प्रिय अशोक ! तिमी हुँदा सूर्योदय थियो राइनासकोटमा

कविता

धनञ्जय दवाडी

प्रिय अशोक
तिमी हुनु
नहुनुमा अन्तर छ
तिमी हुँदा
हिमालमा हिउँ
फूलमा बासना
इन्द्रेनीमा रंग छ ।

सूर्योदय छ
उज्यालो छ
तिमीसँगै हुँदा हो
वस्ती र गोठमा हिउँ परेथ्यो
सिरसिर बताससँगै
रताम्मेथ्यो गुराँस बास्नादार थ्यो
धरतीमा उम्रेको थ्यो गहूँ खेतमा
नयाँ सिर्जना
नयाँ जीवन
आशा, विश्वास र भरोसा ।

प्रिय अशोक
तिमी हूँदा
सूर्योदय थियो राइनासकोटमा
होड चल्थ्यो नि
कसले भेट्छ पहिलो झुल्को घामको
पहिलो मुस्कान तिम्रो
आज तिमी छैनौं
सूर्यास्त छ
यो सूर्य पनि
तिमी हुँदा मात्र किन उदाउँछ ?
तिमी हुँदा
न्यानो उज्यालो र आशा सबै हुन्छ
पूर्व हेर्छु चेपे उसैगरी बगिरहेछ
पाखाभरी भुँई कुहिरो छ लछ्रप्प
तिम्रा गाजले आँखामा आँसुले भिजे झै
माथितिर गुराँस छ एक्लै
तल उत्तिस छ वैराग्गीएको सोझो
उतापट्टी लहरे पिपल त छ
तर
सल्ला छैन
सल्लाघारीमा सल्ला पनि सुसाउन्न आजकल
तिमी छैनौ नि त
कोही बोल्दैनन् र गाउन्न गीतहरु प्रीतका
वनमा सोझो छानिन्छ र काटिन्छ
बल्छ दनदन मूढो बनेर
म पनि पीडामा बल्दैछु
जलेर आगोले मूढो
बलेर यादहरुमा म
बनिरहेछौ खरानी ।

प्रिय अशोक
जल्नु र बल्नु
उदाउनु र अस्ताउनु
मिल्नु र छुटिनु उस्तै हो
तिम्रो गीत जस्तै
मेरो प्रीत जस्तै
मेरा लागि
तिमी हुनु सूर्य उदाउनु हो
नहुनु अस्ताउनु हो ।

श्रीपञ्चमी २०७९ पोखरा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button