तिम्रो माया पो माया, बाँकी सब घामछाँया

सुशील लामा

आमा
नौ–नौ महिना तिम्रो न्यानो गर्भमा
सुरक्षित साथ राख्यौं
तिमीले फेरेको सास पिएर
म जिवित रहिरहन सकेँ
तिमीले मलाई सुन्दर यो संसार उपहार दियौ ।

मलाई बामे सर्न सिकायौ
मलाई तिम्रो औंला समात्न दिएर हिड्न सिकायौ
आमा तिमी थियौ,
र त म आज मान्छे भएर बाँची रहेको छु ।

मलाई दुख्दा तिमीलाई दुख्थ्यो
म बिरामी पर्दा
तिमीलाई निन्द्रा कहिल्यै पर्दैन थियो
आमा कति महान थियो है तिमी ?

मैले फेरेको अक्सिजनमा पाउँछु तिमी
म टुटेर ढलेको बेला सहारा बनेर
म सँगै पाउँछु तिमी
बिर्सन लागेको सम्झनाहरु
मानसपटलभरि फनफनी घुम्छ
राँम्चे डाँडामा थापेको रोटे पिङ्गजस्तै
आमा तिम्रो माया पो माया
बाँकी सबका माया घामछाँया ।

आमा
मेरो प्रारब्ध नै खोटो जस्तो लाग्छ
मलाई तिम्रो प्रिय साथहरु केवल
मेरो जीवनको शैशवकालमा रह्यो सिमित
तिमीले बुझ्ने बेला म बुझ्ने भएको थिइनँ
जब मैले बुझ्ने बेला भयो
तिमी मेरो बनेर साथमा रहेनौ
मातृवात्सल्यबाट म टाढिएँ
अथाह प्रेमको बगैंचामा
दुखकष्ट बिना फूल जस्तै हुर्केको म
तिमीसँगको बिछोडपछि
जहिलेतहिले बिछोडले बिछ्याइएको
जीवन यात्राको गोरेटोमा
तिमी मेरो आँखा डिलको बाँध भत्काएर
मुटु भिजाउन बग्दै गरेको आँशुको भेल बन्यौ
आमा तिम्रो माया पो माया
बाँकीको माया घामछाँया ।

आमा
हामीलाई आधा बाटोमा छोडेर गयौ तिमी
सरदर पाएको उमेर पनि नबाँचेर
आज म तिमीले बाँचेको जिन्दगी भन्दा
धेरै बर्ष बढी बाँची सकेको छु
धमिलो हुँदै गएको स्मृतिहरु
क्यालेन्डरको पानाहरुले
मातातिर्थ औंशिको तिथि देखाउने गर्छ
तिम्रो अनुपस्थितीमा
मन साह्रो दुख्छ
आमा मसँग बाँकी तिम्रो सम्झना छ
अनि फुंङ्ग रंग उडेको
श्यामश्वेत तस्बिर
त्यही तिमी नबोल्ने, नहाँस्ने तस्बिरसँग
धित मरुन्जेल मनको बह पोखाउँछु
तिम्रो जस्तै उमेर भएको नारीको
आकृतिमा तिमीलाई खोज्छु
आमा तिमी बिना साह्रै गाह्रो छ
तिम्रो माया पो माया
बाँकी सबको माया घामछाँया ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button