‘हामी हाम्फाल्ने कुन पोखरीमा होला ?’

डा. नवराज लम्साल

समय रातको उत्तरार्ध ! बिहान भइसकेकै छैन । ब्युँझँदा ३ जति बजेको थियो र नित्यकर्म सकेर बाहिर निस्कँदा करिब ४ । दायाँ बायाँ ठूला ठूला दुई पहाडको बीचको सानो खोँच । त्यही खोच चिरेर ससङ्गीत बगेको काली गण्डकी । नित्यनिरन्तर छ यसको सुमधुर रन्को र निर्विवाद बगाइ । अघिल्लो साँझ देखिएका ठूलाठूला ढुङ्गा पनि अँध्यारोमा पुरिएका छन्, सत्तामा हुँदा ठूलै हुङ्कार दिएर सत्ता सकिएपछि अस्ताएका शासकजस्ता ।

अँध्यारो शाश्वत हो र उज्यालो पनि शाश्वत हो तर प्राप्तिमा अँध्यारै धेरै हुन्छ । जसले त्यसलाई सप्रेम स्वीकार गर्छ, उसैको जीवन सार्थक हो । किन उठ्नु पथ्र्यो यति छिटै र निस्कनुपथ्र्यो बाहिर ? तर निस्कियौँ । मनमर्जीको मजा मनलाई न थाहा हुन्छ । त्यसैले भन्छन् नि यात्रामा जाँदा मन मिल्नेमिल्ने जानुपर्छ भनेर !

ढोका खोलेर बाहिर निस्क्यौँ । अन्नपूर्ण होटलको आँगन छोडेर अलि पर । बाटो कच्ची तर कच्ची मात्र होइन, डर लाग्दा ढुङ्गा र सानासाना डोबिल्का र खाल्टाहरूको सार्वजनिक भेलाजस्तो परिस्थिति । पुरै अँध्यारो छ परिवेश । पहिलो खुट्किलै ओर्लन कठिन आँगनबाट । मनको उत्साहले मात्र बाटाको अँध्यारो हट्दो रहेनछ ।

‘ला ! मोबाइल कोठामै छुटेछ । होस् चार्जमा छ, चार्ज भइरहोस् ।’ आफ्नो प्रश्न र परिस्थितिलाई आफैँले दिएँ छोटो उत्तर ! कालीगण्डकी आफैँ उठेर गाला चड्काउन आएजस्तो, चिसो सिरेटोले चस्स हान्यो गालामा, कानमा र निधारमा । हात पनि चिसा भए, औँला कक्रक्क । अनुमान लगाउन कठिन भएन, दुई गोडा चप्पलमै छन् । गोडा पनि बिस्तारै काठजस्ता होलान् कि भन्ने पीर !

जाकेटको फस्नर तानेर घाँटीसम्म पु-याएँ । टोपी तानेर कान छोपेँ । केही दिनअघि एकजना बहिनीले हातैले बुनेर उपहार दिएको टोपी । यो टोपीको सदुपयोग भयो, यस्तो सम्झेँ र टोपी बुन्ने ती नानीको औँला सम्झेँ । के सुर चलेर टोपी उपहार दिएकी होली । भन्थी– तिम्रो लामो कपाल मन परेन, यही टोपीले छोपेर हिँड, काट्न मनेनौ त ! आफ्नै छोरो कपालको ठूलो फ्यान भएपछि केलाई काट्नु ? लकडाउनमा दुई चोटि उसैले काटिदिएको कपाल !

किन होला जहाँ पुगे पनि घर, व्यवहार, आफू, आफन्त र यस्तै अनेकन कुरामा गएर मन अल्झने ? यही त जीवनको चक्र हो । कपाल, टोपी हुँदै घरबाट निस्कने बेला आयराले भनेको सम्झेँ– बाबा यो टोपी मन परेन, बेचेर आउनुस् है ! यतिखेर यही टोपी कति न्यायो भइरहेछ । जीवन बुझ्न तिमीलाई धेरै समय लाग्ने छ बुनू, टोपी त बेचुँला वा किनुँला तर टोपीले छोप्ने टाउकोमा भएको चिन्ता र चिन्तनको सीमारेखा कहाँ बेचुँला, कसरी बेचुँला वा ती बेच्ने नाउँमा आफैँ बेचिउँला कि ? कसलाई के थाहा जीवनको आयतन ?

