मेरो पहिलो प्रेम

सरिता शर्मा

मेरी बाल्यकालकी साथी शैलीसङ्ग भेट भयो, धेरै पछि । ऊ उसको जीवनका कुराहरु सुनाउने गर्थी, म सुन्ने गर्थे । उसले आज उसको प्रेम कथा सुनाउने इच्छा गर्दै आफ्नो पहिलो प्रेमको बारेमा बताउन सुरू गरी ।

सामान्य चिनजान बाट सुरु भएको यो सम्बन्धले यति गहिरो प्रेमको जरा गाडनेछ भन्ने कसले सोचेको थियोे र ? न मैले न उसले वा न त ऊ सङ्ग परिचय गराउने मेरो बाबाले नै । हो ऊ सङ्ग मेरो परिचय बाबाले नै गराउनु भएको थियो ।

बाल्यकालमा नै ऊ मेरो राम्रो साथी बनिसकेको थियो । उसलाई मेरो भाइले पनि चिन्थ्यो र मन पराउथ्यो । बाबासङ्ग ऊ बेला बेलामा हाम्रो घरमा आउथ्यो, मिठा पापा लिएर । भाइ र म उसको आगमनसङ्गै आउने मिठा खुराकको प्रतीक्षा गर्थ्यौ ।

मलाई ऊ औधी मन पर्ने । उसको मनमोहक स्वरुप, उसका भाषा शैली, ज्ञानगुनका कुरामा म मख्ख पर्थे । उसले ल्याउने उपहार र खानाको स्वाद पनि फरक फरक हुने । कहिले मिठो गुलियो, कहिले अमिलो र पिरो पनि । उसले ल्याएका खुराक खादा कहिले हाँस्न त कहिले रुन मन लाग्ने । अनि कहिले सबैभन्दा जान्ने बुझ्ने मै छु भन्ने भान पर्ने । भाइ र म प्रतिस्पर्धामा उत्रिने, को धेरै जान्ने भनेर ।

ऊ भिन्नभिन्न रूपमा आउथ्यो हरेक पटक । कहिले शान्त सरल रुप, कहिले हास्य पात्र जस्तो अनि कहिले उत्सुकता जगाउने रूपमा । जुनसुकै रूपमा आए पनि ऊ अति नै प्रिय थियो मलाई । म उसको कुरामा भुल्न थाले पछी समय बितेको पत्तै पाउदैनथे, खाने र सुत्ने पनि याद नहुने गरी । म उसको प्रेममा चुर्लुम्म डुबेको देखेर आमाले बेला बेलामा गाली पनि गर्नुहुन्थ्यो । तर म भने …

मेरी साथी शैली बोल्दै गई, म सुन्दै गए …

यसरी समय बित्दै गयो । म बाल्यकाल पार गरेर किशोरी भए । अब अझ धेरै माया गर्न थालेछु उसलाई । उसलाई नदेखेको दिन, उसको मृदुभाषा नसुनेको दिन मलाई औधी नरमाइलो लाग्ने । हुन त मेरो प्रेम एकतर्फी थियोे वा दुईतर्फी मलाई थाहा थिएन । मैले कहिल्यै सोधिन ऊ मलाई प्रेम गर्छ कि गर्दैन । उसलाई मन पराउने, माया प्रेम गर्ने अरु पनि थिए होलान् उसका गुणहरु देखेर । त्यसैले मैले कहिल्यै सोधिन तिमी मलाई माया गर्छौ कि गर्दैनौं भनेर । ऊसङ्गको भावनात्मक आभास नै मेरा लागि पर्याप्त थियो प्रेम सागरमा डुबुल्की लगाइरहन ।

समयको खेल, किशोरावस्थाको प्रारम्भ मै दुलही बनाइए म एक अन्जान ब्यक्तिका लागी । कसैले सोधेन मलाई कसैसँग प्रेम छ कि भनेर । न त मैले बोल्ने हिम्मत गर्न सके कि म ऊसङ्ग प्रेम गर्छु, उसैसङ्ग जीवन बिताउन चाहन्छु भनेर । बिहे पछी पनि मैले उसङ्ग प्रेम गरिरहे । मैले भुल्न सकिन । मेरो मनबाट ऊ कहिल्यै टाढा हुन सकेन ।

