
Everest (An Unfinished Story) को सेरोफेरो
डा. विष्णुबहादुर जी.सी.
पत्रकार एवं साहित्यकार श्री अशोक सिलवालले लेख्नुभएको Everest (An Unfinished Story) पुस्तक नेपालका विभिन्न पर्यटकीय स्थलहरूमा लोकार्पण हुँदै बजारमा आइसकेको खबर सुनेको थिएँ। पुस्तकको खोजीकै क्रममा मिति २०८२/९/१२ का दिन यस पुस्तकका विषयमा Discourse (चर्चा–परिचर्चा) का लागि लेखकले फेसबुकमार्फत निमन्त्रणा गर्नुभएको देखेँ। कार्यक्रम साक्षात्कार गर्ने खुल्दुली झनै बढ्दै गयो। त्यसैले लेखनकुञ्ज, थापा गाउँ, नयाँ बानेश्वरमा तोकिएको मिति २०८२/९/१३, समय बिहान १०:३० बजेभन्दा अगावै म कार्यक्रमस्थलमा उपस्थित भएँ ।
नपाली मौलिक कला र सीप प्रयोग गरी बाँसका भाटाहरू बुनेर ठड्याइएको भवनको मनमोहक अनुहार प्रवेशद्वारबाटै देखिन्थ्यो। पुस्तकका लेखक अशोकजीलगायत केही महानुभावहरू यही भवनको प्राङ्गणमा जाडो यामको घाम ताप्दै थप आगन्तुक र १०:३० बजेको प्रतीक्षामा हुनुहुँदो रहेछ।
अशोकजीसँग आँखा जुध्नासाथ उहाँले मेरो नाम उच्चारण गर्नुभयो। मैले पनि अनुमान गरेँ- उहाँ नै लेखक अशोक सिलवाल हुनुहुन्छ भनेर। अशोकजीले पहिलोपटक करिब दुई वर्षअघि मेरो ‘कहाँ छ खुसी?’ शीर्षकको लेख आफ्नो नेपालनाम्चा अनलाइन पत्रिकामा प्रकाशित गरिदिनुभएको थियो। यही माध्यमबाट उहाँसँग मेरो पहिलो चिनजान भएको हो। फोनमा एक–दुईपटक कुराकानी पनि भएको थियो, फेसबुकमा तस्बिर भने देख्दै आएको थिएँ। त्यसैले पत्रकार–लेखकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनु मेरो लागि खुसीको विषय थियो।
खुसी यस अर्थमा पनि लाग्यो कि मेरो पुस्तक ‘यात्रा खुसीको’ मा पनि सगरमाथासम्बन्धी धेरै विषयवस्तुहरू समेटिएका छन्। अझ भन्नुपर्दा, उहाँको अनलाइन पत्रिकामा प्रकाशित ‘कहाँ छ खुसी?’ लेखले धेरै शुभेच्छुकहरूको मन छुन सकेको अनुभूति मलाई भएको थियो, र त्यही प्रेरणाले पछिल्ला वर्षहरूमा लेखिएका विविध विषयवस्तुहरू समेटिँदै अन्ततः ‘यात्रा खुसीको’ पुस्तकको रूपमा पूर्णता पाएको छ र लोकार्पणसमेत भइसकेको छ।
अब म कार्यक्रमका बारेमा संक्षेपमा उल्लेख गर्न चाहन्छु। परम्परागत मौलिक शैलीमा सजाइएको स्टेजबाट लेखक स्वयंले कार्यक्रमको प्रारम्भ र सञ्चालन गर्नुभयो। बेलाबेलामा सबैलाई हँसाउँदै आगन्तुकहरूलाई पनि कुनै न कुनै रूपमा सहभागी गराइरहनुभएको थियो। कार्यक्रम अत्यन्त अनौपचारिक भए पनि अनुशासन र व्यवस्थापन भने चुस्त–दुरुस्त थियो। सहभागीहरूमध्ये केहीले पत्रकार अशोकजी र पुस्तकका विषयमा सारगर्भित चर्चा–परिचर्चा गर्नुभयो।

उहाँको सात वर्षको छोराले निर्धक्कताका साथ ‘लेकका हामी केटाकेटी …’ गीत गाएर कार्यक्रमको सुरुआत गर्नु निकै मनमोहक क्षण थियो। यी बालक आमाको गर्भमा हुँदाकै समयमा अशोकजी पहिलोपटक सन् २०१९ मा एभरेस्ट ट्रेकिङमा जानुभएको प्रसङ्गले पनि कार्यक्रममा चर्चा पायो।
कार्यक्रम समापनका अन्तिम वक्ता संस्कृतविद् डा. निर्मला पोखरेलले अशोक सिलवाल र पुस्तकका विषयमा चर्चा गर्दै लेखकलाई असल आत्मा भएको व्यक्तिका रूपमा चिनेको अनुभूति व्यक्त गर्नुभएको थियो। कार्यक्रम समापनसम्मको मेरो अवलोकनले पनि अशोक सिलवाललाई एक बहुआयामिक, जिज्ञासु, होसियार, साहसिक पदयात्री, लेखक तथा पत्रकारका रूपमा अझ नजिकबाट चिन्न पाएको महसुस भयो। कार्यक्रममा सहभागी हुन पाएकोमा आफूलाई धन्य ठानेँ।

अन्तमा, पुस्तकको सुरुखण्डमै ‘एभरेस्ट भर्सेस सगरमाथा’ नामाकरण विषयलाई डिस्कोर्सका रूपमा अघि ल्याउनुभएकोमा लेखक अशोक सिलवाललाई हार्दिक बधाई दिन चाहन्छु।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