‘नवराजजी केही बोल्नुहुन्न त !’ कृष्ण कुइँकेल दाइ बोल्नुभयो । राती अबेरसम्म खै केके केके गफ गरेर भुसुक्क निदाएथ्यौँ दुवै जना । एकै कोठामा भए पनि पहिले को निदायो ? दुवैलाई पत्तो छैन तर उहाँभन्दा अघि म उठिसकेको थिएँ । यति चाँडै बाहिर निस्कन कर लगाउने चाहिँ उहाँ नै हो । उहाँ प्रस्ट मान्छे, लागेको कुरा फ्याट्ट भन्ने, जो रिसाउँछ, रिसाओस् मतलब छैन । केही गर्ने भनेपछि गर्ने गर्ने ! १५ वर्ष भयो हाम्रो दोस्ती ! यस बीचमा उहाँको सबैभन्दा मन परेको कुरा प्रस्टता, अध्यात्मप्रतिको गहिरो अनुराग र संस्कृतिमोह ! मान्छे त छुचै हो तर मुखको छुचो मनको सफा !

‘लाइट भएन हगि ! पाँचसात मिनेट त हो !’, भरत खड्का दाइले आश्वस्त पार्नुभयो । भरत दाइ कम बोल्ने, बोल्नुभन्दा बढी मुसुक्क हाँस्ने, प्रायः उत्तर नदिने र प्रश्नहरूमै रमाउने ! प्राय मान्छेहरू आफू धेरै बोल्न मन पराउँछन् तर उहाँ सुन्न मन पराउने र बोल्दा पनि प्रश्नहरूमात्र गर्ने र आफ्नो निजी धारणा ‘रिजर्भ’ राख्ने ।

यी दुई जनाको दोस्ती कसरी जमेको होला ? एक जना बोल्दै नबोल्ने, कम बोल्ने र एक जना डाङडुङ ठोकिहाल्ने ! प्रकृतिमा आगो पानी मिल्दैन तर व्यावहारिक जीवनमा यी आगो र पानी स्वभावका दुई जना सप्रेम मिलेका छन्, हार्दिक छन् र सँगसँगै लामो यात्रामा छन् लामै समयदेखि ।

रविन राना र सुदीप भण्डारीलाई उठाएनौँ । रविन धेरै पटक आउनेजाने गरेकै केटो । सुदीप युवा इन्जिनियर उतै क्यारिएर बनाइरहेछ, उतै व्यस्त मान्छे । उनीहरू निदाइरहेछन् । मान्छे निदाएजस्तो खोला भने निदाउँदो रहेनछ, हावा निदाउँदो रहेनछ र समय पनि निदाउँदो रहेनछ । आ–आफ्नै गतिमा छन्, गन्तव्यको खोजीमा छन् । हामी अँध्यारो चिरेर अघि बढ्न खोजिरहेछौँ ।

कृष्ण दाइले मोबाइल बाल्नु भयो झिलिक्क र बीचमा उभिनुभयो । दायाँ बायाँ भरत दाइ र म । खोलाको गुनगुन बिर्सेर हामी आफू–आफू गुन्गुनाउन थाल्यौँ । गुन्गुनाउँदै दश मिनेट हिँडेको के पत्तो ! त्यही दश मिनेटमा पनि संसार आए गफमा । वर्तमान राजनीति, प्रधानमन्त्रीको कदम, प्रचण्ड–माधव नेपालको आन्दोलन, कुनै वामपन्थीसँग नमिसिने र एक्लै आन्दोलन गर्ने काँग्रेसको शैली, देशको अर्थतन्त्र, विकास, यहाँको बाटो, होटल व्यवस्था र देवकोटाको कवितासमेत केही बाँकी रहेन । एउटाको कुरो अर्कोसँग नमिले पनि सबैको कुरो सबैले सुन्ने यो बानीचाहिँ हाम्रो पुरानै हो ।

