ईश्वर ! कसैको खुसीको लागि मलाई माध्यम बनाएकोमा आभार

कथा: नाता सम्बन्ध

सरिता शर्मा शैली

शैलीले मलाई सुनाएका उनका जीवनका धेरै कथाहरु मध्ये एउटा कथा यहाँहरु समक्ष प्रस्तुत गरेको छु। पढिसकेर प्रतिक्रिया दिनु होला है।

शैली भन्छिन् – अनलाइन पठन पाठन चलिरहेको थियो यस्तैमा मोबाइल फोनमा मेसेन्जर को घण्टी बज्न थाल्यो। यसो हेरेको, शीला दिदीको फोन आएको रहेछ। कक्षा नसकेसम्म फोनमा कुरा गर्न नमिल्ने हुनाले साइलेन्ट मा राखे। अनि कक्षा सकिनासथ फोन लगाएँ दिदीलाई। दोस्रो घण्टीमा नै उठाउनु भयो। केहिबेर भलाकुसारी पछि भन्नु भयो ” तिमीसँग एउटा कुरा सल्लाह गर्न फोन गरेकाे”।

के कुरा हो दिदी भन्नुस् न, मैले भनें।

हेर न त्यो उमाले फोन गरेर हैरान पारी सकी। उसको नातिनीको जन्मदिनको कार्यक्रममा बोलाएकी छ के गर्नु ? जानु कि नजानु?

मैले भनें, जानुस् न दिदी बोलाएको भए किन नजाने।

“त्यसले मलाई गरेको व्यवहार सम्झदा त त्यसको मुख पनि हेर्न मन छैन। पहिला मेरो दुःखको समयमा साथ नदिने , उल्टै अपमान गर्ने अनि अहिले चाहिँ बहिनी भन्दै बोलाउँछे । दुई जिब्रे।

” दिदीले रिस पोख्दै भन्नु भयो l

” दिदी, हजुरलाई पहिला दुःख थियो । नाता लगायो भने मदत गर्नु पर्ला भनेर भाग्थे सबै आफन्तहरू। अहिले अब, हजुरको सबै कुराहरू राम्राे हुँदै आएको छ, सबै व्यवस्था भएकाे छ। अनि त नाता जोड्न आई हाल्छन् नि। आफन्त भन्नेहरुको स्वभाव र विशेषता नै हो नि यो त। साथ सहयोग चाहिएको बेलामा पर बसेर रमिता हेर्छन्, ताली बजाउन थाल्छन्। कि त मुन्टो बटारेर नदेखेझै गर्छन् । अनि जब राम्राे समय आउँछ नि तब आफन्त बन्दै नजिक हुन आउँछन्।

“त्यसैले त तिमी सङ्ग सोधेको नि , के गरौँ भनेर। गए पछि फेरि कति चासो राख्ने हो, के के सोध्ने हो” दिदी अलि अलमलमा परे जसरी भन्नुभयो।

“दिदी, अब पहिलाको जस्तो कसैसँग पनि डराउनु पर्दैन हजुर। अब कसैले अपमान गर्ने हिम्मत पनि गर्दैनन्। पूर्ण आत्मविश्वासका साथ जानुस्। जसले जे जे भन्छन् त्यही अनुसारको जवाफ आफूले पनि दिएर आउनुस्। धेरै झुक्नु, डराउनु पर्दैन है अब कसैसँग पनि “मैले भनें।

मेरो कुराले हिम्मत दिएछ क्यारे, ” हुन्छ, तिमीले हिम्मत दिए पछि किन डराउनु अरु सङ्ग। त्यहाँ अरू पनि थुप्रै आफन्तहरू आउँछन्, तर म कसैसँग पनि डराउँदिन अब त। “

“तिम्राे साथ र सहयोगले मेरो जीवन धेरै परिवर्तन भयाे शैली । हुन त तिमी र म बिचमा रगतको नाता सम्बन्ध छैन तर रगतको नाता भन्दा धेरै माथी र बालियो भयाे यो नाता। ” दिदीले केहि भावुक हुँदै भन्नुभयो।

