फूल्नु र बिलाउनु दुवैको संयोग कविताको संसार हो
ऊ कविमात्र होइन, ऊ पत्रकारमात्र पनि होइन, ऊ त यो देशको एउटा प्रमाणित प्रतिभा हो । तर, ऊ ‘पाताल’ प्रवासमा छ र कविताको आराधना गरिरहेकै छ । यसबाहेक अरु केही नभनी नेपालनाम्चा आफ्नो नयाँ स्तम्भ ‘कविका कुरा‘मा प्रस्तुत गर्छ, उनै नारायण श्रेष्ठलाई ।
किन र केका लागि कविता लेख्नुहन्छ ?
सिर्जनशीलता र कला अभिव्यक्तिको एउटा तरिका हो । त्यस अर्थमा कविता पनि त्यो सिर्जनशीलतालाई अभिव्यक्त गर्ने एउटा माध्यम हो । त्यसरी हेर्दा कविता मेरा लागि, मेरो मनभित्रको कुनै चीज जसले मलाई साँच्चै मन र मूटु छोएको छ, जसलाई कुनै लेखमा सजिलैसँग उतार्न सक्दिन, त्यस्तो चित्रमय अभिव्यक्तिका लागि म कविता प्रयोग गर्छु । त्यस्तो चिजहरु लेख्नका लागि मलाई कविता चाहिन्छ । कविताको शब्दले त्यस्तो रङ्ग दिन्छ जस्तो मलाई लाग्छ । यदि म चित्रकार हुन्थें भने सायद ती कल्पनाहरु रंगहरुमा कोर्थें हुँला । मलाई कुची र रंग खेलाउन आउँदैन । तर, शब्दमार्फत कवितामा म ती रङ्ग पोख्छु ।
उदाहरणका लागि, मेरो मथिंगलको एउटा यस्तो तर्कना जुन सामान्य लेखमा म व्यक्त गर्न सक्दैन थिएँ, जसलाई मैले कवितामा लेखें, अलि वर्ष अगाडिको एउटा कविता ‘अमानुष’ माः
थाहा छ कोहि चिज केही हुन सक्दैन र
अन्त्य एउटा सर्वाधिक समाधान हो
तर, पानीको थोपा थोपा आगो ओकलिरहेछ
र, म हरेक हरेकसँग यसरी डराइरहेछु
ड्र्यागन आयतनले मेरो अनुहारलाई बिस्तारै निल्दै छ
छ्याकटे अनुहार
बिफरको खाल्डोमा डुब्दैछ
भयंकर अहङ्कारको पछाडि वित्ते यात्रामा
मृत्यु र स्वत्वको रहर, बामे सर्दैछ
सायद पीडा छ सधैं सधैंको शून्यसँग
र शून्यतासँग
कुनै यस्तो घटना वा परिवेश हुन्छ, जसले मलाई भित्रसम्म छोएको हुन्छ, मेरो मन र मुटुमा अलिकति घाउ लगाइदिएको हुनसक्छ वा उत्साहित बनाइदिएको हुनसक्छ । त्यो कुरा अभिव्यक्त गर्न म कविता लेख्छु ।
कविता मेरो व्यक्तिगत विचार र भाव पोख्ने एउटा तरिका हो । त्यसैले कहिलेकाहिँ मेरा कविता अलिक क्लिष्ट लाग्न पनि सक्छन् । कुनै पाठकलाई छुन सक्छ वा नछुन पनि सक्छ । किनभने, सर्जकले लेख्ने कविता एउटा कन्टेक्स्टमा लेखिएको हुन्छ । त्यो कन्टेक्स्ट नजिकै पाठकको जीवन, घटनाक्रम, समय र परिस्थिति गएको छ भने त्यो कविताको शब्द, प्रसङ्गले पाठकलाई छुन्छ, होइन भने नछुन पनि सक्छ ।
कविता लेखेर के हुन्छ ?
