म एक थोपा हुँ र कुनै पनि थोपा मुल्यहिन हुँदैन
यो बर्ष कोभिड–१९ का कारण धेरै गड्बड् भयो । उद्योग, ब्यापार, कृषि, कला, साहित्य, राजनीति सबैतिर महाब्याधीले प्रभावित गर्यो । मानौ सबै ठप्प छ । तर, यहि संकटमा पनि केहि लेखक र प्रकाशकहरुले आफ्ना काम जारी राखे र जीवनलाई गति दिने कोशिस गरे । त्यहि मेसोमा किताव पब्लिससर््ले उपन्यास मोक्षभूमि बजारमा ल्यायो । पाठकले मन पराए र चर्चित पनि भयो । मोक्षभूमिका लेखक तर उनी लेखक मात्र होइनन्, राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । राजनीतिक पाटोलाई नछोई नेपालनाम्चाको विशेष स्तम्भ लेखक बोल्छमा लेखन, लेखन चेतना र बिषयबस्तुबारे केशव दाहाल ।
कुन घटना, कारण वा प्रेरणाले तपाई लेखनमा आउनु भयो ?
म भाग्यमानी पुस्ताको मान्छे हुँ । त्यो यसकारण कि मैले आँखा खोलेको धर्ती, मैले टेकेको माटो, मैले भोगेको समय र मेरो समाज अद्भुत थियो । म यस्तो ठाँउमा जन्मिएँ, जहाँबाट पुर्वतिर हेर्दा सुर्योदयको अनुपम दृष्य देखिन्थ्यो । मानौं पर्वतराजको दाहिने कुममा टेकेर स्वार्गलोकबाट सुर्यदेव मेरो गाँउमा आउदै छिन् । मलाई सुर्योदयको त्यो दृष्य सँधै नै मनमोहक लाग्थ्यो । मेरो आँगनको पश्चिम उत्तरमा थिए सुन्दर मकालु र कुम्भकर्ण हिमाल । जसको काखमा प्रायसः घामपानी परिरहन्थ्यो । त्यहि घामपानीको जादुमय संगमले सृजना गथ्र्यो मनमोहक ईन्द्रेणी । मैले ईन्द्रेणी लागेको, ईन्द्रेणी नाँचेको र ईन्द्रेणीले बिस्तारै आफ्ना रंगहरु धर्तीलाई समर्पित गर्दै अन्तरध्यान भएको देखेको छु । खोलामा बाढी कसरी आउछ ? पानी पर्दा बलेसिमा थोपाहरु कसरी खस्छन् ? र, शरदको सुगन्ध कस्तो हुन्छ ? मैल अनुभव गरेको छु ।
म गाँउमा जन्मिएँ । मलाई किसानका हातमा उठ्ने ठेला र भरियाका आँखामा नाँच्ने सपनाको कथा थाहा छ । मैले भोक पनि देखेँ र विद्रोह पनि । मैले इतिहास बदल्ने जनक्रान्तिमा स्वयं भाग लिएँ । यो अर्थमा म जन्मिएको युग साधारण होइन, सायद यो निकै असाधारण छ । यो यस्तो अद्भुत युग हो, जो बुलबुल चरीको कथा सुन्दै बढ्यो, सुनकेस्री रानीको कथा सँगै हुर्कियो । जस्तो कि आमाहरुले प्रत्येक रात हामीलाई कथासँगै परिलोकतिर घुम्न लैजान्थे । त्यसैले हुनुपर्छ, हामी सपनामै सहि परीहरुसँग नाच्दै हुर्कियौं । मेरो बाल्यकाल गुणरत्नमाला, सुखसागर, कृष्णचरित्र, महाभारत आदिसँग बित्यो । यसरी हेर्दा मेरो संसार निकै ठुलो थियो ।
तर, आज संसारका अनेक रहस्यहरु सानो चिप्समा संग्रहित छन् । धेरै कुरा आँखै अगाडि फेरिदै छ । यो अर्थमा मेरो पुस्ताले हिजो जे अनुभव गर्यो र आज जे देख्दैछ, त्यो न त हाम्रा पिता परपिताहरुले अनुभव गरे, न त आउने पुस्ताले गर्ला । यी सबै मेरो लागि यस्ता वेजोडका कुराहरु हुन्, जसले मान्छेलाई लेखक बन्न सदैव प्रेरित गर्दछन् । अतः मैले भोगेको समय, मेरो माटो र मैले देखेका सपनाहरु नै मेरा लेखनका प्रेरणाहरु हुन् ।
लेख्दा के हुन्छ र नलेख्दैमा के हुन्छ ?
