
बिर्सेर जान्छन् सम्झिनुपर्छ भन्ने थाहा हुँदाहुँदैका सम्झनाहरू !
म बिचित्रको चित्र
सुशील लामा
म कुनै अबोध बच्चाको
सुकोमल एक जोडी हातले
लामो समयसम्म केर्दै-कोर्दै फालिएपछि
बनेको बिचित्रको चित्र
मलाई ति बच्चाले आफूसँग
हुँदै नभएको अनगिन्ती
रङ्गहरु खोजीखोजी मलाई रंगाइदिन्छ ।
मलाई उनले
बिचित्रको चित्र बनाउन
आफ्नै आँशुमा अंगार घोटेर कालो मसी बनाउँछ,
आफ्नो नाङ्गो शरीर
उतारेर मलाई लगाइदिन्छ ।
मलाई सास दिन
उनी आफ्नो सास फेरि रहन्छ ।
मलाई आशा र भरोसा दिलाउन
आफ्नो आशा र भरोसाको मुहान
मन माथी खनाउछ ।
म बिचित्र को चित्र
र उनले भन्ने गर्छ
तिमि मेरो बिपनामा कोरेको
बिचित्र को सपनामयि चित्र हो
उनको सपना पूरा गर्न
म बनेको थियो ।
तर-
म थिएँ त
फगत चित्र
स्वर्ग जस्तै धर्तिको सुन्दर
छहरा-पहरासहितको क्यानभासमा बन्दै गरेको
बिचित्र को चित्र
जसको चित्र बनाउनेको चित्र नै
आकर्षक भन्दापनी
अस्तब्यस्त थियो उनी ।
चिसो छलेर न्यानो हुन नपाएको
मसिना औंलामा अड्केको
मसिनो पेन्टिङ्ग ब्रस
उनले बनाएको आकर्षक चित्र म
म कसरी उनको सपना पूरा गर्न सक्थेँ ?
म स्वार्थी बन्दै-बन्दै
आफ्नो सपना पूरा गर्ने धुनमा
सबैकुरा बिर्सेर जान्थेँ
जसरी–
बिर्सेर जान्छन्
‘सम्झिनुपर्छ भन्ने थाहा हुँदाहुँदैको सम्झनाहरू’
ती अबोध बच्चा त
चाहन्थे होला ।
‘म पनि कुनै बिख्यात चित्रकारको क्यानभासमा
सबले मन पराउने रङ्गिन चित्र बनूँ’
“भिन्चिको मोनालिसा जस्तै –
तर-
उनले पहिले सोचेको कल्पना
बिस्तारै मेरो बिपनाको ओझेलमा परिसकेको थियो ।
अब उनले
नयाँ रङ्ग कहाँबाट ल्याउनू
मेरो फेरिएको रहरको क्यानभास
उनले कुन नयाँ रङ्गले लिप्ने हो ?
सुन्दैछु ।
उनले आफैलाई ईन्द्रेणी बैंकमा धितो राखेर
चित्रलाई नपुग्ने रङ्ग किन्दैँ छन् रे !
अन्तिममा केही उपाय नलागे भने
उनले धुलोले रंगाई दिने छ ।
धुलो हावाले उडाइ लग्लान्
धुलो समयसङ्गै बिलि जालन्
‘धूलो’–
रातको शीतले नै यसरी खाँदि दिन्छ ,
धुलो अब कहिल्यै उड्न नसक्ने गरि दबिन्छ
धर्तीमा….
उनको सुन्दर क्यानभासमा
र अन्त्यमा बाँकी रहने छ,
त्यही पहिले कोरेका चित्रको आकृति मात्र
म फेरि केवल कोरेको चित्र मात्र बन्नेछु
म फेरि त्यही बच्चा जस्तै हुनेछु,
जस्लाई उनले ठूलो सपना सोचेर कोरेका थिएँ
बच्चाले आफ्नो सब सपना खर्चेर
जो सङ्ग रङ छैन
र– पनि दिन चाहन्छ
खोजेर रङ
जोसङ्ग, सपना छैन
र, पनि दिन चाहन्छ–
‘आफ्नो सपना पूरा गर्ने आश कसैको’
अब म
एक बच्चा उ जस्तै बनेर
कोर्छु बिचित्रको आफ्नै चित्र
सास,आश अनि रंगिन मसी रहेसम्म
र निकाल्छु अन्तिम स्वस्थ चित्र
र, त्यो निक्लेको चित्र पनि यसरी नै बिलाउँ छन् होला
अर्को चित्र कोर्ने आशमा’
जसरी बिलाइजान्छ !
पत्तै,नपाइनेगरी
जमिनमा घिस्रेर हिँड्नेहरूको तारा छुने सपना जस्तै….
म बिचित्रको चित्र !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