पहिलो कुरा कविता नलेखेर के हुन्छ ? यसरी हेर्दा नलेखे पनि हुन त केही हुँदैन । तर, जसरी मातृत्व आमा भएकालाई बढी थाहा हुन्छ, कविता लेखेर के हुन्छ भन्ने कुरा पनि लेख्नेलाई सायद धेरै थाहा हुन्छ । तपाईंको मनभित्र एउटा पीडा, उत्साह, कुनै कुराको हुट्हुटी, सिधै अभिव्यक्त गर्न नसकिने कुनै चिज घुमिरहेको छ । अनि त्यसलाई शब्दमार्फत उतार्नु हुन्छ नि, त्यो मेडिटेसन हो । एउटा साधना हो कविता । कविता लेखिसकेपछि एउटा सर्जकलाई जुन आनन्द प्राप्त हुन्छ, सायद ध्यान र साधनामा यस्तै आनन्द प्राप्त हुन्छ ।
कविता लेखनको अर्को पाटो पनि छ । सर्जकले कवितामा जे लेख्छ नि, त्यस समयमा, त्यतिखेर भएका कुराको एउटा अभिलेख पनि हो कविता । देवकोटाको कविताहरु, सुन्दरीजलतिर तामाङ बस्तीमा, महिला र पुरुषहरुले दोहोरी गीत गाइरहेको देखेपछि उनले भने, कविहरु त ती गाउँका मानिसहरु जसले स्वतस्फूर्त कविता गाउँछन् । गीत वा कविता तत्त समयको सांस्कृतिक परम्परा हो । इतिहासको संस्कृतिको र त्यो समयको बोल हो कविता, त्यसलाई संश्लेषित र अभिलेख गर्ने एउटा तरिका हो कविता ।
कवि भएर चिनिनुमा कति मजा छ ?
तपाईं कविता लेख्नु हुन्छ भने तपाईंको अर्को परिचय पनि बन्छ, कवि । मजाको छैन त यो अर्को परिचय ? तपाईंको प्रश्नमा मैले आफूलाई अढाई दशकअगाडिको परिस्थितिमा सम्झें । म रेडियोमा काम गर्ने तन्नेरी पत्रकार थिएँ । रेडियो पत्रकार । कविता लेख्थेँ, कविताको आराधना गर्थें । अरूको अगाडि, खासगरी रेडियोका पत्रकार साथीहरुको अगाडि म कविता लेख्छु, मेरो कविता पत्रपत्रिकामा छापिन्छ भन्न धुकचुक लाग्थ्यो । त्यतिखेरै मेरो मनमा एउटा सोच पनि आयो कि समकक्षी साथीहरु समाचार मात्र लेख्छन् । म समाचार लेख्छु, त्यसमाथि कविता पनि लेख्छु । ममा थप अर्को क्षमता पनि छ भन्ने कुराको महसुस भयो । मेरो लागि त्यो अर्को पहिचान थियो ।
सामान्य जिन्दगी त किरा फट्याङ्ग्रा, अर्को कुनै प्राणीले पनि बिताएकै छ । हामी आम मान्छेले पनि लगभग त्यस्तै गरी जीवन बिताउँछौं । हाम्रो पनि जीवनको प्रक्रिया- जन्म, वयस्क र मृत्यु त्यसरी नै चल्ने हो । तर, तपाईसँग अर्को पनि फरक क्षमता छ भने तपाईंको अर्को पहिचान हो नि त्यो । अर्को जीवन पनि तपाईंसंगै बाँच्दै हुनुहुन्छ । त्यसैले कवि हुनु, कवि भएर सिर्जनात्मक अभिव्यक्तिको ‘ईन्तजाम’ गर्नसक्नु, वा अर्को सर्जकको सृजनात्मक अभिव्यक्तिमा अर्थ देख्न सक्नु गजवको कुरा हो । यो ठूलो प्रतिभा र पहिचानको संयोग हो ।
कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
कविहरूका बारेमा एउटा स्टेरियोटाईप दृष्टिकोण छ- झोला बोक्ने, ख्याउटे अनुहार भएको, दाह्री पाल्ने वा यस्तै । सायद आम्दानी कम भएको सामाजिक आर्थिक-हिसाबले, टोलको चिया-चुरोट गफमा अरुले भन्दा अलि फरक दृष्टिकोण राख्न सक्ने क्षमता भएकाले आम मानिसहरुमा यस्तो दृष्टिकोण बनेको हुन सक्छ, कविहरुका बारेमा । तर, कवि त्यतिमात्र होइन । उसँग आम मानिसको भन्दा अर्को एउटा क्षमता हुन्छ । कवि श्रष्टा हो र भविष्यको द्रष्टा पनि । त्यो थप पहिचान, सायद आम मानिसभन्दा फरक हो ।
