भनिदिनुस् न ए महोदय ! आखिर जीवन चल्छ के गरेर ?
जीवन चल्छ के गरेर ?
सुनिता केसी
सानो थिएँ म, रुने गर्थें
मान्छे भन्थे, ‘हाँस्न सिक’
ठुलो भएँ, म हास्ने गर्छु
फेरि मान्छे भन्छन्, ‘हासेर मात्र चल्छ र जीवन ?’
सानो थिएँ, म मौन बस्ने गर्थें
मान्छे भन्थे, ‘बोल्न सिक’
ठुलो भएँ म, बोल्ने गर्छु
फेरि मान्छे भन्छन्, ‘बोलेर मात्रै चल्छ र जीवन ?’
सानो थिएँ, सबै कुरा भुल्ने गर्थें
मान्छे भन्थे, ‘याद राख्न सिक’
ठुलो भएँ, सबै कुरा याद राख्ने गर्छु
फेरि मान्छे भन्छन्, ‘भुल्न सिक, यादले मात्र चल्छ र जीवन ?’
सानो थिएँ, मनको पिडा सुनाउने गर्थें
मान्छे भन्थे, ‘सहन सिक’
ठुलो भएँ, सबै सहने गर्छु
फेरि मान्छे भन्छन्, ‘कहन सिक, सहेर मात्र चल्छ र जीवन ?’
सानो थिएँ, बेरोजगार थिएँ
मान्छे भन्थे, ‘कमाउन सिक’
ठुलो भएँ, कमाउन थालेँ
फेरि मान्छे भन्छन्, ‘बचाउन सिक, कमाएर मात्र चल्छ र जीवन ?’
सानो थिएँ खुब धर्म गर्थें
मान्छे भन्थे, ‘कर्म गर्न सिक’
ठुलो भएँ, कर्म गर्न जानेँ
फेरि मान्छे भन्छन्, ‘मर्म बुझ्न सिक, धर्म र कर्मले मात्र चल्छ र जीवन ?’
न सम्झेर सुख, न भुलेर, न कहेर सुख, न सहेर, न कमाएर सुख, न रमाएर,
भनिदिनुस् न ए महोदय ! आखिर जीवन चल्छ के गरेर ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)