौद्धिक मनोरोगी त होइन ?
मजस्तो बबुरो पाठकको के-के टेस्ट गर्नुहुन्छ अशोकजी ! चाहे म लेखक हुँ कि होइन भनेर डीएनए टेस्ट गर्नूस् या मनोरोगी हुँ कि होइन भनेर मानसिक जाँच गर्नूस् । तर कुनै बेस्टसेलर या पुरस्कार प्राप्त पुस्तकलाई महान् साहित्य मान्दिनँ । पछिल्लो कालखण्डमा साहित्य सौन्दर्यको उपज हो भन्ने नै देखिएको छैन । साहित्यको बाँझोपन या नियोजनमा के खुसीयाली मनाउने खोइ ? अब्बल या उम्दाभन्दा पनि सस्ता सडक साहित्य लेखिँदै छन् धमाधम । तिनलाई पवित्र प्याला या ‘होली वाइन’ हो भनेर अनुगृहीत हुन सक्दिनँ । कसैको प्रसिद्धिमा मेरो आक्रोश या डाह केही पनि होइन । कसैप्रति अनास्था फैलाउन खोजेको पनि होइन । कतिपय लेखक टुक्राटाक्री मात्र लेख्छन् । तिनको साहित्यिक महत्त्व छ भने जहिले किताब निकाले पनि फरक पर्दैन । कहिलेकाहीँ किताबभन्दा टुक्राटाकीकै भाउ बढ्ता हुन्छ ।
असाध्यै प्रयोगवादी र निकै मनपराइएका लेखकहरू पनि तपाईंको बहुतै प्रशंसा गर्छन् । के लेखेर उनीहरूको प्रतिस्पर्धी बन्नु, उनीहरूलाई उछिन्नुभन्दा बरु उनीहरूकै प्रशंसाले पुलकित भइरहनु नै पर्याप्त छ तपाईंलाई ?
तपाईंले ठीक भन्नुभयो अशोकजी । मेरो लेखन मन पराउने असंख्य छन् । त्यसमा लेखक पनि छन् । कुनै किताब निकाली, कुनै पुरस्कार नपाई, कुनै ‘बेस्टसेलर’ नभईकन लेखक हुन पाउनु सन्तोककै विषय पनि होला । तर मलाई कुनै पनि लेखकसँग प्रतिस्पर्धा गर्नु छैन । म जहिले पनि आफैँसँगको प्रतिस्पर्धामा हुन्छु । मैले आफैँलाई उछिने पुग्छ । मैले आजीवन किताब नलेख्ने घोषणा गरेको छैन । तपाईंजस्ता शुभचिन्तक-हितैषीहरूको उत्प्रेरणा बटुलेर किताब नलेखूँला भन्ने पनि छैन ।
आफूले नलेख्दा लेख्नुपर्ने कुरा कति धेरै छुटिरहेका छन् भन्ने लाग्छ वा लाग्दैन ?
आफूले नलेख्दा धेरै कुरा छुटेकाजस्तो लाग्नु एउटा कुरा हो । तर एउटा लेखकले नलेखे पनि अर्कोले लेख्छ नै । एक कालखण्डमा नलेखिए अर्को कालखण्डमा लेखिनेछ । कहिलेकाहीँ त्यही छुटेको झोक म लेखकहरूसँग पोख्दो रहेछु । त्यसमा म आत्मालोचना गर्न चाहन्छु । आफूले पढ्न चाहेको कुरा अरुले लेखिदिएनन् भनेर म लेखक बन्न उत्प्रेरित नभएको चाहिँ सत्य हो । वास्तवमा म पाटेअल्छी रहेछु ।
नाम राजकुमार । र, राजकुमारै रहने ? लेखनको राजा नहुने ? लेखकको राजा नहुने भोक त होला नि भित्रभित्रै ?
यो बनाना रिपब्लिकमा राजकुमार नामको के अर्थ छ र अशोकजी ! राजा नै असान्दर्भिक भइसके । राजकुमारको के काम ? राज्यमा त अर्थ छैन भने लेखनमा को राजा, को राजकुमार ? प्रतीकात्मक लेखकको राजा बनाउने किताबले नै होला । मेरा लागि त्यो तपसिलमा छ ।
तपाईं भट्केको आत्मा हो ? वा तपाईंभित्र त्यस्तो फ्रस्टेसन छ, जसले तपाईंलाई लेख्न दिदैन ? के हो त्यो फ्रस्टेसन ?
मभित्र त्यस्तो मानसिक अवसाद होला पनि । किनभने म स्कुले जीवनमै लेखनमा लागेँ । मैले राम्रो पुस्तकको अध्ययन गर्न पाइनँ । राम्रो मेन्टर पनि पाइनँ । त्यस्तो खाले वातावरण पनि पाइनँ । परिवार, जागिर र साथीभाइको कुम्लो नै मेरानिम्ति भारी भयो । जागिरमा पनि मेरो त्यस्तो देखिने उन्नति केही भएन । यहाँ इमानदार हुनु पनि अवगुण हुँदो रहेछ । राम्रो लेख्नु पनि त्यति राम्रो होइन रहेछ । वास्तवमा मैले आफ्नो लेखनका लागि समय छुट्याउनै सकेनछु । ममा लेखक बन्ने कुनै महत्त्वाकांक्षा नै जन्मेनछ ।
मलाई के थाहा छ भने म मात्र होइन, धेरै फुटकर लेखकको मानसिक अवस्था त्यस्तै छ । मैले नेपालमा भएर लेख्न नसकेको हुँ भन्ने हो भने अमेरिका बसोबास गर्ने राजेश मिश्रले पनि सकिरहेका छैनन् । उनी मभन्दा धेरै राम्रा लेखक हुन् । अमेरिकामै पेशल पोखरेल पनि किताब लेख्न सकिरहेका छैनन् । त्यसैले आफूलाई स्वस्थ मानिस सिद्ध गर्ने कुनै बलियो आधार छैनन् मसँग ।
साहित्यकार मात्र छन्, साहित्य छैन रे । तपाईं यस्तै र यस्तै यस्तै अराजक बोल्दै हिंड्नुहुन्छ तर मान्छे त निकै भलाद्मी हुनुहुन्छ । यो विरोधाभास किन ?
