
नचाहिँदो आरोप लायौ, तिमीलाई पाप लाग्छ
४ मुक्तक
सुरेश राई
बाम्राङ, खोटाङ
१
दु:ख कालो दर्द कालो जिन्दगी नै कालैकालो
थोत्रो टालो मैलो टालो जिन्दगी यो टालैटालो
तूफान र तुवाँलोमै जीवन हाम्रो व्याप्त हुन्छ
मर्नै पर्ने तीतो सत्य एक दिन त पालै पालो
२
कता हो कता धेरै नहोस् बरु एकै चिम्टी होस्
माया त्यस्तो दिनू मलाई जीवन भन्दा किम्ती होस्
बाटो हिँड्दा भेट हुँदा मतिरै फर्किएर मुस्कुराउनू
मुस्कान त्यो पक्का होस् कि केबल मेरै निम्ति होस्
३
के दिऊँ तिमीलाई शिरफूलमा सुनखरी चाँप कि लालीगुराँस
के त्यागूँ तिम्रो लागि जमिन, आकाश कि यो एक मुठी सास
यदि तिमी मेरी बन्छौ भने, हे सुन्दर मोहिनी किराँतीनी
भन कहाँ लान्छौ जान्छु हाँसीहाँसी जेल नर्क कि वनबास
४
नचाहिँदो आरोप लायौ तिमीलाई पाप लाग्छ
मलाई छाडी गयौ सखी दुनियाँको श्राप लाग्छ
हेरि राख विश्वासले कहिल्यै पनि साथ नदिने
तिम्रो पनि जिन्दगीमा त्यस्तो एउटा छाप लाग्छ
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