सवैभन्दा ठूलो नाता त भावना र मानवता हो नि त दिदी। हामी बीच त्यहि नाता छ अब।

दिदीसँग काे बार्तालाप टुंगिएपछि म विगत तर्फ विचरण गर्न थालेँ।

शीला दिदीलाई मैले चिनेको त करिब तीन दशकभन्दा बढी भै सक्यो।तर हामी नजिक भएकाे र भावनात्मक रूपमा नाता जोडिएको भने तीन बर्ष अघि देखि मात्रै हो। तीन दशक सम्म वहाँ सँगको मेरो नाता कानून तथा समाजले जोडिदिएको थियो। आत्मियता भन्दा सम्मानको नाता थियो त्यो, अझ कहिलेकाहीं बाध्यता को पनि। त्यो नाता सम्बन्धमा रहुन्जेल हामी बीच न त धेरै निकटता थियो न त कुनै तिक्तता नै। सामान्य तथा औपचारिक सम्बन्ध अनि त्यस्तै किसिमको ब्यवहार। मेरा तीन सन्तान अनि वहाँ की एक सन्तान, चार जना संग सङ्गै जस्तो हुर्किए बढे। सबै कुराहरू सामान्य रूपमा नै चल्यो।

मूल कुरो २०७६- ७७ साल देखि सुरू हुन्छ। अझ भनौं covid 19 को पहिलो लहर सुरु भए देखि।

दिदीसङ्ग भेट नभएकाे र कुरा नभएकाे धेरै समय भइसकेको थियो अर्थात् धेरै वर्ष नै भइसकेको थियो। कोरोनाको आतंकले गर्दा lock down, लक डाउन भएकाे समय थियो। घरमा बसेर समय विताउनुको विकल्प थिएन। कहिले लेख पढ गर्ने अनि कहिलेकाहीं इन्टरनेट सेवा को उपयोग गर्दै मोबाईल र ल्यापटपमा रमाउने। यस्तैमा एक दिन फेसबुकमा रमाउँदै थिएँ, जुकरबर्ग चौतारीले क कसको जन्मदिन आउँदैछ भन्ने सूचना दिइरहेको थियो। सित्तैमा शुभ कामना र बधाई दिन पाउने सुविधाको उपभोग गर्दै म पनि शुभ कामना सन्देश पठाउँदै थिएँ। यसै क्रममा दिदीको नाम पनि देखायो Facebook चौतारीले। एक छिन त म छक्क परे । किनकि , कानूनी नाताको साङ्लो चुँडिए पछि धेरै जनाले मलाई unfriend गरिसकेका थिए भने कतिपय लाई म आफैले पनि गरे हुँला शायद। तीन दशक लामो समयको सेवा र समर्पण लाई ३० दिन भित्रमा नै भुलिसक्ने रहेछन् कानूनी नाता र सम्बन्ध भित्र रहेका व्यक्तिहरूले। तर केही वर्ष पछिसम्म पनि त्यो एउटा नाम मेरो friend list मा बाकिँ नै रहेको देखेपछि पहिला त अरु नै कोही हो कि जस्तो लाग्यो। त्यसैले प्रोफाइल खोलेर हेरे, दिदीकै फोटोहरु र अन्य विवरण देखेपछि ” जन्मदिनको शुभकामना दिदी” लेखेर मेसेन्जर मा सन्देश पठाएँ। सन्देश देखेपछि धन्यवाद भन्दै” तिमी कहाँ छौ अहिले?” सोध्नुभयो। यसरी बिस्तारै कुराकानी सुरु भयाे फेरि धेरै बर्षको अन्तरालमा।

कोरोनको आतंक र लक डाउन को समय भएकाले प्रत्यक्ष भेट्न सम्भव थिएन। त्यसैले फोन बाट नै भलाकुसारी गर्न सुरु गरियो। कुराकानीका क्रममा एकदिन दिदीले भन्नुभयो। “हेर शैली मैले त अव तिमीसँग फेरि यसरी कुराकानी होला भनेर सोचेकै थिइन। मलाई त तिमी म संग पनि रिसाएकी छौ की जस्तो लगेको थियो। देखे पनि बोल्दिनौ होला, के नाताले बोल्नु भनेर मलाई पनि अप्ठेरो लागिरहेको थियो।” दिदीले आफ्नो मनको आशंका व्यक्त गर्नु भयो। वहाँले यस्तो सोच्नु पनि ठिकै थियो किनकि तीन दशक को अवधिमा मैले भोगेको बिभिन्न किसिमका यातना मध्ये केहि भाग दिदीलाई पनि थाहा थियो।