कवि र आममानिस, आखिर मान्छे नै हुन् । कविहरुमा थप एउटा काल्पनिक क्षमता हुन्छ ।
कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
कविता लेखनमा, प्रकाशन, व्याख्या र विवेचना, र त्यसबाट हुन सक्ने अर्थोपार्जनको पाटोलाई थाती राखेर हेर्ने हो भने कविताको सत्ता, शासक र शासित काल्पनिक संसार हो, जुन संसारमा तपाई आफै शासक बन्न सक्नुहुन्छ । कुनै शासकलाई मनपराउन सक्नुहुन्छ । वा मन नपराउन सक्नुहुन्छ । विरोधी सृजना गर्न सक्नुहुन्छ । त्यसको विरोध गर्दै आफ्नो सत्ताका लागि दावी प्रस्तुत गर्न सक्नुहुन्छ । अथवा तपाईंको कल्पनाले कहिलेकाहीँ तपाईलाई जितको मात्र होइन, हारको मजा पनि चखाउन सक्छ । त्यो सबै कुराको संयोग सायद कविताको सत्ताको रङमा हुन्छ ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
कविता र प्रेम एकअर्कामा अन्तर्निहित हुन्छन् । तर, पर्याय मात्रै चाहिँ होइनन् । कविताको संसार अरु फराकिलो पनि हुनसक्छ प्रेमको भन्दा ।
प्रेमको उत्कृष्ट अभिव्यक्ति सदियौंदेखि मान्छेले कविताको माध्यम पाएको छ । म आफ्नै एउटा कविता सम्झन्छु तन्नेरी उमेरमा लेखेको ‘उकालोमा घुम्ती’ । त्यो उकालोमा, सल्लाघारी हुँदै चैतको कुनै हप्ता लालीगुराँस फुल देख्ने कालको एउटा सम्झनाः
दह्रोगरी समाउ भिरको बाटो
अप्ठ्यारोमा पनि तिमीसँगै हुनुछ मलाई
हो, खर्खरेका लहराहरुसँग मलाई विश्वास छैन
नचँडाउ त्यो लालीगुराँसको थूंगा
मैले कहिल्यै नसोचेको उपहार
मेरो प्रेमभन्दा निकै रातो
त्यो रेशमी कपालमा सिउरिन
मेरो प्रेम यति निख्खर कहिल्यै फूल्न सक्दैन ।
प्रेमको सत्ता कवितामार्फत बोलिएको । त्यसैले कविता र प्रेम एकअर्कामा अन्योन्याश्रित सम्बन्ध भएका सृजनात्मक अभिव्यक्तिहरु हुन् । कविताले प्रेमलाई अझ सुन्दर बनाउँछ । यदि प्रेम हुन्नथ्यो भने सायद कविताले एउटा सुन्दरता गुमाएको हुन्थ्यो ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
कविताको संसार फूलैफूलको मात्र हुँदैन । काँडै काँडाको मात्रै पनि हुँदैन । दुवैको मिश्रण हो कविता । पारिजातले आफ्नो उपन्यास ‘शिरिषको फूल’को शुरुवातमा एउटा हाइकु लेखेकी छन्ः
शिरिषको फूल
भ्रमर चुम्वन बिनै
ओईली झर्छ ।
फूल सुन्दर हो तर ओइली झर्नुको पिडा पनि त्यसभित्र सँगै छ । फूल्नु र बिलाउनु दुवै कुराको संयोग कविताको संसार हो । अत्यन्तै खुसी भएको बेलामा पनि कवि खुशीलाई कवितामा अभिव्यक्त गर्न सक्छ । अत्यन्तै दुखी भएको बेलामा पनि कवि त्यो दुःखलाई, पीडालाई कवितामै अभिव्यक्त गर्न सक्छ । जस्तो राष्ट्रकवि माधवप्रसाद घिमिरेले एउटा गीतमा लेखेः
आजै र राती के देखें सपना मै मरी गएको
वतास विना हाँगाको फूल भैं झरी गएको ।
वारि र पारि घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर वैंशमा नमार
‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने त्यसमा तपाईं के भन्नु हुन्छ ?
