
कविताः ए लोग्नेहरु हो !
श्रीरामसिंह बस्नेत
कति मीठो सपना देखिरहेकी थिएँ
तिम्रो कामुक स्पर्शले
पारिदियो सब चकनाचुर,
कति गिजोली रहन्छौ
कति सताई रहन्छौ ?
मेरो मीठो सपनाको बीचमा
तिम्रो त्यो उत्तेजना
रतिराग नभई ऐंठन पो लाग्छ मलाई ।
ए लोग्नेहरु हो !
हाम्रो विपना त खोस्यौ खोस्यौ
स्वतन्त्रसँग रमाउन पाइने
एकमात्र अवसर
कृपया यो सपना त नखोस ।
अस्ति राति पनि त्यस्तै भयो
म सपनामा मेरी हजुरआमासँग
मस्यौरा हाल्न सिकिरहेकी थिएँ
कस्तो रमाइलो लागिरहेको थियो
तर मदिराको आडमा तिमीले पाएको
त्यो क्षणिक उत्तेजना शान्त पारिदिन
मैले त्यो अमूल्य सपना गुमाउनु प¥यो ।
आज पनि त्यस्तै ग-यौ
म मेरो बालसखासँग
गाउँको झरनामा नुहाउँदै थिएँ सपनीमा
आहा ! कत्ति आनन्ददायी थियो त्यो क्षण
त्यही पनि खोसी दियौ,
यो शान्त रातको बीचमा
तिमीले मलाई गर्ने माया त
गिद्धले मासुका चोक्टालाई
गर्ने माया जस्तै लाग्छ मलाई,
विपना त खोस्यौ खोस्यौ
ए लोग्नेहरु हो !
कृपया हाम्रो सपना त नखोस ।
(बस्नेतको प्रकाशोन्मुख कवितासंग्रहबाट)