फोन वार्ताका माध्यमबाट हामी एअर्कालाई ढाढस र हिम्मत दिन थाल्यौं। सुरक्षित रहनु, आफ्नो स्वास्थ्य को ध्यान दिनु आदि इत्यादि। कुरा गर्दै जाँदा मलाई दिदीको बारेमा चिन्ता लाग्न थाल्यो। एक्लै बस्नु भएको छ, एक्ली छोरी बिदेशमा छन्। समय बेला यस्तो भयानक छ , केहि गरि बिरामी हुनु भयाे भने के गर्ने होला? हुन त म आफू पनि एक्लै छु, तै पनि केहि परेमा छोरीहरू त छन् नि बोलाउन लाई जस्तो लाग्थ्यो। तर दिदीलाई कसले मदत गर्छ? हुन त दिदीका रगतका नाताका दुई भाइ र एक दिदी छन् यहि शहरमा। सबै करोडपति, आफनै ठूला ठूला घर र महल भएका। तर त्यहि परिवारकी एक सदस्य शीला दिदी भने अर्काको घर मा डेरा गरेर बस्नु परेको अवस्था थियो।

कुराकानी गर्दै गर्दा एक दिन मैले भनें, कोरोनाको आतंक अझ बढ्दैछ। लक डाउन कहिले सम्म लम्बिने हो ठेगान छैन। यस्तो अवस्थामा हजुर बिदेस छोरीको मा जान सक्ने सम्भावना छैन। एक्लै बसिरहनु भएको छ। हजुरको त त्यति धनी दिदी छन्, दुई भाइहरू छन्, सबैका ठूला ठूला घर छन्। यसो उतै कसैको साथमा बसे हजुरलाई अलि सहज र सुरक्षित महसूस हुन्थ्यो कि? मेरो कुरा सुनेर दिदी मौन हुनुभयो, निकै बेर आवाज आएन। मैले ” दिदी…..,” भनेपछि बिस्तारै बोल्न थाल्नु भयो – ” घर मात्र ठूलो भएर नहुने रहेछ , मन साँघुरो भएपछि।” थाहा भयो, वहाँ जानु भएको रहेछ कोरोना को पहिलाे लहरको समयमा। तर केही दिनमा नै अपमान र दुर्वचनको वर्षा हुन थालेछ। त्यसपछि दिदीको मा जानु भएछ तर त्यहाँ पनि त्यस्तै हुन थालेछ। दुबै तिरको अपमान असह्य भएपछि आफ्नै डेरामा फर्कनु भएकाे रहेछ। “दिदी हजुरको एक जना भाइ त एक्लै बस्छन् नि हैन र, उनले पनि हजुरलाई बस्न दिएनन्? मा कुरा गरौँ उनीसँग? फेरि सम्झाउँदा मान्छन् कि? मैले आशापूर्वक भनें। ” मलाई त आशा छैन तैपनि तिमीले कुरा गरी हेर न त एकपटक। ” दिदीसँग अनुमति लिएर मैले उनका भाइलाई मेसेज गरे, फोन गरेँ। आफ्नो रगतको नाता को दिदी प्रति अन्याय नगर्न आग्रह गरे। तर …….. कुराले महान बन्नेहरु व्यवहारमा भने यति सम्म कठोर हुन कसरी सक्दछ ? ….. यस्ता पनि आफन्त ?….. अनि रगतका नाता सम्बन्ध? एकै बाबु आमाका चार सन्तानमा तीन जना लाई मोज मस्ती अनि एक जनालाई सधैँभरि सास्ती ?

