गजलः डर लाग्छ, नयाँ साथी चुन्न अचेल

सविना सापकोटा

खै कसरी भनुँ मैले, पैले जस्तो हुन्न अचेल
तिम्रा बोली वचन अनि आँशुले नि छुन्न अचेल ।

एक पल पनि भेट नहुँदा एकै वर्ष जस्तो लाग्थ्यो
तिमी विनै खुशी लाग्छ कत्ति पनि रुन्न अचेल ।

तिम्रा लागि राम्री बन्न सोह्र श्रृङ्गार गर्ने मैले
दिनमा एक पटक पनि हात मुख धुन्न अचेल ।

भेट गर्न त परै जाओस्, फोन गर्न नि मन लाग्दैन
त्यसै त्यसै दिक्क लाग्छ तिम्रो बोली सुन्न अचेल ।

तिमी पनि उस्तै रैछौ औंला दिँदा हातै निल्ने
त्यसैले त डर लाग्छ नयाँ साथी चुन्न अचेल ।।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button