कहिल्यै नझुल्कने भगवान भयौ तिमी

ठाकुर बेल्वासे
कविता

एक्लै बस्नु
तिमीबाटै असुरक्षित हुनुजस्तै भयो

तिम्रो सम्झना
यति धेरै निर्दयी बन्छ कि
म झनझन् एक्लो एक्लो बन्छु
अनि तिमीबाट
हरतरह पिटिइरहन्छु, पछारिरहन्छु

एक्लोपनको
ठूलो व्योम निर्माण भएका बेला
सुनेँ तिमी आयौ

तिम्रै अनुपस्थितिमा
मलाई शून्यताले विस्तारै विस्तारै
वस्ती भन्दा बाहिर लादै थियो
मान्छे भन्दा भिन्नबनाउदै थियो
त्यसै बेला तिमी आयौ सुने
भर्खर काम सुरु गरेको
नयाँ डाक्टरले दिएको
कडा एन्टीवाइटिक खाएर केही क्षणमै
ज्यान चंगा भएको विरामी जस्तो
कपालका जराबाट
त्यसैत्यसै चिसो पानी ढाड हुदै
खुट्टाको बुढी औलासम्म बगेजस्तो
मन अनि शरिर शितल बन्यो

भर्खर सूर्यले आँखा खोल्दै थियो
हावाले कानमा सुस्तरी
तिमी आएको खबर सुनाएर
मात्तिदै जून भेट्न गयो

कसोकसो सिरक भिझाएछु
विस्तारा रुझाएछु
ऐना हेरे आखा शान्त थिए
अनुहारमा आनन्द र हल्का थकान थियो
सोचेँ तिमी आएको खबरले
मन थामिएन छ
हल्लाएँ सूर्यलाई एकछिन्
हत्केलामा
घुमाए पृर्वीलाई औलामा
केहीबेर
एक्लो पनको
ठूलो व्योम निमार्ण भएका बेला
सुनेँ तिमी आयौ

कहिल्यै नसम्झेको भगवानलाई सम्झे
तिम्रै कृपाले जन्मिएथे
सन्तानेश्वर भोले
आज तिम्रै कृपाले बाँच्दै छु

तिम्रो अनुपस्थितीमा
मान्छे मान्छेजस्तो नदेख्नु
सहर मरुभूमीजस्तो लाग्नु
लाग्यो तिमी सबथोक हौ
यो धर्तीलाई टाउकाले अडाउने
वासुकी नाग तिमी हौ

बार्दलीबाट
एकसाथ पूर्व उडेका
जोडी परेवा हरेर
तिम्रो तस्वीरमा
मनको भारी कति बिसाउनु

एक्लो हुनुको नयाँ रोग
ममा संक्रमण भएको छ
जसको औषधी तिमीमात्र गर्न सक्छौ
म दीर्घरोगी बन्दै गरेका बेला
सुनेँ तिमी आयौ

एकान्तमा सागरका छालहरु
कति अप्रिय थिए
विगत भुँइचालोजस्तो थियो
तिमी आयौ सुने
सिनित्त सुकाएर
मनभरि उर्लिएको महासागरलाई
वायु बनेर निस्किए
भेट्न तिमीलाई

हे राम
तिमी त कति व्यस्त
समय त बाङगो हिड्न थाले छ

तिम्रै अनुपस्थितीमा
मेरो गिदीमा
कस्तो हावा छिर्यो
मैले सबैसबै बिर्सिदिए
र तिम्रो उपासना गर्न थाले

म तिम्रो दीर्घउपासक
फेरि फर्कन्छु
उही शून्यताको व्योमभित्र

थाहा छ
भगवान पुज्नुको कुनै अर्थ छैन

कहिल्यै नझुल्कने
भगवान भयौ तिमी
म तिम्रो भक्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button