पुस्तकालय अनुभव : धेरै प्रकारका मानिस देखेको छु
बाबुराम दाहाल ।
‘ए जेठा, तिमीलाई डा. सा’पले खोज्नुभएको छ । समय मिलाएर भेट है, कुनै राम्रो कुरा पो छ कि !’ भदौ महिना । बिहानको समय । तुरुन्तै म डा. सा’पलाई भेट्न डिल्लीबजार, कालिकास्थान गएँ । डा. सा’पलाई भेटें । भन्नुभयो, ‘दाहालजी, तपाईंसँग कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएकाले सम्झेको हुँ । एउटा पुस्तकालयमा तपाईंजस्तै कम्प्युटर जानेको व्यक्तिको आवश्यकता छ, जागिरको लागि आवेदन दिनू । यत्ति भन्नलाई मैले अधिकारीजीलाई खबर पु¥याइदिन भनेको थिएँ ।’ डा. सा’पले भनेजस्तै डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा जागिरका लागि आवेदन दिएँ । छनोट पनि भएँ । बुझ्दै गएँ । ज्ञान एवं सूचनाको खानी रहेछ, पुस्तकालय । कुरा हो, १० वर्ष अगाडिको । (त्रिविका पूर्वउपकुलपति डा. त्रैलोक्यनाथ उप्रेती ‘डा. सा’प’ र वरिष्ठ साहित्यकार अच्युरमण अधिकारी ‘अधिकारी’ ।)
‘पुस्तकालय भनेको त जीवनलाई आफूले चाहेको दिशातर्फ परिवर्तन गर्ने स्थान पो रहेछ, यो कुरा ४० वर्षअघि मात्र थाहा पाएको भए म नेपालको परिचित व्यक्ति बन्ने रै’छु,’ लाजिम्पाटस्थित खुर्सानीटारमा बस्दै आएका ६० बर्से नारायण ढुंगाना भन्थे, ‘उमेर होउन्जेल अहिले खाएपछि भरे के खाने भन्ने चिन्ताले अन्यत्र ध्यान दिन सकिएन, अब त उमेरले छाड्दै गयो, काम गर्न सकिँदैन, साउँअक्षर चिनेको हुनाले समय बिताउने एउटा राम्रो स्थान पाएको छु ।’ उनी प्रत्येक दिन पुस्तकालय आउँथे र आफूलाई मन लागेका कुरा पढेर बस्थे । भन्थे, ‘अहिले त एक दिन पुस्तकालय आउन सकिएन भने अलिनो खाना खाएको दिनजस्तै हुन्छ ।’
बालुवाटानिवासी राजेश न्यौपाने पनि नियमित पुस्तकालयका साथी थिए । पर्यटन व्यवसायी न्यौपाने हरेक दिन पुस्तकालय आउने गर्थे । भन्थे, ‘पुस्तकालयको वातावरण शान्त हुन्छ । मैले पुस्तकालयको प्रयोग गर्न थालेपछि मेरो व्यवसायलाई पनि राम्रो सहयोग पुगेको छ । पढ्ने मुड नभए पनि यहाँ आएपछि सबै कुरा बिर्सिएर पढ्न मन लाग्छ ।’ यत्तिकैमा थोरै आक्रोशित हुँदै उनले अगाडि थपे, ‘तर, नेपालमा पढ्ने संस्कार नै छैन । सरकारले पनि पुस्तकालयको विकासमा ध्यान दिएको देखिँदैन । पढ्ने संस्कारको विकास गर्नु सरकारको पोलिसीअन्तर्गत पर्दैन र ?’ भन्थे, ‘अहिलेको युवापुस्तामा पढ्ने संस्कारको विकास अनिवार्य छ । अरू नभए पनि बचेको समयमा पुस्तकालय जाने बानी बसाउनु उपयुक्त हुन्छ ।’ साथै, समय र प्रविधिअनुसार पुस्तकालयलाई परिमार्जन गर्दै परम्परागत पुस्तकालयको संरक्षण र संवद्र्धन अपरिहार्य भएको न्यौपानेको भनाइ छ ।
‘पुस्तकालयमा त सबै खालका पुस्तक भेटिनुपर्ने होइन र ? दुई÷तीनओटा पुस्तकालय गइसकें तर मैले खोजेको पुस्तक पाउनै सकिनँ,’ पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी नारायजकाजी कटुवालले निराश मुद्रामा मसँग भने, ‘मैले खोजेको किताब पुस्तक पसलमा पनि भेटिनँ । पुस्तकालय पाइन्छ भनेर आएको, यहाँ पनि भेटिँदैन । कहाँचाहिँ भेटिन्छ त मैले खोजेको किताब ?’ उनलाई सोधें, ‘तपाईंले खोजेको किताबको शीर्षक के हो ? कसले लेखेको हो ? के विषयको हो ?’ त्यसपछि थाहा भयो, नेपालको इतिहास, रहनसहन, धार्मिक संस्कृति आदिका बारेमा लेखिएको किताब खोजेका रहेछन्, उनले । मैले ज्ञानमणि नेपालले लेखेको ‘नेपाल निरुक्त’ भन्ने पुस्तक निकालेर उनलाई दिएँ । किताब हेरेर उनी खुसी हुँदै भने, ‘हो, मैले यस्तै किताब खोजेको ।’