मेरो दिमागले हरपल दिदीको बारेमा सोच्न थाल्यो ,केहि न केहि व्यवस्था त गर्नै पर्छ । एक मनले सोच्यो ” आफनै घर मा बोलाएर राखौँ की …..? फेरि सोचे” केही दिनका लागि त ठिकै छ, तर स्थायी समाधान त होइन याे, किनकि मेरा पनि आफनै सन्तानहरू छन्, व्यवहार छ। भोली दिदीले याे घर छोडेर जानु पर्ने अवस्था आउन सक्छ। त्यसैले अब अस्थायी हैन स्थायी समाधान खोज्ने तर्फ सोच्नु पर्छ । उमेरको छ दशकको हाराहारी मा पुग्दा सम्म पनि एउटा स्थायी बासस्थान नहुनु भनेको साँच्चै पीडादायी अवस्था थियो। मलाई सोच्दा यति पीडा हुन्छ भने भोग्ने लाई कति पीडा भएकाे होला …….. त्यसमाथि दुखेको घाउ मा नुन खुर्सानी छर्कने आफन्तहरू…..। मैले मन मनै सोचे………अनि निश्चय गरेँ , केहि न केहि समाधान त निकाल्नै पर्छ।

मेरो मनको आँखमा एउटा अनुहार घुम्न थाल्यो। धेरै वर्ष अघि देखे भेटेको त्यो अनुहार, अनि त्यो व्यक्ति जसलाई हामी ‘भिनाजु ‘ भन्ने गर्थ्यौं। बिस्तारै त्यो व्यक्ति को नाम पनि याद आयो। जुकरबर्ग चौतारीमा त्यो नाम खोजें। त्यो नाममा त्यहि अनुहार भएकाे व्यक्ति देखा पर्यो साथै उसको नालिबेली पनि। अर्को दिन दिदी सङ्ग कुरा गर्दा मैले त्यो मान्छेको प्रशंग निकाले। उसको प्रशंग निक्लनासाथ दिदी रिसाउँदै भन्नुभयो, “त्यो मान्छेको बारेमा कुरै नगरौं, त्यस्ता दयामाया नभएकाे मान्छेको बारेमा कुरा गरेर केहि फाइदा छैन।’ मैले दिदीलाई शान्त गर्दै त्यहि व्यक्ति र प्रशङ्को चर्चा गरिरहें। मेरो मनमा रहेको आशाको झिल्को को बारेमा बताए । त्यस पछि चाल्ने कदमहरू बताए। हर कदममा साथ दिने विश्वास दिलाए। ” कोशिश गरिहेरौं न” भनेर बल्ल बल्ल मनाए। धेरै वर्ष अघिको त्यो घटना अनि दुई दशक अघि देखि आजसम्म भोग्दै आएको पीडा अपमान र कठिन परिस्थितिहरूको सम्झना गरेर दिदी भावुक हुनुभयो। ” हुन त केहि हुने होइन तर पनि तिमिलाई आशा छ भने प्रयास गरी हेर न त ” भनेर अनुमति दिनुभयो।

त्यस पछिका छ महिना अत्यन्त व्यस्त रहें। कहिलेकँही त मेरो व्यस्तता बढेको देखेर छोरीहरु पनि भन्ने गर्थें ” मामू, किन यति धेरै मेहनत गरेको याे काममा? जे सुकै होस न त, उनका आफनै भाइहरू छन्, दिदी र उनका परिवार छन् । माया लागे उनीहरूले मदत गरिहाल्छन् नि। अहिलेसम्म त्यो परिवारको लागि मरिमेटेर के जस पाउनुभयो र अब झन् के आशा गर्नु हुन्छ? आफ्नो स्वास्थ को समेत ध्यान नराखेर यसरी दौडधूप गर्दा भोली बिरामी पर्नु भयाे भने को आउँछ हेरविचार गर्न?” उनीहरूको कुरा पनि ठीकै थियो। काम गरेर जस पाउने आशा त थिएन। तीन दशककाे त्यागको त कुनै मूल्यांकन भएन भने …… अब कसबाट के आशा गर्नु ?

