ठाकुर बेल्वासेलाई ‘छोडेर जानेहरु’

छोडेर जानेले
सजिलै भनिदिन्छन् बिर्सन

भत्कदै गरेका आखाँका डिल हेरेर
सजिलै हाँसिदिन्छन्

बग्दै गरेको मन हेरेर
भनिदिन्छन् –
छोडिदेऊ पुराना सब कुरा
भुलिदेऊ विगतका सारा सम्बन्ध
अनि नसम्झिदेऊ
हामीले खनेका ती बाटाहरु

मनभरि चैत–बैशाख बोकेर
छोडेर जानेले
हुरीलेजस्तो भत्काइदिन्छन्
आफन्तका सपना
अनि हावाजस्तो हराउछन्

छोडेर जानेसँग
खहरेजस्तो जोस
बालकजस्तो होस हुन्छ

हेलिएर खहरेमा
छोडेर जानेले
आफैले निमार्ण गरेको
सिंगो धरतीमा
बाढी पहिरो पसाएर
एकोहोरो हाँस्दै
ओरालो झरिरहन्छन्

मान्छेले जिन्दगीमा
बोल्नका लागि नयाँ साथी भेट्न सक्ला
बस्नका लागि नयाँ घर किन्न सक्ला
जोड्न सक्ला सम्पति
अनि बन्न सक्ला रातारात कुवेर

मन बुझ्ने आफ्नै जस्तो मन
कहाँ किन्न सक्छ मान्छेले

हाँसो , खुशी, माया अनि सङ्लो मन
मान्छेले चाहेर पनि किन्न सक्दैन्
सुदुर अध्यारोको पीडा देख्न सक्ने दृष्टि
पाइलै पिच्छे त्रास हाँसिरहने
बाटोमा हिड्न सक्ने आँट
कहाँ पाइन्छ पैसामा

सम्बन्ध टुटाएर जानेले
रातका ताराजस्ता आखाँ
युद्धको सिपाहीजस्तो आँट
सबै सबै छोडेर जान्छन्

छोडेर जानेलाई
बिर्सन कहाँ सकिन्छ र
ऊ बाच्ने सबै परिवेश यही छ
नसम्झन खोज्दा पनि
सम्झाना हावजस्तो आइहाल्छ

कसरी बाच्छ होला
छोडी जानेले
कसरी बाँच्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button