लीला अनमोलको ‘नचल्नु चलेपछि हल्ला’
कविता
यो विवाद मलाई प्रिय लागेको छ
तिमीसँगको सम्बन्ध फैलिएर शहरभरी
गफ गर्नेहरुको मुख्य बिषय बनेकी छु म
नचल्नु चलेपछि हल्ला
मभित्र तिम्रो याद झन गाढा भएको छ ।
साँच्चै किन चल्दैन यो बतास
मेरो आपतकालीन स्वास फेरेर तिम्रो वरिपरि ?
किन हिड्दैन यो गोरेटो
मेरो गन्तब्यको प्रमाण बोकेर तिम्रो अघिल्तिर ?
प्रदर्शनी गरिएको छ यो शहरको कुना काप्चासम्म
मेरो गोप्यताको सुन्दर चित्र
मेरो स्वतन्त्रताको हनन गरेर
रमाएका छन् सारा अखबारहरु
समाचारका बुलेटिनहरुमा
मेरै बिषय हेडलाइन भएको छ
किन लगाउन दिदैन यो दुनियाँ
मलाई मेरो जिन्दगीको निजी जुलुस स्वतन्त्र भएर ?
छातिभरी गुमनाम रहर बोकेर हिँड्नेहरु
जिन्दगी भ्रम हो साबित गरिरहेछन्
आफ्नै अनुहारको आँगनमा
तृष्णाको बिस्कुन ओछ्याएर हिड्नेहरु
नाटक गरिरहेछन ब्यवस्थित जिन्दगीको ।
नपाउनु पाएपछि तिम्रो मायाको प्रसिद्दी
एउटा छुट्टै आनन्दीको लहर बहिरहेछ मभित्र
चर्चै चर्चाको दहबाट
तिम्रो प्रेमको गुभो पलाएर
मेरो संसार हरियो भएको छ
मनोरम प्रतीत भएको छ हाम्रो प्रेमको प्रसङ्ग
चरैतिर टिप्पणीको राग गुन्जिएपछि
म तिम्रो प्रेमको मुटु धड्किन उद्वेलित छु
चुपचाप चुपचाप हिँडिरहेकी म
हल्लै हल्लाको साम्राज्यले छोपेपछि
दुनियाँको नजरबाट विमुख भएर मेरो सौन्दर्य
म केवल तिम्रै निम्ति फुलेकी छु ।