कविता : हो, प्रश्न मेरो बुढा, सीताजी बोली

धनराज गिरी

को को आज थिए अनेक सज़नी को को सखी सुन्दरी ?
के के बात भयो सुनाउन सखा कस्ता थिए ती परी ?
स्वामी आज कुरा सबै भन सही छोरा बुहारी कड़ा
आए च्याट भनी बनी निकट को बाबा थिए ती बड़ा

साथी ती बलराम कृष्ण सरला योगी वियोगी भए
आमोदी घिमिरे खनाल बबुवा बद्री विनोदी रहे
बाबा ती खकुरेल स्वच्छ छविका बैनी रिया राधिका
यी यी साथ रहे पवित्र मनका बोले हुने बालिका

औतारी “धनराज ” आज सबको प्यारो भयौ लोकमा
चौतारी “मनराज़ “ताज घरमा माया दियौ थोकमा
साझा “बा “कविराज बाज़ दुहिता धेरै बने साधिका
काका हौ सजना विचित्र नर हौ प्यारी सखी राधिका

हाम्रो दीर्घ भयो उमेर अहिले दाम्पत्य आहा भयो
सोझा छौ कविता उदार मनका आलोक थाहा भयो
को को भद्र बने अभद्र कति थे ?लेखा नराखी बढ़े
लेखे गीत नयाँ र मुक्तक मिठो सन्सार आफ्ना पढ़े

धोका छैन भनेर आज घरमा छौं ढुक्क हामी दुई
सारा जान्दछ यो कुरा नगरले हौं अग्रगामी सुई
प्यारा हौ गुरुजी भने मनुजले चेला र चेली पढ़े
तिम्रो साथ रह्यो पुगे शिखरमा सारा रमाई बढे

तिम्रो त्यो मनमा परी गज़बकी कोही बसेकी भनी
राम्री धेर पढ़े समीप बिजुली कोही खसेकी भनी
दादा दाइ भनी अनेक ग़ज़ले आए बनी काफिया
हे धर्मेन्द्र बुढा लुकेर तिनले हेमा बनी माफिया

बारी यो वन यो कमाल मन यो मेरो सबै हो घड़ा
सीताराम बनी धनी भुवनमा पत्नी धनेकी कडा
सोझी होइन है मुहार हेर है गाडी सही यो गुडा
को को हुन् मनमा सखी अमर ती ? यो प्रश्न मेरो बुढा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button