गज्जब लेखे राप्रउले, प्रदीप गिरि के कम !
गहन पुस्तक, सही रूपमा ‘प्राज्ञिक उन्नयनकाे अभियानमा समर्पित’ पुस्तक !
अरविन्द रिमाल
पुस्तककाे बारेमा अभिव्यक्त भूमिकाकाे शीर्षकले पूरै पुस्तकीय समीक्षालाई नपढी नहुने बनाइदिएसँगै लेखकीय उद्गार,सद्विचार दुवै मनासीब, चित्तबुझ्दाे र सटीक लागेर आफूलाई राेक्न नसकेर हत्तारहत्तार व्यक्त गरिएकाे साधुवादका शब्द !
शब्दकाे सही अर्थमा भन्नुपर्दा अहिले सदाशयपूर्ण विचारविनिमयकाे विकट खडेरीकाे बेला छ । त्यसमा पनि आफ्नै सरकारले गरेका कतिपय गतिला कामबाट जनसमर्थन जुटाउन नसकेकाे सरकारका प्रधानमन्त्रीले आमचुनावबाट समुचित जनाधिकार खाेज्दा उनीमाथि खनिन महत्त्वाकांक्षी राजनीतिबाजहरुले माैका छाेपी सत्ता झम्टाझम्टीकाे वर्तमान दारुण जात्रा रचेका छन् । यसबाट परेकाे काेलाहल देशभरि मच्चिएको छ । फलस्वरूप जीवनका मूल्यमान्यताकाे उल्टाेपाल्टाे व्याख्या भइरहेछ । भ्रष्टाचार एवम् सत्ताबाजी राजनीतिकाे सहज मानदण्ड भएका छन् । वैचारिक तथा नैतिक मर्यादा, सहिष्णुता तथा सामाजिक सहनशीलता धरासायी भएकाे छ । पाखण्डीहरु साधुसन्त बन्न पुगेका छन् वा बनाइएका छन् । आतङ्की सदाचारी भइटाेपलेका छन् । हत्या- हिँसा- गालीगलाैच मानवाधिकारका पर्याय बनाइएछन् । यसले गर्दा सद्विवेकी जनका मनमस्तिष्क देशकाे अन्याैलपूर्ण वर्तमान र भविष्यबारेकाे चिन्ताले आहत छ ।
अत: सर्वत्र वैचारिक आघात परेका बेला आफूमा शीतलता ल्याइदिने पुस्तक पढ्न पाउनु पनि एउटा सुखद संयाेग ठान्नुपर्छ । अहिले चर्चाकाे विषय त्यही पुस्तक हाे, ‘विचार मीमांसा’ साथै, खासगरी भूमिमा लेखक प्रदीप गिरि तथा लेखक राप्रउ पाेखरेल दुवैले राजनीतिक – सामाजिक व्याधिबाट राहत पाउने शाब्दिक निदान केही समयकै लागि भए पनि हामीलाई प्रदान गरेकाले पनि याे पुस्तक त्यस्ताे भएकाे, निश्चय नै, हाे। यसकारणले गर्दा पनि हाे, यस्ताे सारगर्भित विचार मीमांसाप्रति उत्तिकै गम्भीर एवम् सुस्पष्ट विचार प्रस्तुतिद्वारा यस्ताे बाैद्धिक न्याय गर्ने सदाशयी चिन्तक, निर्भीक भइकन पनि निष्पक्ष समालाेचक प्रदीप गिरिबाहेक अर्काे खाेजेर पाउन असम्भव त थिएन हाेला, तर दुर्लभ तथा गाह्राे अवश्य नै थियाे, मेराे विचारमा ।
विभिन्न समयमा आफूले पत्रपत्रिकामा पढिसकेकाे लेख- रचना यस पुस्तकमा समावेश छन् । विषयहरुलाई धर्म- संस्कृति, व्यक्ति- व्यक्तित्त्व, साहित्य, विमर्श तथा विविध गरी पाँच खण्डहरुमा बाँडेर पुस्तकलाई पढ्न आकर्षक र सहज बनाइएकाे छ । त्यसमा पनि गिरिजीले भूमिकामा प्रत्येक खण्डकाे लेखविशेषकाे रसास्वादन गराएकाले पाठक पूरै पुस्तक गम्भीर भएर नपढिरहन सक्दैन ।
याे पुस्तक पढ्दै जाँदा विचार वास्तवमा कहिल्यै पुरानाे वा बासी हुँदैन भन्ने सत्यबाेध हुन्छ । मेरा सद्गुरुदेव स्वामी सत्यदेव २०५८ सालकाे असाेजमा हामीकहाँ बस्नुहुँदा एकदिन बिहानकाे सत्सङ्गमा मलाई टिपाउनुभएकाे एउटा सन्देश यहाँ सान्दर्भिक लागेर उद्धृत गर्दैछु: ‘उत्सवकाे आनन्द लिएर जीवन- यापन गर ! सबभन्दा ठूलाे पुस्तक मनुष्य जीवन हाे । जीवनलाई प्रस्टसँग पढ्दा तिमी आफैँ ज्ञानी हुनेछाै ।’ साँच्चै, समग्रमा याे पुस्तक ज्ञान प्रदान गर्ने पुनीत ध्येयप्रति नै लक्ष्यित छ । सरल जीवन शैलीका परन्तु उच्च विचार राख्ने लेखककाे सही परिचय पाइन्छ, यस पुस्तक पढ्दै जाँदा ।
