अक्षरहरू चउरमा थिए, कोही खेल्दै, कोही गीत गाउँदै र कोही नाच्दै

पुरातन सोच

पेशल आचार्य

दुई ठुल्ठुला नदी
आपसमा कानेखुसी गर्दै बग्दै पनि थिए
एउटाले अर्कोलाई भन्दै थियो
ऊ हेर त हामीमा मिसिन आएका खहरेहरू कति साना ?
अर्कोले भन्यो
ससाना मिलेरै हामी ठुला भएका हैनौं र ?

बडेमानका रुखहरू
आकास छेडौंलाझैँ गरेर उभिएका थिए
अल्लि होचोचाहिँले अग्लालाई भन्यो
ऊ हेर्नोस् त ती तोरीका बोटहरू कति साना ?
बद्लामा अग्लोले सम्झाउँदै भन्यो
साना बोटहरू छन् र त हामी
ठुला हुन पाएका छौं !

चुनाव जितेका ठुला पार्टीका नेताले
साना पार्टीका नेतालाई भने
किन कम भोट ल्याएको ?
साना पार्टीका नेता चुपचाप रहे
उनको मनले मनमनै भनिरहेको थियो
इमान्दारहरूले सधैँ कम जश पाउँछन् ।

अक्षरहरू चउरमा छरिएका थिए
कोही खेल्दै थिए
कोही गीत गाउँदै थिए
कोही नाच्दै थिए
यो देखेर किताब सरासर आयो र भन्यो
केटाकेटीहरू घर नगएर किन खेलिरहेका ?
बद्लामा एउटा अक्षरले भन्यो
हामी कुन शब्दमा जोडिने ?
कुन अनुच्छेदमा पस्ने ?
र कुन संकथनमा मिल्ने ?
सल्लाह गरिरहेका छौं ।

अक्षरको अभिव्यक्तिले
किताब डरायो
हो त नि
सार्थक योग भए अर्थ निस्कन्छ
निरर्थक योय भए अनर्थ निस्कन्छ ।

सोच पुरातन भए अनर्थ
सोच नूतन भए अर्थ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button