मूल बाटो छोडेर बायाँ मोडियौँ । बायाँको पनि वायाँ फर्कने बित्तिकै सानो चिटिक्क परेको गेट छ फलामको । फलामे बारले घेरिएको छ अलि परसम्म । मोबाइलको उज्यालोले देखिन्छ त्यहीँ झुन्डिएको एउटा बोर्ड तर प्रस्ट देखिन्न अक्षर । सानो उज्यालोले कहाँ जित्न सक्छ र बाक्लो अँध्यारो ! छेउतिर ससाना कोठाजस्ता छुट्टाछट्टै आकृति छन् तर केको आकृति हो छुट्टिन्न । लस्करै उभियौँ तीनै जना । त्यसै गरी बगिरहेछ कालीगण्डकी र बगाइको गतिमै ऊ उसैगरी सुसाइरहेछ बगाइको सरगम । हामी आफै पनि त राजधानीको भीड छोडेर बग्दै पुगेका हौँ त्यहाँ । नदी कहिल्यै रोकिन्न तर हामी भने बेलाबेला बग्दै रोकिँदै, रोकिँदै बग्दै हुन्छौँ । ऊ ढुङ्गा, बगर र गेगर सहज रूपमा पचाउँछ हामी असहजपन सहज तरिकाले स्वीकार गर्न सक्तैनौँ । त्यसैले ऊ नदी छ, बगिरहन्छ, हामी मान्छे छौँ, अस्थिर छौँ र बेलाबेला आत्तिरहन्छौँ ।

सानो फलामे गेट छ । चारैतिर सुनसान र शान्त छ वातावरण । त्यो शान्तिमा कालीगण्डकीको सुसेली एक्लैले रजाइँ गरेजस्तो, उही मात्र बोलिरहेछ, साँसाँसुँसुँ । भरत दाइले ढोका खोल्न कोशिश गर्नुभयो । हामी दुई साक्षी बस्यौँ । छेस्किनसम्म नलगाएको गेट खोल्न के गाह्रो ! तर, खोल्ने ठाउँ नै पत्ता लागेन भने सानै कुराले पनि भतेर अड्किन्छ नि ! बल्ल ढोका खुल्यो खुत्रुक्क ! अगाडि देखापरे साना साना दुई पोखरी । प्राकृतिक होइन । मानव निर्मित पोखरी । दुवै पोखरी अगाडि धाराहरू रहेछन् । बनिबनाउ पर्खालको भित्तामा बनिबनाउ धारा । एउटाको नजिकै पुगेर यसो हात थापेँ, तातो रहेछ । कठ्याङ्ग्रिदो हातको चिसो भागेजस्तो भो । वाह ! प्रकृति !

तर, परिवेश अँध्यारै छ । कृष्ण दाइको मोबाइल गोजीमा बास बसिसक्यो । ‘दाइ सस्तो मोबाइल किनेँ भन्नुहुन्थ्यो तर आज महङ्गै काम दियो नि !’ मेरो भनाइ सकिन नपाउँदै तीनै जनाको हाँसो गएर कालीको सुसाइमा मिसियो ।
नआउनु आइसकेपछि अब किन ढिलो गर्ने त ? पछि अरू मान्छेहरू पनि आउलान् । ल, फुकालौँ लुगा ! तीनै जनाले लुगा फुकालेर डिलमाथि राख्यौँ । नाङ्गो शरीरमा हावाको स्पर्श कम्ता चिसो होइन । अग्लाअग्ला पहाड हुँदै आएका ती हावासँग हिउँको स्पर्श छ । हिमाल र पहाडी सौन्दर्य हेर्न, फोटो खिच्न, वाह ! भन्न र कविता लेख्न मात्रै सुन्दर हो । त्यहीँ बसेर जीवन निर्वाह गर्न कति कठिन छ, त्यो त त्यहीँ बस्नेलाई थाहा हुन्छ । शिक्षा, स्वस्थ्य, अन्न अनाज, अन्य उब्जनी, खानपान, बाटोघाटो, शहरी सम्पर्क, सूचना आदान प्रदान र राज्यसत्तामाथिको पहुँच ! जीवनका यी सारभूत कुरासँग सौन्दर्यमात्र कसरी जोडिन्छ र ? सौन्दर्य खाएर अघाइने होइन रहेछ । अघाएकाहरूलाई सुन्दर लाग्नु सौन्दर्यको विशेषता रहेछ शायद ।