तर जब जब दिदीको एक्लो अवस्था र निरीह अनुहार आँखा अगाडि आउँथ्यो तब तब म पुराना कुरा सबै बिर्सन पुग्थें। केवल एउटै लक्ष्य देख्थेँ, दिदीलाई स्थायी बासस्थान दिलाउने। कुनै लक्ष्य पूर्ण गर्ने निश्चय गरेपछि त्यसमा निरन्तर लागिरहने मेरो एकोहोरो स्वाभावको परिणाम अनि अझ भनौं सत्यको पक्षमा उभिएको, अन्यायका विरुद्ध लागि परेकोले हाेला ईश्वरले पनि साथ दिए र काम सफल भयो।

याे छ महिनामा धेरै घट्नाहरु भए, धेरै बाधा व्यवधान आए, धेरै प्रश्नहरू सोधेर मनोबल गिराउने कोशिश भए। कहिलेकाहीं त पछि हट्नु पर्ने हो कि जस्तो अवस्था समेत सिर्जना गरिए। आफैंलाई पनि किन यस्तो झमेलामा फसेको होला जस्तो लागदैथ्यो। तर जब जब दिदीको अनुहारमा देखिएको आशाको किरण, दिदीमा रहेको आफ्नो घरमा बस्ने ईच्छा, म प्रतिको वहाँको भरोसा ……। अनि त्यो सबै आशा र भरोशा जगाउने व्यक्ति त म आफै नै हो भन्ने सम्झन्थेँ तब तब मेरो निर्णय अझ सुदृढ हुँदै जान्थ्यो।

यसरी छ महिनाको निरन्तर र अथक प्रयासपछि दिदीले न्याय पाउनुभयो। अनि आफनै नामको घरमा बस्ने सपना पूरा भयाे। मालपोत कार्यालयमा आफ्नो नाम लेखेको लालपुर्जा हातमा लिएको दिन दिदी जति खुशी देखिनुभयो त्यो भन्दा धेरै खुशी मैले अनुभुति गरिरहेको थिएँ। दिदीलाई नयाँ घरमा सार्ने र व्यवस्थित गर्ने सबै काम सम्पन्न भयो। दशैं पछि तिहार अघि घर सरेकोले अब यसपालिको लक्ष्मी पूजा यसरी मनाउँछु भन्ने योजना बनाउन थाल्नु भयो। दिदी आफ्ना योजना सुनाउँदै हुनुहुन्थ्यो जीवनमा पहिलो पटक यति धेरै खुशी भएकाे बताउँदै भावुक भएर भन्नुभयो ” तिमीले साथ दिएर आज मेरो आफनै घर भयाे शैली । आखिर आँट गरेपछि नहुने त के रहेछ र? तर मेरा रगतका नाता सम्बन्धहरुले त कसैले पनि मलाई साथ दिएनन्। उल्टै मेरो कठीन समायमा अपमान र पीडा दिएर अन्याय माथि अझ अन्याय गरिरहे। मलाई साथ दिन त भगवानले तिमीलाई रोजेछन्। अहिले ती निर्लज्जहरु नै सोध्दैछन,” के नाताले सहयोग गरेको भनेर , “। “

“दिदी अब मन न दुःखाउनु होस्, जसले जे जानेको छ , जस्तो सोच छ, त्यसले त्यस्तै गर्ने र भन्ने त हो। अनि जसलाई आफन्तले साथ दिँदैनन् नि उनीहरूलाई भगवानले साथ दिन्छन्, भगवान प्रत्यक्ष आफै आउँदैनन् तर कसै न कसैलाई आफ्नो तर्फबाट माध्यम बनाएर पठाउँछन्, यो मेरो आफ्नै अनुभव हो। रह्यो नाता सम्बन्धको कुरा, रगतको नाता भन्दा माथि अर्को नाता हुन्छ भावनाको नाता, अनि त्यो भन्दा पनि माथि हुन्छ मानवताको नाता र मानव धर्म हुन्छ। तर सबैमा यो बुझ्न सक्ने क्षमता कहाँ हुन्छ र। ” दिदीले बुझे जसरी टाउको हल्लाउनु भयाे अनि सामान मिलाउन व्यस्त हुनुभयो । कसैको खुसीको लागि आफूलाई माध्यम बनाएकोमा म पनि मनमनै ईश्वरप्रति आभार व्यक्त गर्दै अनि आत्मसन्तुष्टिको अनुभूति गर्दै आफ्नो बाटो लागे क्रमशः ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button