किन आयौ तिमी मेरो घरको मुलढोका ?
लीला अनमोल
रातभरी पानी परेर थाकेको
एक ओशिलो बिहान
मलाई तिम्रो उपस्थितिले झस्क्यायो
अलपत्र छरिएको मेरो हाउभाउ
अव्यवस्थित लाग्ने मेरो मेरो बेडरुम
टेबलमा यत्रतत्र राखिएका
दुइचार थान किताबहरु
र, भित्तामा टाँगिएको मेरो बालापनको तस्बिर
एकसाथ प्रश्न गरिरहेथ्यो तिमीलाई
बिनाजानकारी किन आयौ तिमी मेरो घरको मुलढोका ?
उपस्थितिको आशय के हो ?
तरल भएँ म
निचोरिएर लज्जाले
बाहिरै निस्किएला झै धड्कियो मुटु
मेरो आतेश तिमीलाई सहज थियो या थिएन ?
कम्पन छुटेर शरिरबाट
रहरको बतास चल्यो
तिम्रो उपस्थिको सङ्गितले
प्रेमिल ध्वनि गुन्जायमान भयो कोठाभरी
काँपेर ओठहरु
अपलक हेरिरहे तिमीलाई
भङ्ग भएर मेरो दैनिकी बन्यो अस्वभाविक
र, नदि जस्तै बग्यो मेरो भावुकता
अनपेक्षित तिम्रो उपस्थितिलाई
न स्वागत नै भन्न सकेँ
न अस्वभाविक नै बन्न सकेँ
दिब्य खुशी पनि होइन
बेखुशीको कुनै रङ पनि थिएन ।
तर, किन बिउझियो हँ, मेरो संवेदनाको तरङ्ग ?
बिहानै प्रेमको ओत भएर पस्यो
एउटा तुफानी हावा
सम्पन्नताको हिमाल भएर अग्लियो
एउटा बेचैनी मन
र, स्थापित भयो मभित्र एउटा रहस्यमय खुशी
परिवर्तन भएर मेरो वातावरण
रङ्गिबिरङ्गी भए रहरहरु
अचानक तिम्रो उपस्थितिमा
एउटा सम्पन्नताको मधुर धुन बज्यो
स्थगितत भएर मेरो ब्यस्तता
तिम्रो सामुन्ने मौन उभियो
र, लुटपुटिए केही सम्भावनाहरु
ओछ्याएर स्नेहको जाली रुमाल
मैले तिम्रो उपस्थितिलाई
स्वागत गरिदिएँ
हो, प्रिय
बिनायोजना भएको तिम्रो उपस्थितिले
मेरो जीवनको
एउटा अध्याय शुरु भएको छ ।