चिसो, अँध्यारो र अँध्यारोमा देखिने तन्द्राङतुन्द्रुङ छाया ! धाराबाट खसेको पानीकै पनि छाया छ अलिपर । पोखरीको पानी मौन छ । पोखरीको पानीमा बयेली खेल्ने गरी हावा चलेको पनि छैन । अलि माथि, बाटै माथि एउटा बोर्ड छ, इलेक्ट्रिक बोर्ड । त्यसबाट आएको झिनो उज्यालो एउटा पोखरीको कुनापट्टि हल्का हल्का देखिन्छ । धेरै अँध्यारोमा थोरै उज्यालो परेपछि उज्यालोकै उपस्थितिमा पनि शङ्का लाग्दो रहेछ । चारैतिर एक फन्को मारेपछि आँखा पुग्यो पोखरीमा ! पोखरी दुइटा । कुन गहिरो, कति गहिरो वा सामान्य छ ? सोचेँ – हामी हाम्फाल्ने कुन पोखरीमा होला ? जिउ चिसो भइसक्यो, चिसो मात्र होइन धेरै चिसो भइसक्यो । तीन जनाका लुगा पोखरीको डिलमा तीन थुप्रा भएर बसेका छन्, पहाडको हिउँदे बारीमा लहरै बसेका मलका थुप्राजस्ता ।

मैले भनेँ– ‘भरत दाइ कुन पोखरीमा पस्ने हो ?’ उत्तर नआउँदै कृष्ण दाइ फुत्तै प्रवेश गर्नुभयो दायाँ पोखरीमा । बाँकी हामी दुई भाइ रह्यौँ ।

मङ्गलबार बिहानै भरत दाइले फोनमा भन्नुभयो– दुई दिनजति बागलुङ, म्याग्दीतिर घुम्न जाऔँ हिँड्नुस् ।

‘केही कार्यक्रम छ र दाइ ?’

‘के कार्यक्रम चाहियो ? सधैँ औपचारिक कार्यक्रममा गयो, पुग्न हतार, कार्यक्रम गर्न हतार, फर्कन हतार ! दुई तीन दिन अफिसमा छुट्टी मिलाउन सक्नुहुन्छ भने जाऔँ । फ्रेस भइन्छ । गफ गर्दै जान पाइन्छ, जाऊँ भोलि बिहान ।’

‘दाइ, दिउँसोमात्रै भन्न सक्छु ।’

‘तपाईँ जान मिल्ने हो भने बिहानै जाऔँ । सात बजे थानकोटबाट बाहिरिसक्ने गरी !’, भरत दाइको यो भनाइबाट फोन टुङ्ग्यायौँ ।

भरत दाइसँग झन्डै दुई वर्ष अघि वेत्रावती गएको थिएँ । रामकृष्ण गुरु, कृष्ण दाइ र मसहित चार जना थियौँ । वेत्रावती उत्तरगया तीन नदीको संगम, विचित्र सौन्दर्य ! यो भव्य सांकृतिक महिमालाई उजागर गर्न उहाँ अत्यन्त चिन्तित । त्यसलाई नेपालकै प्रमुख तीर्थस्थल मध्ये एक बनाउने लक्ष्य रहेछ । समुद्र मन्थनपछि हलाहल विष पिएका शिवजीसँग जोडिएको कथाप्रसङ्ग । शिवजीलाई कष्ट भएपछि वेतको लौरो टेक्दै पहाड चढेको सन्दर्भ, त्रिशूल धारा, गोसाइकुण्ड र गोसाइँकुण्ड महिमा ! बाटाभरिका कथा थिए हाम्रा ।

