… तर पनि बाँच्न परेकै छ, बचाउन परेकै छ

कथाः जीवन, काँडाको घोचाई

श्रीरामसिंह बस्नेत

छोरीलाई निस्लोट ज्वरो आएको आज पाँच दिन भइसक्यो तर तलब आउन भने पूरै पन्ध्र दिन बाँकी छ । रमालाई पटक पटक रिङ्गटा लाग्छ आजकल, सायद कमजोरीले होला । रमेशको स्कुलको फि नतिरेको चार महिना भइसक्यो, नाम काटिदियो भनेर रोएर हैरान छ । ‘यसपालि घरको छाना मर्मत नगरे वर्षात्मा टिक्न सकिन्न’ भन्दै बा कराइरहनुभएको छ । आमाको श्राद्ध पनि आउनलाग्यो । उफ् ! म त पागल हुन लागीसकें यी सब सम्झँदा ।

एउटा खरदारी जागिर । प्रत्येक महिनाको १ गतेमा झुण्डिएको जीवन, अनि मसँग झुण्डिएका अरु चार प्राणी– पिताजी,स्वास्नी,छोरा र छोरी । पैसा कमाउन सकिएन, व्यापार गर्ने औकात छैन, केवल तलबको भर । विचरी रमा मेरो यो अति सीमित कमाइबाट पनि सुखी र सम्पन्न पारिवारिक जीवन व्यतित गर्ने प्रयास गर्छे । आफू आधा पेट खाई हामीलाई पेटभर खुवाउने प्रयास गर्छे । उसले यस्तै गर्दा आफूलाई निकै कमजोर र शिथिल बनाइ सकेकी छे । कति चिन्ता, मर्म र दर्द छ उसको छातीभित्र, तर पनि ऊ हाँसिरहेकी नै हुन्छे ।

अफिसबाट घर फर्कँदा मेरो अनुहार मलिन देखेर ऊ मलाई हँसाउने प्रयास गर्छे । मलाई डर लाग्छ, कतै यो उसको अभिनयमात्र त होइन ? कहीँ रमा मसँग विवाह गरी यस्तो कष्ट र अभावको जीवन व्यतित गर्नुपरेकामा पछुताइरहेकी त छैन ? ऊसँग विवाह गर्न सम्पन्न परिवारका धेरै केटा इच्छुक थिए । तर म जाँड, रक्सी नखाने, कुलतमा नलागेको, एउटै छोरो, सरकारी जागिर भएको, सोझो केटो भन्ने सोचेर उसका बाबु–आमाले मेरो आर्थिक स्थितिको वास्तविकतानै राम्ररी नबुझी मसँग विवाह गरिदिनु रमाकालागि ठूलो अभाग सिद्ध भएको छ ।

रमा नराम्री छैन, सुशील छे, योग्य छे, जम्मै मिलाउँदा एउटी आदर्श गृहिणीमा हुनुपर्ने प्रायः सबै गुण ऊसँग छ । तर अपसोच उसको कदर हुन सकेन मबाट, मेरो स्थितिबाट । सायद ऊ मेरी स्वास्नी नभई अरु कसैकी हुँदी हो त उसको जीवन यति अभावग्रस्त अवश्य हुने थिएन । घरको आर्थिक स्थिति सुधार्न रमा पनि प्रयत्नशील छे । उसले केही स्वेटर र टोपी बुनेर पनि बेची । छिमेकका केटाकेटीलाई ट्युसन पढाउँछु भन्थी तर खै कोही आएनन् । कम्प्युटर सिकेर जागिर खाने कुरा पनि गरेकी थिई । तर भन्नेबित्तिकै जागिर कहाँ पाउने ? कस्तो उकुस मुकुसिएको जीवन,उफ१

मेरा आमा, बाको बुहारी भित्र्याउने र नातिनातिनाको मुख चाँडै हेर्ने रहरले गर्दा आज यो अवस्था आइप¥यो । मैले त त्यस बेला विवाह गर्न मानेको थिइन आफ्नै असन्तुलित स्थितिले गर्दा, तर आमा–बाको ढिपीको अगाडि मेरो केही लागेन । उहाँहरूको रहर त पूरा भयो, नातिनातिना पनि जन्मिए तर यो रहरपूरा गराईमा म र विचरी रमाचाहिँ नराम्रोसँग होमिनुप¥यो । मैले रमालाई आफ्नी बनाएर के दिन सकेँ र ? केवल अभावपूर्ण जीवन, कष्ट, दुःख, मानसिक चिन्ता र अझ त्यसमा थप दुई छोराछोरीको भार ।

