
भ्रमको उडान
सुशील लामा
आभिमानी हुँकी अज्ञानि ?
सोचाईको पर्खाल नाघेर
कहिलेकाही यति बिघ्न तरंगित हुन्छौं !
तरंगित तरंगको तारबार नाघ्दा
उछिट्टिएर बनेका अदृष्य कपो-कल्पित कथाहरुमा
आफुलाई बेफिक्र उभाएर
ट्वाल्ल परेर हेर्छु
छुन नमिल्ने
कल्पनाको चिहानमा आफैले आफैलाई पुर्छु
निमेष भरमै जुरुक्क उठेर फर्कन्छु
मै हुँ भन्ने अहंकारको ताज पैरेको
उत्कृष्ट मान्छे हरुको भिडमा हराउँछु
मेरो भ्रम….
मेहनत नगरेको
असान्दर्भिक सफलताको पर्खाई
सफलता को आयाम आयात गर्न
हजारौं माईल टाढाको
रहरको बिरानो शहरमा
आफुलाई आफुले गरेको निर्यात
खुशीको आय-ब्ययमा
देखिएको बेरुजु
आफ्ना हरुको उमंगको खातिर
आफ्नो जिबन बैस लाई गरेको बन्ध्याकरण
खुशीलाई परिबन्धको पिंजडामा गरेर बन्द
पैसाको पछि भाक्दा-भाक्दै
जिन्दगी आधा सकेछ ।
मेरो भ्रम…..
ऎश्वर्यको आगमन पछि
मैले गरेको जिन्दगीको अनुमान
तिनीहरू प्रायः सबै मृत
झलझली भ्रमको छविहरू
अझै बिहान उदाउँदै गरेको रवी सँगै
उदाएर डाँडा-डाँडा चुम्ने
गुधुली साँझको सन्यासी घाम जस्तै
मेरो भ्रम….
मेरो विचारलाई ओगटेको थियो
मैले किटेर सोचेको थियो
अदृश्य भ्रम…..
आफन्ति हरुको प्रेम छन् म सँग
रगतलाई साक्षी राखेर पलाएको संम्बन्धहरुको
साथ हुनेछ म सँग
खुसीमा खुशियाली मनाउन उपस्थित हुने भिडहरु
दु:खमा सधैं साथ रहेछन् म सँग
तर
यथार्थ अनि तितो भ्रम
निरस निर्जन धर्तीको एककुना
सन्नाटामा मौलाए को मौनता रुमलिन्छु
अशक्त भएर हुँदा
साथ दिने वेदनाको पानाभरी
भ्रममा पलाएको
भावहरु ओकल्छु ।
थकित छु,
जीवन सास मात्र हो
जिबन एक प्रकारको
भ्रमै भ्रमको लहरो जस्तै….. !!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