मैले पुस्तकालयमा आउने धेरै प्रकारका मानिस देखेको छु, भेटेको छु र उनीहरूसँग भलाकुसारी गरेको छु । पुस्तकालयको गेटमा सुरक्षाकर्मीसँग झगडा गरेर त्यहींबाट फर्केको पनि देखेको छु । नेपालीमाझ मौलाएको संस्कारका कारण त्यसरी फर्कनेसँग भने मैले भेट्ने मौका गुमाएको पनि छु । हो, पुस्तकालय सबैको साझा सम्पत्ति हो । साझा थलो हो । यहाँ जोसुकैले पनि प्रवेश पाउँछ, पाउनुपर्छ । साथै, पुस्तकालयलाई शान्ति क्षेत्रको रूपमा विकास गर्नुपछ । तर, हामी नेपालीमाझ संस्कार नै गलत हावी भएको छ । हामी नियम, कानुनको पालना गर्न हिचकिचाउँछौ, लजाउँछौं । फलानो नेता तथा उच्च व्यक्तिको धाक दिँदै अरूलाई धम्क्याउने र आफूलाई ठूलो बनाउने संस्कार हामीमा विकास भएको छ । अतः सही कुरा मनन गर्ने धैर्य हामीमा विकास हुन सकेको छैन । हो, यस्तै संस्कारको विकास भएकाले ती व्यक्ति पुस्तकालय भित्र नआई गेटबाटै बाहिरिएका हुन् । गेटबाटै फर्कनुको कारण यत्ति हो, उनले आफ्नो झोला पुस्तकालय भित्र ल्याउन पाएनछन् ।
नेपालमा पुस्तकालय स्थापनाको दुई सय वर्ष नाघिसकेको अवस्थामा पनि न सुविधासम्पन्न .पुस्तकालय स्थापना भएका छन् न त पुस्तक पढ्ने संस्कार नै विकास भएको छ । कागजी रूपमा बल्ल पुस्तकालयसम्बन्धी ‘नीति २०६४’ र ‘निर्देशिका २०६९’ बने पनि यसको कार्यान्वयन हुन सकेको छैन । यदि, नेपाल सरकारले प्रदान गर्दै आएको शिक्षालाई व्यावहारिक बनाई र दक्ष जनशक्ति उत्पादन गर्नका लागि शिक्षा नीति परिमार्जनका साथै समयसुहाउँदो पुस्तकालयको संरचना र विस्तारको अवधारणा निर्माण गर्नुपर्छ । यसका साथै हरेक शैक्षिक संस्थाले आफ्नो संस्थामा सुविधासम्पन्न पुस्तकालयको विस्तार गरी विद्यार्थीमा पठन संस्कृतिको विकास गर्नुपर्छ । विश्वमा जति पनि सफल र प्रसिद्ध व्यक्ति बनेका छन्, उनीहरूले जीवनको धेरै समय पुस्तकालयमा बिताएका छन् । र, तिनै देशहरू अहिले विकसित देशको रूपमा परिचित छन् ।
मलाई एक छिन एक्लै टोलाउन मन लाग्यो । धन्य, नेपालको शिक्षा । एउटा विश्वविद्यालयको विद्यार्थीले आफूले चाहेको पाठ्यसामग्री कहाँ पाउन सकिन्छ अनि कस्तो पुस्तकालयमा पाउन सकिन्छ भन्ने जानकारी पाएको हुन्न । यस्ता सामान्य जानकारी विद्यालय स्तरका पाठ्यक्रममै सामवेश गर्नुपर्ने होइन र ? देशको समग्र बजेटको सबैभन्दा बढी प्रतिशत शिक्षामा विनियोजन हुने गरेको छ ।
यदि, सरकारले ‘एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय’को नीतिअनुसार अगाडि बढ्ने हो भने पक्कै पनि ‘नेपालबाट निरक्षरता उन्मूलन भयो’ भन्न लागेको तयारी सार्थक हुने थियो । यो विषयमा शिक्षा मन्त्रालयलाई मात्र जिम्मेवार नबनाएर सिंगो नेपाल सरकारले ढिला नगरी गम्भीर भएर सोच्न जरुरी छ । देश र समयसुहाउँदो शिक्षा नीति निर्माण गरी कार्यान्वयनमा ढिला गरिनुहुन्न । समयसुहाउँदो एवं व्यावहारिक शिक्षाको अभावमा आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्नुको सट्टा लाखौंको संख्यामा नेपाली बिदेसिनुपरेको अवस्था टड्कारो रूपमा देखिएको छ । अब पनि यो विषयमा नेपाल सरकार कानमा तेल हालेर बस्ने हो भने ‘नयाँ नेपाल’, ‘समृद्ध नेपाल’ अनि ‘सम्पन्न नेपाली’ भन्ने भाषणबाजी कल्पना मात्र हुनेछ ।
आजको समय भनेको सूचना प्रविधिको हो । मोबाइल, ल्यापटप धेरैको प्रिय मित्र बनिरहेको आजको समयमा पुस्तकालयलाई पनि समयसुहाउँदो रूपमा परिमार्जन गर्नु आवश्यक छ । ज्ञान एवं सूचना प्राप्तिका लागि अब परम्परागत पुस्तकालयका साथै आधुनिक पुस्तकालयको विस्तार प्रमुख दायित्व बनेको छ । विशेषगरी, विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) अहिलेको अनिवार्य आवश्यकता बनेको हुँदा सबैको इच्छा पूरा गर्ने पुस्तकालय भनेको परम्परागतका साथै विद्युतीय पुस्तकालय नै हुनेछ ।
(कुनै बेला डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयका एसिस्टेन्ट लाइब्रेरियन दाहाल केही बर्षदेखि अमेरिकामा छन् ।)