त्रिशूली नदीको त्यो मोहक ठाउँ । रसुवा र नुवाकोटको साँध । एकीकरण कालमै चर्चित नुवाकोट, त्यतै नजिकै धैवुङ । केरुङ । चीनसँगको नजिकको नेपाली नाका । यसलाई साँच्चै उत्तरगयाकै रूपमा विकास गर्न सके मानसरोवर जाने भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच । झन्डै एक करोड खर्चेर जग्गा व्यवस्था गर्नुभएको रहेछ भरत दाइले । निर्माणको नक्सा र योजनाका खाका तयार रहेछन् तर काम शुरु भएको छैन । सबै कुराको समय आउने रहेछ क्यार !
प्राकृतिक छटा र सांस्कृतिक धरोहर ! त्यहाँ पुग्दा म आनन्द विभोर भएको थिएँ । एकदिने यात्रा थियो तर मनमोहक ! मलाई त त्यो मोहक दृष्य हेरेर एक रात त्यतै बिताउने मन थियो, त्रिशूलकिो स्वर सुनेर तर मैले केही भनिनँ त्यसदिन ।

आज बागलुङ, म्याग्दीतिर जाऔँ भन्दा त्यहाँ पनि कुनै धार्मिक स्थलको योजना, आयोजना छ कि ? केही हेर्न, हेराउन हो कि भन्ने पनि लागेको थियो । उहाँ आफैँले भन्नु भएको थियो कुनै कार्यक्रम छैन । यात्रा मात्रै हो । देश दर्शन मेरो रुचिको पहिलो शर्त । देश नदेखी देश नपढी र देश नबुझी न साहित्य, न संस्कृति, न राजनीति ! यसरी घुम्ने कुरामा मलाई अत्यन्त प्रेम छ । भरत दाइसँग थोरै भेट हुन्छ, कहिलेकाहीँ भेट हुन्छ तर भेटेपिच्छे रमाइलो लाग्छ । उहाँका जीवनका कथा उहाँसँगै होलान् तर हर भेटमा उहाँ त्यसै गरी मुस्काउनु हुन्छ, जसरी पहिलो भेटमा मुस्कुराउनु भएको थियो ।

अलिकति कुरा सुटुक्क भनूँझैँ लाग्यो । २३ वर्षकै उमेरबाट जनप्रतिनिधि भएदेखि पेशा व्यवसायको सिलसिलामा कालापानी टिङ्कर भञ्ज्याङदेखि दार्चुलासम्मको यात्रा र यात्राका अनेकौँ अनुभवहरूको एउटा सिङ्गो सँगालोको नाम भरत खड्का ।
हाम्रो भेटको सूत्राधार कृष्ण कुइँकेल दाइ । कृष्ण दाइ पनि भरत दाइको ठूलो प्रशंसक !

‘दाइ, गयौँ भने हामी को को जाने ?’, मैले सोधेको थिएँ ।

कृष्णजी, तपाईँ र म । एउटा इन्जिनियर भाइ उतै जाने हो सँगै जान्छ । फर्कँदा हामी मात्रै हुन्छौँ । यात्रामा रमाउने केही नाम थप्ने मनलाई मनमै कैद गरेँ । अरू साथी पनि थपूँ भन्न सकिनँ । यात्रा झन् रमाइलो हुने केही मान्छेलाई भन्दै भनेनौँ ।

७ बज्दा नबज्दै थानकोट काट्यौँ । निश्चित समयमा निश्चित ठाउँमा पुग्नै पर्ने केही थिएन तर यात्रालाई अध्ययनको पाटो बनायौँ । कोभिड १९ को प्रकोपपछिको यात्रा । माघे सङ्क्रान्तिमा सुर्खेत पुगेर फर्केपछि काठमाडौँ छोडेको दोस्रो अवसर । मलाई समय, समाज र मान्छे पढ्नु थियो ।

नौबीसे झरेर सेल खाँदा थाहा पायौँ पुरानै सङ्ख्यामा पाक्न थालेछन् सेलहरू । मुग्लिनमा मनकामनाको भनिने सुन्तलाको थुप्रो देखेर थाहा पायौँ मजैले बिक्न थालेछन् सुन्तलाहरू । पसलपसलमा उस्तै छ भीड । कास्की पुगेपछि लाग्यो उसैगरी खुलेको छ पोखरा । माथि नागडाँडामा उति नै काटिन थालेछन् बोकाहरू र बिक्न थालेछन् बोकाका परिकारहरू । अग्लो डाँडो, पारिलो घाम र मान्छेहरूको भीडभाड ! ठाउँ फराक भएपछि भीड पनि भीड हुँदो रहेनछ ।

मान्छेले बिर्सेझैँ लाग्यो कोरोना कहर । माक्स लगाउनेभन्दा नलगाउने धेरैजस्तो । भीडभाड, जुलुस, धर्ना, आमसभा, आन्दोलन ! अब के को स्वास्थ्य प्रोटोकल ?