कल्पना गरौं, संसारमा यदि अक्षरहरु थिएनन् वा शब्दहरु थिएनन् वा कितावहरु थिएनन् भने यो कस्तो हुन्थ्यो होला ? यदि मान्छेसँग गीत, संगीत, कथा, कविता र कितावहरु हुदैनथे भने धर्ती कस्तो वेरसिलो हुन्थ्यो होला ? समाज कस्तो रुखो हुन्थ्यो होला ? सभ्यता कस्तो निरस हुन्थ्यो होला ? निश्चय नै एकजना मान्छेले लेख्नु वा नलेख्नुले धेरै फरक पर्दैन । तर, कसैले पनि नलेख्ने हो भने मानव सभ्यता यति धेरै सुन्दर, कलात्मक र अद्भुत हुने थिएन । लेख्नु जीवनमा अमृत भर्नु हो । लेख्नु मान्छेलाई आफ्नो अस्तित्व बोध गर्न प्रेरित गर्नु हो ।
तपाईले लेखेकै कारण के भएको छ ? केहि त्यस्ता घटनाहरु सम्झनुहुन्छ, जसको जगमा तपाईको लेखन थियो ?
संसारको विशालतामा उभिएर चिह्याउने हो भने एउटा मान्छेको अस्तित्व निकै सानो देखिन्छ । त्यो सानो मान्छेले लेख्दैमा वा नलेख्दैमा यो विशाल अस्तित्वलाई खासै फरक पर्दैन । तर, जब मान्छेको त्यहि सानो अस्तित्वलाई हामी विशाल अस्तित्वको अभिभाज्य अंशको रुपमा बुझ्दछौ, एउटा मान्छेले लेख्नु वा नलेख्नुले कहिँ न कहिँ पक्कै निकै धेरै फरक पर्दछ । यो विन्दु–विन्दु जोडेर चित्र बनाएजस्तै हो । एउटा पुर्ण चित्रमा सानो बिन्दुको कुनै अर्थ नहोला । तर, प्रेत्यक साना विन्दुहरु हटाउने हो भने चित्र बन्दैन । बृहत बम्हाण्डमा एउटा लेखकको अस्तित्व यहि हो । अतः मैले लेखेकै कारण के भएको छ भन्ने प्रश्नको अंशमा उत्तर खोज्न सकिदैन । किनभने, मैले लेख्दैमा कुनै अद्भुत घटना भएको छैन न त मैले नलेख्दैमा संसारमा कुनै बित्यास नै पर्ला । म मेरो लेखनलाई मानव सभ्यताको एउटा सिलसिलाको रुपमा बुझ्छु । त्यसरी हेर्दा मेरो लेखनले कहिँ न कतै जीवनको सौन्दर्य थप्न र हाम्रो सभ्यतालाई सुन्दर बनाउन पक्कै योगदान गरेको हुनुपर्छ । तर, त्यो योगदानको आकार, प्रकार र प्रभाव कति छ र कहाँ छ ? त्यो भने मलाई थाहा छैन ।
तपाई यदि लेखक नभएको भए समाज वा संसारलाई केहि फरक पथ्र्यो ?
