‘जन्मदिन’ कविताः फेरि आयो हिसावकिताव माग्न
सविना सापकोटा
आजको दिन
मेरो विशेष दिन
मेरा लागि प्रकृतिले
जुराएको दिन
मानव दुतका रुपमा
यस धर्तीमा पठाएको दिन ।
आजकै दिन हो
मैले धर्ती टेकेको
आजकै दिन हो
संसारले मलाई देखेको
तर, मैले देख्न पाइनँ
केही महिनापछि मात्र देखेँ संसारलाई ।
त्यो शिशु मनले
के सोच्यो होला त्यतिबेला
अनुमान गर्नु छैन मलाई
तर पनि विषेश छ,
मेरो लागि आजको दिन,
किनकी आजकै दिनले हो,
मलाई म हुनुको चिनारी दिएको
मेरा बा, आमा, दाइबहिनीहरु,
सबैसँग सम्बन्ध जोडिदिएको ।
त्यो दिन, यो दिन हुँदैनथ्यो भने
के हुन्थ्यो होला ?,
म नभएर म को हुन्थेँ होला ?
मलाई मन पर्दैन नदेखिएको दुनियाँ ।
सम्झन चाहन्छु, केवल आजको दिन
जसले मलाई मेरा सुख दुखहरुसँग,
साक्षात्कार हुने मौका दिएको छ,
जिन्दगीका उकाली ओरालीहरुमा
नलड्खडाइ हिड्ने जिम्मा दिएको छ
हरेक बर्ष आउँछ यो दिन
र, म महसुस गर्छु
एउटा अध्याय समापत भयो
र, यस्ता धेरै अध्यायहरुको,
पहाड बनाउनु छ अझै ।
आज फेरि आएको छ त्यही दिन
र माग्दै छ हरेक क्षणहरुका हिसावकिताव,
नाङ्गलोको चामलबाट वियाँ, ढुङ्गा, कनिका
छट्टाएजस्तै छुट्याइरहेछ
म बस् टुलुटुलु हेरिरहेछु,
घरिघरि लाग्छ
किन सम्झेको मैले आजको दिन ?
गएको वर्षदेखि अहिलेसम्मका
भोगाइहरुको अभिलेख बुझाउन ?