बेनी बजारमा रोकियौँ । रोकियौँ मात्र छोटो समय ! मुग्लिनको बाँकी सुन्तला सक्दानसक्दै गलेश्वर धाम ! धामभित्र छिरेपछिको आनन्द त कोरोनापछिको पहिलो आनन्दजस्तो लाग्यो । आहा ! दिल खोलेर भन्नुपर्छ राम्रो बनाएका रहेछन् । झन्डै १५ वर्षपछि फेरि पुगेको हुँ । मुहार फेरिएछ । सफा, चिटिक्क, बोट विरुवा झपक्क, पूजा, अर्चना, मन्दिर पनि सफा, परिवेश पनि सफा । कति राम्रो धारो । धारामा धोएर हात मन्दिर प्रवेश ग-यौँ । पुजारी विष्णु सुवेदीका अनुसार दैनिक पूजा पुरानै गतिमा चलेको छ । मान्छेहरू आउन थालेका छन् । मन्दिरको मोह र सुन्दरताको रसपान गरेर यात्रा अघि बढ्यो ।

साँझ पुग्यौँ म्याग्दीको तातोपानी । फापरको ढिंडोमा लेकाली घिउ मिसिएपछि साँझ झन् सुन्दर अनुभव भयो । झमक्क साँझ परिसकेकोले कालीको किनारतिर टहलिने रहर बाँकी नै राखेर लुपुक्क निदायौँ बेलैमा ।

अनि त बिहान ब्युँझनुअघि नै पुग्यौँ पोखरीको डिल । कृष्ण दाइले भन्नुभयो पानी त चिसोचिसै रैछ त ! त्यतिखेर भरत दाइ र म पनि पोखरीमा छिरिसकेका थियौँ । चिसो पनि नहुनु र तातो पनि नहुनु केही अर्कै हुनुजस्तो । बीचको अवस्था, सन्तुलन वा समन्वय ! चिसो पनि होइन र तातो पनि होइन । न समर्थन न विरोधजस्तो । भरत दाइले भन्नुभो, अर्को पोखरीमा जाऔँ ।

त्यहाँ भने पोल्दो पानी रहेछ । आनन्दले डुबुल्की मारिरह्यौँ । शान्त वातावरण, तीन प्राणी र पोखरी भरिको पानी । रमाइलो, खूब रमाइलो । तातो पानीमा डुबुल्की । पानीले ज्यान तातेपछि नडुबाइएको टाउको पनि तातेतातेजस्तो । बेलाबेला पोखरीबाट निस्केर धाराको पानीले नुहाउँदै फेरि पोखरीमा डुबुल्की मार्दै गरिरह्यौँ ।

प्रकृतिको यो उपहार ! नजिकै छ कालीगण्डकी चिसो न चिसो ! यहीँ सँगै छ तातोपानी ! यो पोखरी । पानीकै सतहमा कुनापट्टि रहेछ एक धारो । त्यो धाराको पानीमा हात थाप्न पनि सकिँदोरहेनछ । त्यति तातो !
झण्डै डेढ घण्टा बितेछ समय ।

‘कृष्ण दाइ ! कृष्ण दाइकै कपडा चोर्न कुनै कृष्ण त आउँदैन नि ? नत्र गोपिनीको हाल होला । नाङ्गै फर्कनुपर्ला काठमाडौँ ?’, मैले यति के भनेथेँ तीनै जना हास्यौँ ।