साँच्चै भन्ने हो भने रमालाई मैले मेरी भान्से, भाँडाकुँडा माझ्ने, घरधन्दा गर्ने एउटी भरपर्दी घरेलु कामदार, अनि मेरो वासनापूर्तिको साधनबाहेक अरु केही बनाउन सकिन । के स्वास्नीको अर्थ केवल यत्तिहो ?अनि लोग्नेले स्वास्नीलाई दिन सक्ने पनि यत्ति नै हो ? म रमालाई कम माया गर्दिन, ऊ पनि मलाई त्यत्तिकै माया गर्छे । लोग्ने–स्वास्नीले एक–अर्काबाट पाउनुपर्ने माया हामीले पाएका छौं । तर मैले रमालाई गरेको चुम्बन, आलिङ्गन र प्रेमपूर्ण मीठा कुराले रमाको ओठमा मुस्कान त ल्याउन सक्छ, उनको पेटको भोक मेटाउन सक्दैन, उसको वैंसालु शरीरमा यौवनका तरङ्ग तल्याउन सक्छ तर उसको पुरानो लुगा फेर्न सक्दैन । तैपनि ऊ आफूलाई सन्तुष्ट राख्ने प्रयास गर्छे, मनका रहर जबरजस्ती मारेर ।

विवाह भएको यतिका समय भइसक्दापनि मैलै आजसम्म रमालाई आफूले चाहेजस्तो गरी सिङ्गार्न,सजाउन सकेको छैन । ऊ पनि त एउटी स्वास्नीमानिस हो, उसलाई पनि सिङ्गारिन मन लाग्छ, सहरबजार घुमफिर गर्न, रमाइलो गर्न मन लाग्छ तर मन लागेर मात्र के गर्नु ?ऊसँगका अरु साथीहरूको ठाँट, रवाफ र जीवनजीउने तरिका नै बेग्लै छ । उसका साथीहरू भेट हुन्छन् र आफूलाई हीनताभास हुन्छ भन्ने पीरले ऊ बाहिर त्यतिजान्न, केवल यो सानो घरको तीनवटा कोठाभित्र सीमित छ उसको जवानी, उसका आशा, उमङ्ग अनि उसको सिङ्गै जीवन नै बलिदान छ हाम्रो स्याहारसुसारमा । यसको बदलामा उसले के पाएकी छे ?अनि ऊ ‘आफ्नो कर्ममै यस्तै लेखेको रहेछ, लेखेको पो पाइन्छ, देखेको पाइँदैन’ भनी चित्त बुझाउने प्रयास गर्न विवश छे ।

छोराछोरी सानै छन् । घरको वास्तविकता देखि अनभिज्ञ छन् । छिमेकका छोराछोरीले लगाएको लुगा, खाएको खाना, खेलेका खेलौना देखेर रमालाई सताउँछन् । ऊ कुनै तरिकाबाट तिनीहरूलाई फकाउँछे । कहिलेकाहिँ साह्रै जिद्धी गरे ठटाई पनि दिन्छे । ठटाई खाएपछि केटाकेटी रुन थाल्छन्, रमा चाहिँ एक्लै टोलाइरहन्छे । आँखा पनि रसाउँदो हो केटाकेटीलाई पिटेको पश्चातापमा सोच्दै– ‘‘के मेरा छोराछोरीले गरेका माग अनुचित हो त ?’’

अस्ति छोरोलाई सञ्चो नहुँदा उसले दूध र भात खान्छु भनेछ । मेरो एउटा साथी मलाई भेट्न आउँदा छोरीको हातमा केही पैसा राखिगएको थियो । दूध किन्ने पैसा नभएर रमाले छोरीको हातमाभएको त्यो पैसा लिइछ, छोरीले झगडा गरिछ । अनि छोरीलाई दुई थप्पड लगाएर फरियाको सप्कोले आँखा पुछ्दै दूध किन्न गइछ । बेलुका म घर फर्कँदासम्म छोरी रोइरहेकी थिई । यस्तै छ यो परिवारको जीवन, आधा गर्धन रेटेर छाडेको बोकाको अवस्था जस्तो । तर पनि बाँच्न परेकै छ, बचाउन परेकै छ ।

छोरीको अवस्था अहिले चिन्ताजनक हुँदैछ । उपचार गराउने सामथ्र्य छैन । केही उपाय नलागे पछि आमाले आफ्नी बुहारीलाई दिएर जानुभएको एक अन्तिम निसानी एउटा सानो तिलहरी रमाले मेरो अगाडि राखिदिई, मेरो मुटु चरक्क चिरियो । केवल रमाको अनुहारमा टोलाइ रहें । उसको अनुहारमा विवशता स्पष्ट झल्किएको थियो । मुटुमा गाँठो पारेर मुठ्ठीमा त्यही तिलहरी लिई अहिले बजारतिर निस्केको छु ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button