कविता यदि विलाशिता मात्रै हो भने गल्ति के नै भो र ? जब तपाई एउटा पेशा व्यवसायमा पूर्ण दक्ष हुनुहुन्छ, त्यसपछिको बाँकी समय तपाईं कविता साधना गर्न मन पराउनुहुन्छ भने के त्यो गलत हुन्छ र ? अथवा तपाईंको पेशा व्यवसाय नै कविताको साधना गरेर चल्दै छ भने, परिवार केटाकेटी र सबैको भविष्य राम्रो बनेको छ भने, विलासिता नै सहि, तर वाहियात कसरी हुन्छ ? यो त पेशा भो नि । जस्तै अभिनय गर्नेहरुले अभिनय गर्छन्, त्यो उनीहरुको पेशा हो । गाउने, बाजा बजाउनेहरुले जे काम गर्छन्, त्यो उनीहरुको पेशा हो । राजनीति गर्नेहरुले भाषण गर्छन्, यद्यपि राजनीति पेशेवार नहुनु पर्ने हो । त्यसैले कविताको आराधना विलासिता नै सही, तर वाइयात होइन । तपाईलाई कविता सिर्जनसिलताको साधना मन पर्छ, त्यही काम गरेर तपाइको गुजारा पनि राम्रै चलेको छ भने त त्यो भन्दा सुन्दर जिन्दगी अरु के होला ?
कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
कवि जन्मिन्छ । कविता पनि जन्मिन्छ । कविको भौतिक शरीर एक दिन नाश हुन्छ । कतिपय कविताको अस्तित्व, कविताको अर्थ पनि कालन्तरमा वेअर्थी हुनसक्छ । तर, सर्जकको सिर्जना, विचारले खास समयको विम्व उतारेको छ भने त्यो सिर्जना मर्दैन । माओवादी द्वन्दको चित्र- नारायण वाग्लेको पल्पसा क्याफे, सायद त्यस्तै सिर्जना हो । उदाहरणका लागि महाकवि देवकोटाको मुना मदनको कविताः
हातको मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले
नेपालीभाषा रहेसम्म, नेपाली जाति रहेसम्म यो कविता र यसको अर्थ रहिरहने छ । भूपी शेरचनको कविता ‘मेरो चोक’ यस्तै अर्को सिर्जना हो ।
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असंख्य रोग छ
अनन्त भोक छ
केवल हर्ष छैन
यहाँ त्यसमाथि रोक छ
कविको भौतिक शरीर नाश हुन सक्छ तर कवितामा कोरिएको कल्पना नाश हुँदैन ।
तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
खासमा मैले लेखेका कविता मेरो कल्पनाका चल्लाहरु हुन् । मैले हिंडेको गोरेटोको पदचाप कुनै पाठकसँग मिल्न गएमा म खुशी हुन्छु किनभने मैले जुन परिस्थिति र परिवेश कल्पना गरें, जुन सुख वा जुन दुःख मैले महसुस गरें र त्यसलाई शब्दमा लेखें, त्यो दुखलाई महसुस गर्न सक्ने परिस्थिति, त्यहि बाटो, त्यहि मूर्ति, त्यही गोरेटो, दैनिकि र सम्बन्ध पाठकको पनि भयो भने त त्यो जस्तो गजव काव्यिक सहयात्रा के होला ! सबै कविता सबै पाठकका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् भन्ने नहुन सक्छ । सबै कविताको वोली सबै पाठकसँग नवोलिन पनि सक्छ । तर, गहिरिएर हेर्ने हो भने अक्सर कविताका अर्थहरु शास्वत हुन्छन् । कविताहरू जो आम मानिसको जीवनसँग बढी जोडिन्छ, आम मानिसले भोगेको परिस्थितिसँग बढी नजिकका छन्, त्यस्तो साहित्य, कविता, कला अजर र अमर हुन्छ ।
थप केही ?
कविता साधना गर्नेहरुलाई स्थान दिन, कविता लेख्नेहरुलाई प्रोत्साहन गर्ने नेपालनाम्चाले यो स्तम्भ राखेको रहेछ । आशा छ भविष्यमा अरु सर्जकहरू, अरु नेपालीभाषी कविहरूको पनि साहित्य, कला र कविता आराधनाको कथा पढ्न पाइयोस । अरु नेपाली सर्जकहरूको सृजना पढ्न पाइयोस । नेपालनाम्चालाई धेरै धन्यवाद ।