म कर्णको अनुयायीलाई कहाँबाट आयो सूर्यको याद ? सूर्यलाई जल चढायौँ तीनै जनाले–

यही सूर्य सहस्रांशो तेजो राशि जगत्पते
अनुकम्पयमाम्भक्त्य गृहाणाघ्र्यम् दिवाकरः ।

होटल पुग्दा रविन र सुदीप उठिसके छन् ।

अकस्मात्को बन्दको हल्ला । हल्ला मात्र त के बन्द नै हुने भएपछि के को जबर्जस्ती ? जोमसोम पुग्ने रहर पूरा भएन । भरत दाइ आफैँ पनि आफ्नै हाइड्रो अफिस पुग्नुभएन । ‘साथीहरू छन्, सिष्टममा चलिहाल्छ, मै किन हुनुप¥यो र ?’, उहाँको जवाफ थियो ।

हामी पुग्यौँ बागलुङ कालिका मन्दिर । पूजा र परेवासँगको मौन सम्वाद ! साँच्चै मिठो ! गलेश्वर धामभन्दा कम थिएन त्यहाँको पनि परिवेश । साँच्चै सुन्दर, साँच्चै सफा ! मौलिक सम्पदा सुरक्षामा बिस्तारै चासो बढेछ क्यारे नेपालीको ! यस्तो पनि लाग्थ्यो । फूलभन्दा पनि फूल राखेका ढक्की राम्रा । बाहिर गेटमा एक ढक्की फूलपाती र परेवालाई चारा किनेर भित्र प्रवेश गरेपछिको भित्री आनन्दको रन्को पछिसम्म आइरह्यो मनमा, चेतनामा ।

त्यसै दिन पर्वतमा विद्युत प्राधिकरण सबस्टेशनको उद्घाटन रहेछ । फर्कँदा पर्वत पस्यौँ । अकस्मात् भेटिए सञ्चारकर्मी साथीहरू, सम्वाद भयो र भेट भयो गण्डकी प्रदेशका मन्त्री विकास लम्सालसँग । मन्त्री भेटेपछि कुरा राजनीतिको भइहाल्ने ! सङ्घीयताको अभ्यास, प्रयोग, प्राप्ति र निरन्तरता ! छोटो समयमा लामै भयो कुराकानी तर मन्त्री आफैँ पनि त्यति खुसी छैनन् । अझै धेरै गर्नुपर्ने उनको ठम्याइ रहेछ । पर्वतमा पर्यटनको संभावना भने निकै माथि छ र उनको जोड पनि त्यसैमा रहेछ तर गफको सिलसिलामा पार्टी विभाजनले व्यक्ति विकास र देश विकासमा पारेको असरबारे भने केही सोधिनँ ।

कुश्मा बजारमा केही भाइहरूले बाटो छेके तर छिनभरमै यति शालीन किसिमले भने, ‘दाइ जानोस् ।’ तिनको नाम सोधिनँ तर आन्दोलनरत भाइहरूको भद्रता र विनयशीलता देख्दा लाग्यो थोरै प्रतिशत युवामा भए पनि सहिष्णुता बढेकै छ है । बिगारेका त बूढाहरूले नै हो ।

यी र यस्तै घटना शृङ्खला र यसको समग्र नाम हो जीवन । लामो यात्रा लामोजस्तो भएन र सबै मिलेर समग्रमा एउटा प्याकेजजस्तो भयो दुई दिन ।

थानकोट उक्लँदा ९ बजिसकेको थियो तर गफ सकिएकै थिएन । बाटो सकिएपछि विचारको बिट आफैँ मर्दोरहेछ र टुङ्गिनै पर्दोरहेछ गफ । नैकाप झरेर म शब्दशिविर उक्लँदै गर्दा गाडी कलङ्कीतिर हुइँकिई सकेको थियो ।

घर पुगेपछि भरत दाइले उही भद्र स्वरमा भन्नुभयो– ‘यात्रा मज्जा भयो डाक्टर साप, अर्को पल्ट लोमान्थाङ जाने रहर छ, तपाईँसँग !’ म हासेँ मात्रै र थपेँ– ‘कृष्ण दाइ त छुट्नुहुन्न नि ?’ ‘उहाँ त कसरी छुट्नु र ?’ भरत दाइको यो जवाफसँगै मेरो मनमा आयो– ‘अर्कोपल्ट अर्को मान्छे पनि थपिन्छन् शायद ।’

यात्रा छ र त जीवन गतिशील छ !

२३ माघ २०७७
शब्दशिबिर, काठमाडौँ ।

लम्साल, खडेका र कुईंकेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button