कुनै एक ब्यक्ति लेखक भएर वा नभएरु समाजलाई त्यति धेरै फरक पर्दैन । तर, लेखकहरु नै नभएको भएचाहिं समाजलाई धेरै फरक पथ्र्यो । जस्तो बर्ष हुदा लाखौ थोपाहरु धर्तीमा झरिरहेका हुन्छन् । ती लाखौ थोपाहरुमध्ये कुनै एउटा थोपा नहुँदैमा धर्तीलाई धेरै फरक पर्दैन । तर, बर्षा नै नहुने हो भने चाँहि धर्तीलाई धेरै फरक पर्छ । अव विचार गरौं, लाखौ थोपाहरुभित्र एउटा थोपाको मुल्य कति छ ? केहि त अवश्य छ । त्यो अर्थमा, कुनै पनि थोपाहरु मुल्यहिन हुँदैनन् । त्यो अर्थमा, कुनै पनि वयक्ति मुल्यहिन हुँदैन । त्यो अर्थमा, कुनै पनि वयक्तिका योगदानहरु मुल्यहिन हुँदैनन् । त्यो अर्थमा, एउटा ब्यक्ति कलाकार, लेखक वा राजनीतिज्ञ हुनुको महत्व हुन्छ । त्यो अर्थमा, ब्यक्तिको भुमिकाले समाजमा केहि न केहि फरक पार्छ र पारी नै रहन्छ । मात्र योगदानको तौल र मुल्य भने त्यसको महत्वले निर्धारण गर्दछ ।
तपाई लेखनका बिषयहरु कसरी रोज्नुहुन्छ ? कसरी खोज्नुहुन्छ ?
म आफ्नो इतिहास, परिवेश र अस्तित्वप्रति सदैव सचेत हुने प्रयत्न गर्छु । चाहे राजनीतिक लेखन होस् वा आख्यान मेरो ध्यान मान्छेको अस्तित्वलाई प्रवद्र्दन गर्ने बिषयमा केन्द्रित हुन्छ । भख्खरै प्रकाशित मोक्षभूमिको आधार र बिषय पनि त्यहि हो । म, मेरो समाज र मेरो समयका मान्छेले देख्ने सपनाहरुप्रति जिज्ञासु छु । अतः मेरा लेख्ने बिषयहरु यिनै हुन् । जहाँसम्म बिषयबस्तु कसरी रोज्ने र खोज्न भन्ने प्रश्न छ, यो मान्छेको छनौटले निर्धारण गर्ने कुरा हो । समाज र समयलाई हामीले आफ्नो छनोटका आधारमा हेर्ने गर्छौ । तर, त्यो हेरोई अलिक गहिरो र गम्भिर भयो भने राम्रो । किनभने, साधारण दृष्टिले हेर्दा बिषय, घटना वा कथाहरुको बाह्यरुप मात्र देखिन्छ । तर, लेख्नका लागि त्यसको भित्री रुप, गुण र चरित्र देख्नु आवश्यक हुन्छ । बिषयको जति भित्र पस्यो, त्यति राम्रो । यो अर्थमा मलाई लाग्छ, लेख्नु भनेको बिषय घटना वा कथालाई ठिकसंग देख्नु पनि हो । जब हामी आफ्नो सचेत दृष्टिले इतिहास, समय र समाजलाई हेर्छौ, तब बिषयहरु पत्रपत्र भेटिन्छन् । तिनै बिषयहरु टिप्यो र लेख्यो ।
लेख्दालेख्दै विरक्त पनि लाग्दोहोला है ?
पक्कै पनि । खासखास क्षण र परिस्थितीमा मान्छे विरक्त हुन्छ नै । सायद मसिनलाई मात्र विरक्ति हँुदैन होला । अन्यथा मान्छे कहिले निरास हुन्छ, कहिले रमाउँछ, कहिले ताजा हुन्छ र कहिले विरक्त । यो मान्छेको प्राकृतिक गुण हो । लेखक पनि मान्छे नै हो अतः त्यो हुन्छ नै । म आफै पनि कुनै कुनै बेला लेख्दालेख्दै विरक्तिन्छु र केहि दिन चुपचाप बस्छु । चुपचाप बस्नु मेरा लागि आफुलाई पुनः ताजा बनाउनु हो । त्यसपछि फेरि विरक्ति हराउँछ र लेख्न मजा आउँछ ।
तपाई लेख्नुहुन्छ, तर त्यसको संप्रेषण संकुचित वा व्यापक हुँदा तपाईमा आउने फेरबदल के हुन्छ ?