मलाई भलाद्मी हुँ भने अराजक कसरी हुन सक्छु ? अराजक हुँ भने भलाद्मी कसरी ठहरिन्छु ? मैले कसैसँग व्यक्तिगत स्तरमा झैझगडा गरेको छैन । तपाईंले इंगित गरेको जस्तो मैले केही समीक्षा गरेँ हुँला, एकाध टिप्पणी गरे हुँला । विरोधाभास देख्नु तपाईंको नजरिया हो । साहित्य ठीकठाकै छ भने त मैले बोल्दैमा-लेख्दैमा के फरक पर्ला र ?
तपाईंले खाजेको साहित्य कस्तो हो ? एउटा केही लेखेर त देखाउनुस् । अनि बल्ल ठूला कुरा गर्नुहोला ।
तपाईं जबर्जस्ती लेखाउन नखोज्नुस् न अशोकजी ! पाठकका रुपमा म आनन्द र रसास्वादन दुवै गर्न चाहन्छु । पाठको उत्तेजनामा झुम्न चाहन्छु । म केवल शब्दको गठबन्धनलाई साहित्य मान्दिनँ । सबै लेखकले कथा, कविता र उपन्यासमात्र फलाकेर साहित्य जीवन्त हुन्छ र ? समीक्षा या समालोचना पनि साहित्यकै विधा हुन् नि । सिर्जनाका लागि प्रशस्त धैर्य चाहिन्छ । मसँग त्यस्तो फुर्सद पनि छैन । र, पनि ठूला कुरा नगर नभन्नु होला । मैले आफूलाई कहिल्यै सर्वोच्च लेखक मानेको छैन । वास्तवमा म साहित्यको गोठालो गरिरहेको छु । मलाई यही ठीक छ ।
मेरो तीखा र आलोचनात्मक प्रश्नले तपाईंको रिस कति माथिल्लो तहमा पुगेको होला अनुमान गर्न सक्छु । तर, माफ गर्नु होला । मैले त जस्तालाई तस्तै मात्र गरेको हो ।
रिस-राग, माया-ईर्ष्या मानवीय प्रवृत्ति नै हुन् । ममा त्यो छँदै छैन भन्ने दाबी कसरी गर्नु ? मलाई त्यसभन्दा माथि राख्ने चेष्टा किन गर्नुहुन्छ ? तपार्ईंले माने पनि नमाने पनि मेरो केन्द्रमा कृतिकार होइन, माउ पाठ हुन्छ । म बोक्रा हेरेर मख्ख पर्दिनँ । साहित्यको उजाड भूमि देखेर म कहिल्यै उल्लसित भइनँ । त्यसैले मैले एकरागको भञ्जन चाहिरहेँ । मेरो लेखनले कुनै झड्का दिन्छ भने आफ्नो सफलता मान्छु ।
म फगत अनुकरण या अनुकृतिलाई क्याबात् भन्न सक्दिनँ । अमूक वाद, विचार, दल, नेता, झन्डा र आन्दोलनको सेवालाई साहित्य मान्न सक्दिनँ । मैले लेखे पनि नलेखे पनि समयक्रममा गैर साहित्य वा गैर साहित्यकार साहित्यको राज्यबाट निकाला हुन्छन् नै । लेखकको एकतर्फी अनुभव र दृष्टिकोणसित मेरो भावनात्मक मेल खाँदैन । एक पाठक र अर्को पाठक, एक समय र अर्को समयको पठन बिलकुल भिन्न हुन्छन् । यस अर्थमा मैले साहित्यको सम्भावना, नवीन अर्थ र सौन्दर्य खोजेको हुँ । निषेध र मौनता भन्दा आलोचना धेरै ठीक हो । नयाँ साहित्यमा सुन्दरता भर्भराएर निस्कनुपर्छ । मौलिक भन्ने अनि पुरानैको ‘रिराइट’ हान्ने कुरामा मेरो सहमति छैन ।
अरु पनि केही कडक बाँकी छ भने भन्नु होला अन्त्यमा…
सिर्जनशील प्रश्नका निम्ति फेरि पनि साधुवाद !
सुन्दर प्रश्नको अतिसुन्दर जवाब | बधाई छ दुबै जनालाई |
prasna and ans dubai gajjab!
घर बनाउन नजान्ने, कहिल्यै घर नबनाएको मान्छेले त यो घर राम्रो, यो चाहिँ अलि मन परेन, यसको सट्टा यस्तो भएको भए हुन्थ्यो, बरु बाबुबाजेका पुरानै ढाँचाका घर राम्रा भनेर भन्न सक्छ, पाउँछ भने साहित्यका अध्ययनशील सुन्दर राजकुमारले जुन किताब पढ्यो त्यसलाई अति सुन्दर मानिदिनु पर्ने? के शासन सत्ताको विरोध गर्ने वा आदर्श राज्यको माग गर्न कुनै व्यक्ति मन्त्री, प्रधानमन्त्री हुनै पर्दछ? चर्चाका लागि लेख्ने कथित लेखकभन्दा पाठक प्रतिक्रिया भन्दै सन्तुलित समालोचना लेख्ने राजकुमार वानियाँ अति उत्तम!