राप्रउ पाेखरेल विदेशीकाे बुई चढेर ‘ज्ञानवान’ भएकाहरुका विपरीत आफ्नाे देशकाे माटाे सुँघ्दै, त्यसकाे सारमर्म बुझ्दै व्यावहारिक अनुभव हासेल गर्ने लक्ष्यमा हिँडेका एक निष्ठावान साधक हुन् । उनलाई गृहस्थ परिव्राजक भन्दा पनि अत्युक्ति हुँदैन । उनी देशप्रेमलाई वादभन्दा माथि राख्दछन् र उनकाे धर्म आध्यात्मिक चिन्तन हाे, मनन हाे भन्ने कुरा उनका विचारबाट सुस्पष्ट हुन्छ । उनी आफ्नाे कुरा राख्न हच्किन्नन् र दाेहाराे अर्थ लाग्ने पनि लेख्दैनन् ।
अतः ‘हिन्दु्धर्म-दर्शनप्रति उहाँकाे आवश्यकताभन्दा बढी लगाव र रूझान छआ भन्ने हरफलाई म त यसरी बुझ्दछु, अर्थात्, राप्रउ वैदिक दर्शनप्रति पूरै निष्ठावान छन, औंपचारिक धर्मभन्दा उठेका छन् । साँच्चै भन्दा, उनी आचार्यशङ्करकाे यस श्लाेककाे अवलम्बन गर्ने साधक हुन्:
‘अस्तीति प्रत्ययाे यश्च यश्च नास्तीति वस्तुनि ।
बुद्धेरेव गुणावेताै न तु नित्यस्य वस्तुन:।।’
(विवेक- चूडामणि, ५७३)
जसलाई स्वामी विवेकानन्दका यशश्वी शिष्य स्वामी रङ्गनाथानन्दले अङ्ग्रेजीमा यसरी अनुवाद गरेका छन्:
‘The affirmation of the theist that ultimate Truth is, and the negation of the atheist that the ultimate Truth is not, are only modifications of the mind and do not affect the Eternal Truth( of the Atman)।’
झण्डै पाँच दशकदेखिकाे हाम्राे मित्रतामा धेरैजसाे विषयमा हामी समान र साझा धारणा राख्दछाैँ । बहुभाषी तथा बहुसंस्कृतिले शाेभिएकाे हाम्राे देशकाे समग्र एकरूपता एवम् अखण्डताप्रति र तीमाथिकाे निरन्तर खतराप्रति हामी आफ्नाे धारणा राख्न चुक्दैनाैँ । तापनि राप्रउ यस विषयमा सात समुद्रपारी विदेशी शक्तिकेन्द्रका ‘बुद्धिकुण्ड’ भनिने संस्थाका दिग्गज सामुयेल हनगिङ्गटन तथा फ्रान्सिस फुकाेयामाजस्ताका पर राज्य- विस्थापनवादी तथा विभाजनकारी ‘सिद्धान्त’काे नालीबेली खाेली चिरफार गर्ने बाैद्धिक शल्यक्रियाविद् हुन् । याे कुरा उनकाे सानाे भइकन पनि अत्यन्त वजनदार ‘सर्वधर्म समभाव’ पुस्तकबाट प्रमाणित हुन्छ ।
विशेषगरी राजा महेन्द्र तथा राजनेता एवम राजनीतिज्ञका रूपमा विश्वेश्वरप्रसाद काेइरालाप्रति हाम्रा आफ्ना फरक अभिमत सुस्पष्टरूपमा सार्वजनिक तवरले राख्दा पनि हाम्राे मित्रतामा कतई कुनै घाउचाेट लागेन भन्ने उल्लेख गर्दा म भावाभिभूत नभइरहन सक्दिन ।
मेरा गुरुदेव भन्नुहुन्थ्याे: ‘हिजाेकाे चिन्तन र साेचमा मात्र भर परेर आजकाे बदलिँदाे परिस्थितिमा शान्ति र क्रान्ति सम्पन्न गर्न सम्भव छैन । त्यसैकारण सम्यक मनुष्यले यथार्थ साेच, माैलिक चिन्तन एवम् सङ्कल्पकाे प्रकाशमा आफैँ दीपक भएर अगाडि बढ्नु पर्दछ ।’ मित्र राप्रउ यही काँटका बाैद्धिक साधक हुन्, चरैवेति चरैवेति ! मा लागेका, ‘अप्प दीपाे भव’ प्रति निष्ठावान !
संक्षिप्तमा यस गहन पुस्तक, नयाँ साेच खाेजेकाले त पढ्नै पर्ने अनि अरु सहृदयी साहित्यप्रेमीहरुले पनि छुटाउन नहुने पुस्तक प्रकाशन गर्ने भृकुटी एकेडेमिक पब्लिकेशन्सले जुन बाैद्धिक गुन नेपाली समाजलाई लगाएकाे छ, त्यसका लागि उसलाई साधुवाद नदिइरहन सकिन्न ।
अन्त्यमा अथक वैचारिक साधकका याेगदानप्रति समुचित आदरस्वरूप जय नेपालकाे अभिवादन !