अन्जान ब्यक्ति र अन्यलाई यो सह्य भएन । हुन त मैले उनीहरुबीच मित्रता गराउने कोशिश गरेको हो तर …

सबैले सोचेछ्न समयसङ्गै मेरो प्रेम सम्बन्ध कमजोर हुनेछ भनेर । तर समय बित्दै जादा पनि ऊप्रतिको मेरो मोह कम नभएको देखेर कडा व्यबहार गर्न थालियो । उसको र मेरो सम्बन्ध तोडने निकै कोशिश भयो । तर बिडम्बना…यो कुनै औपचारिक वा कानुनी सम्बन्ध थिएन, सम्बन्ध बिच्छेद गर्नका लागी । न त कुनै व्यक्तिसंगकाे सम्बन्ध नै थियाे यो ।

अक्षरसङ्गको मेरो प्रेम त शुद्ध भावनात्मक थियो । यसमा कुनै लेनदेन, स्वार्थ वा हिसाबकिताब थिएन । “अक्षर” मेरो एक मात्र जिउने आधार थियो । म एक्लै ऊसङ्ग बोल्थे, उसलाई पढ्थे, ऊ सङ्ग खेल्थे, मनका भावना पोख्थे।ऊ त मेरो एक्लोपन को बिस्वसनीय साथी थियो । उसले मलाई कहिल्यै निराश पारेन । तर मेरा आफन्तहरु(?) ऊ सङ्गको मेरो सम्बन्ध तोडेर उनीहरु सङ्गको सम्बन्ध बलियो बनाउन विभिन्न उपाय र कठोर व्यबहार देखाउन पछी पर्दैनथे । तर बन्धन जति कठोर हुँदै गयो अक्षरसङ्ग मेरो मनको सम्बन्ध झन् झन् बलियो बन्दै गयो । बुवाले घरमा ल्याउने विविध रस र स्वादका किताबहरु पढ्दा पढ्दै अक्षर र साहित्यसँग बसेको मेरो प्रेम समय सङ्गै झन् झन् कसिलो हुँदै गयो ।

यसरी धेरै दिन बिते, महिना अनि बर्ष हुदै क्रमशः दशकहरु बित्दै गए । बेला बेलामा मेरो “अक्षर” माथि हमला भयो, प्रहार गरियो, क्षतबिक्षत गरियो, धुजा धुजा पारियो । मलाई धम्की र चेतावनी आउँथ्यो “अक्षरसँग सम्बन्ध जोड्ने हो भने अरू सम्बन्ध तोड्नु पर्ला” भन्दै ।

तर … हाम्रो सम्बन्ध अटुट हुँदै गयो । अक्षर त मेरो पहिलो प्रेम हो, मेरो भावनात्मक साथी हो, आफन्तको भिडमा एक्लो हुँदाको साथ हो । स्वजन(?) को बचन बाणले हृदय छियाछिया पार्दा सान्त्वनाको मलम लगाउने साथी हो अक्षर । जीवनदेखि नै निराश र हतास हुँदा आशावादी र सकारात्मक सोचको उपज गराउने अदृश्य शक्ति हो अक्षर । अमूर्तमा नै मूर्त बनेर मलाई जीवित राख्ने सञ्जीवनी हो अक्षर। जबसम्म मेरो जीवन रूपी स्वास चलिरहन्छ तवसम्म म अक्षरलाई प्रेम गरिरहन्छु ।

मेरी साथी शैली भन्दै थिइ, म सुन्दै थिए … अक्षर मेरो पहिलो प्रेम हो, एकान्तको साथी हो, आसु पुछेर मुस्कान दिने आफन्त हो, मेरो प्राण वायु हो । जीवन जिउने बलियो आधार हो । त्यसैले म अक्षरलाई मृत्यु शैया सम्म पनि प्रेम गरिरहन्छु … गरिरहन्छु … गरिरहन्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button