भोलि बिहान फर्कन्छ ऊ भनेका थिए तर छोरो कहिल्यै फर्केन

जनयुद्ध दिवसमा द्धन्द कथाः दुई जोडी आँखा

श्रीरामसिंह बस्नेत

रातको निस्तब्धता चिर्दै केही जोर पद्चाप आँगनमा सल्बलाए । पिँढीमा गुडुल्किएको सेते जोडले भुक्न थाल्यो । तर उसको भुकाइले पदचापहरूलाई कुनै असर परेन । माथि चोटाको भm्याल अलिकति उघ्रियो र एउटा बूढो आवाज खोकीसँगै बाहिरियो, ‘को हँ ?’

पद्चापबाट कोही बोल्यो, ‘हामी, कपिल घरमा छ ?’

झ्याल बन्द भयो, केही जवाफ आएन ।

पदचापबाट एउटा कर्कस आवाज आयो, ‘कपिल १ छिटो बाहिर निस्की, नत्र हामीभित्र आउँछौँ ।’

एक क्षणको सन्नाटा, त्यसपछि घरभित्र काठको भ¥याङबाट कोही ओर्लिरहेको आवाज आयो । भित्रबाट दैलो उघ्रियो । हातमा लिएको टुकीको उज्यालोमा एउटी प्रौढ महिलाको अनुहार र त्यसको पछाडि अनिश्चित अनिष्टको शङ्का पोतिएको एउटा ठिटोको अनुहार देखियो ।

महिलाले टुकी अघि सार्दै सोधेको सुनिन्छ, ‘किन होला बाबु, यति राति हुँदो ?’

‘कपिलसँग केही कुरा बुझ्नु छ, हामीसँग जानुप¥यो’, दैलोअगाडि ठिङ्ग उभिएको एउटाले कडा स्वरमा भन्यो ।

आँगनमा उस्तै टाटेपाटे लुगा लगाएका मानिस र तिनका मधुरो छायाँ सल्बलाइरहेका थिए ।

‘भोलि उजेलोमा गए हुन्न र ?’, महिलाको मलिन आवाजले सोध्यो ।

‘हुँदैन, अहिले नै जानुपर्छ’, छायाँमध्ये कुनै बोल्यो ।

‘के कुरा सोध्नु छ यहीँ सोध्नुस् न, मलाई अलि सञ्चो छैन’, दैलोमा आमासँगै टाँस्सिएर उभिएको ठिटो अर्थात कपिलले अनुनय ग¥यो ।

‘धेरै बाठो हुने होइन, खुरुक्क हिँडिहाल्ने’, अगाडि उभिएकोले आदेश दियो ।

माथि चोटाबाट बूढो मानिस खोकेको आवाज आयो ।

‘तपाईँंहरू ढोका लगाएर सुत्नूस्, भोलि बिहान फर्कन्छ ऊ ।’

छायाँमध्येको एउटाले अघि सरेर कपिलको पाखुरा समात्यो र अघि लाग्यो । सबै उसका पछि लागे ।

कपिलकी आमाले उनीहरू गएको एकछिन टुलुटुलु हेर्दै भित्र पसेर दैलो लगाइन् । अघि एकछिन चुप लागेको सेते केहीबेर फेरि भुक्यो ।

कपिलका आमा र बा दुवैलाई रातभर निद्रा लागेन । बा खोक्दै रहे, आमा कोल्टे फेर्दै रहिन् । दुवै जनालाई कहिले उज्यालो होला भन्ने एउटै प्रतीक्षा थियो । बल्लबल्ल झिसमिसे उज्यालो भयो । आमाले सधैँको भन्दा चाँडै दैलो उघारिन्, रातो माटाले लिपिन् । कपिल फर्केर आउने बेला भयो होला भन्ने सोचेर आँगनमुनिको गोरेटोतर्फ आँखा लगाइरहिन् ।

उज्यालो अलि फक्रिएपछि चोटाको झ्यालको खब्ल्याँटो खोलेर कपिलका बाले पनि गोरेटोतिरै आँखा लगाइरहे । तर उनीहरूका दुई जोडी आँखाले देख्न खोजेको दृष्य गोरेटोमा देखिएन । बिस्तारै आँगनमा छिमेकीहरू जम्मा हुन थाले । सबै खासखुस, गाइँगुइँ कुरा गर्न लागे । तर धेरैबेर त्यस घरको आँगनमा बस्न उचित नठानी निन्याउरो मुख लगाउँदै आ–आफ्ना घरतिर लागे ।

बिहान बित्यो, दिन बित्यो, साँझ बित्यो तर कपिल फर्केर आएन । उसलाई कसले, कहाँ, किन लगेको हो भन्ने बताउन सक्ने कोही थिएन । बूढीलाई पकाउन जाँगर चलेन, बूढालाई खान मन लागेन । राति अबेरसम्म दैलो नथुनी उनीहरू छोराकै पदचाप पर्खिरहे, पर्खिरहे…।

दिन, हप्ता, महिना, वर्ष बित्दै गए । बाबुले खोक्दै–खोक्दै विभिन्न ठाउँ चहारे, छोरोको केही खबर पाइन्छ कि भनेर । तर हरेक पटक निराशाको सुस्केरा हाल्दै पिँढीमा सुस्ताउनुबाहेक केही हुन सकेन । अचेल त बूढीले ‘केही पत्तो लाग्यो ?’ भनेर बूढालाई सोध्न पनि छाडिदिइन् ।

यसबीचमा देशमा धेरै परिवर्तन आयो रे । शासनमा पुराना गए रे, नयाँ आए रे । पँधेरो वा घट्ट जाँदा पनि डराइडराइ जाऊ आऊ गर्नुपर्ने गाउँमा अहिले चहलपहल निकै बढेको छ । नौला नौला अनुहार देखिन्छन् । तर यी दुई जोडी आँखाले पर्खी बसेको अनुहार भने अहिलेसम्म देख्न पाएका छैनन् । कसले भन्न सक्ला, यो पर्खाइको अन्त्य कहिले हुन्छ होला ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button