मान्छे फैलिन चाहन्छ । त्यो स्वभाविक गुण हो । म पनि फैलिन चाहन्छु । यो अर्थमा व्यापक हुँदा मजा आउँछ । हराउँदा नमज्जा हुन्छ । तर, त्यहि नमज्जाको पीडाले नै मान्छेमा ईख जन्मन्छ । त्यहि ईखले नै मान्छेलाई व्यापक बन्न प्रेरणा दिन्छ । मलाई लाग्छ, कसैले वयापक बन्दिन भन्छ भने त्यो पनि वयापक बन्ने लालसाकै अर्को रुप हो । मान्छे स्वभावतः महत्वकांक्षी प्राणी हो ।
एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईको मनलोक । अझ अर्कोतिर समाजलोक । यी तीन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नुहुन्छ ?
मान्छे समाजसंँग मात्र रमाउँदैन । ऊ मनसँग र आफ्नो कल्पनासँग पनि रमाउँछ । मान्छेले यी तिनवटै लोकसँग मिलेर बाँच्नु पर्छ । त्यहिनै मान्छेले आविस्कार गरेको जिउने कला हो । यी तिनवटै लोकमा जब मान्छे रमाउँछ, तब ऊ पुर्ण बन्छ । यी तिनवटै लोकसँग एकाकार भएपछि मात्र मान्छेको जीवन आनन्दित र उत्सवमय हुन्छ । यी तिनवटै लोकहरु मान्छेका लागि फरक हैनन् बरु यी सबै अभिभाज्य छन् ।
के लेखेरै जीवन बिताइदिने हो ?
होइन । हुँदै होइन । लेखेरमात्र कसरी हुन्छ ? मान्छेले लेखेरमात्र जीवन कसरी बिताउन सक्छ ? मेरा लागि त्यो त पागलपन भयो । मान्छेले मात्र एउटा जीवन पाएको छ अतः यसलाई लेखेर मात्र बिताउनुको के मजा ? यो त धेरै निरस कुरा भयो । मान्छेले एकबारको जुनीलाई लेखेर, डुलेर, रमाएर, बिद्रोह गरेर, प्रेम गरेर, लडेर, उठेर अनेक हिसावले बिताउनुपर्छ । फेरि लेख्नकै लागि पनि त जीवनलाई भोग्नुपर्यो । अन्यथा जीवनलाई नजिकबाट नदेख्ने र नभोग्ने निरस मान्छेले कसरी जीवनको आख्यान लेख्न सक्छ ?
नयाँ आउने लेखकहरुलाई तपाईको अनुभवमा आधारित टिप्स, सल्लाह र सुझाव ?
म आफै नयाँ छु, त्यैसैले नयाँलाई के सल्लाह दिनु ? तर, लेख्न हतार गर्नुभन्दा पढ्न हतार गर्नु राम्रो । जीवन, समाज, प्रकृति, इतिहास र कथा नपढी लेख्न सकिदैन । मेरा लागि लेख्नु भनेको पढ्नु हो । म नयाँ र लेख्न चाहने साथीहरुलाई पढ्न सल्लाह दिन्छु । यहाँ पढ्नु भनेर कितावको मात्र कुरा गरेको होइन । पढ्नु भनेको मेरा लागि समाज पढ्नु हो । समय पढ्नु हो । मान्छेका सपनाहरु पढ्नु हो । जीवन र जगतलाई नजिकबाट नहेरी र नपढी लेख्न सकिदैन । यद्यपि यो मेरो कुरा हो । लेख्ने मान्छेका आफ्नै तरिकाहरु हुनसक्छन् ।