सन्मार्ग

रितु शाक्य

जीवनको यात्रा बीच घुम्दै फिर्दै आएँ।
अनायासै आत्मबोध गर्ने मौका पाएँ।।
ईश्वरको कृपा दृष्टि त्यसै कहाँ हुन्छ।
नजलाई कोइला पनि हीरा कहाँ बन्छ।१।

कति बगे आँसु धारा धरधरी रुँदा।
जालीझेली दुनियाँले दु:ख मात्रै दिदा।।
गरिबीमा, भोकमरी रोगव्याधी सहेँ।
विचित्रको जीवनशैली बाँच्न बाध्य भएँ।२।

नानाभाँती कर्मकाण्ड गर्न तर्फ लागेँ।
आत्मग्लानि, बेचैनीमा आफैलाई पारेँ।।
समाजमा डाह ईर्ष्या घृणा मात्रै पाएँ।
राम्रो गर्दै अघि बढ्दा खुट्टा तान्न भ्याए।३।

समाजको रीत यस्तै ढलाउन खोज्ने।
गल्ती थोरै भेटे मात्रै खिसीटिउरी गर्ने।।
जिन्दगीको कष्टबाट मुक्ति मैले खोज्दा।
वैरभाव मात्रै पाएँ सत्य मार्ग रोज्दा।४।

सारा गल्ती सच्चाएर मार्ग आफै मोडेँ।
पराईको वास्ता छोडी आफू एक्लै हिडेँ।।
ईश्वरको भर पर्नू समाजको हैन।
इच्छा शक्ति बढाएर कर्मयोगी बन।५।

ध्यान, ज्ञान ,सजगता सधैं जोड्दै जाँदा।
आफू भित्रै ईश्वर छन् जीवन बुझी हेर्दा।।
आधारशिला आफै आफ्नो बन्दै बन्दै जाऊँ।
सुख शान्ति संवृद्धिको सन्मार्ग समाऊँ।६।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button