मृत्यु ! म तिमीसँग किन डराउँछु ?
(ठाकुर मृत्यको काव्य चिन्तनमा छन् । उनी किन त्यसो गरिरहेका छन् ? त्यो उनैलाई थाहा छ । तर, यो सत्यमाथि लेख्न उनले हिम्मत मात्र गरेनन्, निरन्तर लेखिरहेका छन् । त्यस्तो वीर त लाग्थेनन् उनी तर उनले हामीलाई गलत सावित गरिदिएका छन् । वाह ! -सम्पादक)
मृत्युको मौनता
ठाकुर बेलवासे
मृत्यु ! तिमी को हौ ?
“म अनन्त भ्रम हुँ
भयानक दुःख हुँ
म अकाट्य सत्य हुँ !”
मृत्यु ! तिमी कहाँ बस्छौ ?
“हर जीव हुँ
हर निर्जीव हुँ
भनौँ न
म मान्छे हुँ
पशुपक्षी
म रुख विरुवा हुँ
आगो–पानी हुँ
खासमा म तिमी हुँ
तिमीभित्र म छु
म भित्र तिमी छौ !”
मृत्यु ! मैले तिमीलाई चिन्न किन सकिरहेको छैन् ?
“स्वासमा बोकेर हिँडेको मलाई
नचिन्नु नै तिम्रो असाध्य दुःख हो
त्यही दुःखको भारी बोकेर
तिमी बाँचेका छौ !”
मृत्यु ! तिमी मलाई चिन्छौ ?
“तिमी मेरो सहारा
मेरो भरोसा
तिमी मेरो छाँया
त्यही छाँयालाई मभित्र विलिन गराउन
म एउटा अवसरको पर्खांमा
म तिमीभित्रै बाँचेको छु !”
मृत्यु ! म तिमीसँग किन डराउँछु ?
“तिमी मसँग डराउनुको
अभिशाप बोकेर बाँचेका छौँ
मेरो त्रासबाट मुक्त भएका दिन
मान्छे सदाका लागि सुखी हुनेछ !”
मृत्यु ! म सदाका लागि तिम्रो त्रासबाट बाहिरिन चाहन्छु
यसपछि मृत्यु
मौनतामा मुस्कुराई रहयो
म सदाका लागि
पूर्णरुपमा विलिन भएँ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)