म एकदिन अवश्य बल्नेछु, बलेर देखाइदिनेछु
युवराज घलेभाइ
गान्तोक सिक्किम
घामहरु नै घाम नभएको बेलामा
रातहरु दिन हुने कुरै भएन
मलाई असहय हुन्छ
कन्सिरी तात्तिएर आउँछ
घामहरुको लाशलाई थुक्दै
नयाँ नयाँ लक्ष्य ओढेर
रापिला रापिला सपना बोकेर
म आजकल
दिनदहाडै निदाइदिन्छु !
कन्शस्नेस् र रियालिटीले निचोरेको
मेरो दिमागमा
सब कन्शसनेसमा उक्लिन नपाउँदै
गल्लीमा कुकुरहरू अट्टाहास हाँस्छन्
सूर्यको अवसानको खुसियालीमा
सूर्यको अनुपस्थितिमा
दिनलाई रातको साम्राज्य सम्झेर
लाटोकोसेराहरु चियर्स कराउँछन् !
जो रात मन पराउँछन्
र रात पार्न चाहन्छन्
रातमा बाँचेका र बाँच्न बानी परेकाहरु
सबै सबै ब्युँझन्छन्
र ताण्डव उत्सव मनाउँछन् !
तिनीहरुको थ्रिलर सङगीतले
म ऐंठन पर्छु
र मेरा लक्ष्यहरु एकाएक स्खलित हुन्छन्
मेरा सपनाहरु आफ्से आफ तुहिन्छन्
म एक्कासि झस्किन्छु
र आँखा खोल्छु
मरेको सूर्य ब्युँतनुको साटो
इतिहास गन्हाइसकेको हुन्छ
सूर्य खै त ?
मलाई असहय हुन्छ ?
कन्सिरी तात्तिएर आउँछ
तर अब किन चाहियो सूर्य ?
जब म आफैं नै सात सूर्यहरु बराबर
एक काफी सूर्य हुँ भने !
मभित्रका लाभाहरु उम्लन खोज्छन्
म सोच्छु म विद्रोह बले भने
तथाकथित सूर्यहरु मैनबत्तीसरह हुनेछन्
दिनदहाडै घोप्टिएका रात राक्षसहरु
सब लाखापाखा भाग्नेछन्
म अराजक बले भने
दिनपछि पनि दिन नै हुनेछ !
आफैलाई पोष्टमर्टम छाम्छु म
सूर्यलाई लाचार चिसो देख्ने म
चिसो भएकोमा सूर्यलाई गाली गर्ने म
आज आफैं पनि उपहास चिसिएको पाउँछु
अथाह रुपले ओसिएका मेरा अवयवहरु
रापिला र तेजिला ज्वालाहरु
स-साना हत्केलाहरुले समेत
आज एकाएक मलाई धावा छेकिरहेछन् !
म कसरी सूर्य ?
आफैंमाथि यत्रो शङका
तर हैन:
म बल्छु: एकदिन अवश्य बल्छु
म बले भने तथाकथित रात राक्षसहरु
सब लाखापाखा लाग्नेछन्
म एकदिन अवश्य बल्नेछु
बलेरै देखाइदिनेछु !
तर
तर कहिले ?
म फेरि आफैले कन्फ्युजन छाम्छु
म त झनझन् आइसबर्ग चिसिइसकेको हुन्छु
कपाल र दार्हीमा पनि सेताम्मे हिउँ परिसकेको हुन्छ
वरिपरि कुकुर र लाटोकोसेराहरु
रात मन पराउने र रात पार्न चाहनेहरु
रातमा बाँचेका र बाँच्न बानी परेकाहरु
मलाई लाश सम्झेर खाने तयारी गर्दैछन् !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)